तनहुँसुरमा पर्यटन सम्पदा तथा वातावरण मेला गरिने
भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको ऐतिहासिक स्थल तनहुँसुरमा आगामि वैशाख ५ देखि ७ गतेसम्म ‘तनहुँसुर पर्यटन सम्पदा तथा वातावरण मेला २०७८’ सञ्चालन गरिने भएको छ । ‘पुरातात्विक सम्पदाहरुलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न हातेमालो गरौं’ मूल नाराका साथ तनहुँसुर देवस्थल सामुदायिक होमस्टे र तनहुँसूर सामुदायिक होमस्टेले संयुक्त रुपमा उक्त मेला आयोजना गरेको हो।
नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य एवं उद्देश्य अनुरुप उत्साहजनक रुपमा सञ्चालनमा रहेका पर्यटकीय गतिविधिहरु एकाएक विश्वव्यापी महामारी कोरोना भाईरस (कोभिड-१९)का कारण अस्तव्यस्त एवं अन्यौलको अवस्थामा पुग्न गएको हुँदा पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्न सहयोग पुर्याउने उद्देश्यका साथ नव वर्ष २०७८, विश्व सम्पदा दिवस अप्रिल १८ र चैते दशैंको अवसर पारी तनहुँसुर पर्यटन सम्पदा तथा वातावरण मेला आयोजना गर्न लागिएको सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङले जानकारी गराएका छन् ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा व्यास नगरपालिकाले आयोजना गरेको प्रथम महिला खुल्ला हाफ म्याराथन दौड प्रतियोगिता २०७७ को समीक्षा एवं तनहुँसुर पर्यटन सम्पदा तथा वतावरण मेला २०७८ आयोजना सम्वन्धी तनहुँसूर दरवार परिशरमा समिक्षा गरिएको थियो । व्यास-११ का वडा अध्यक्ष निरबहादुर खड्काको अध्यक्षतामा आयोजित समिक्षा बैठकले मेला सञ्चालनका लागि वडाध्यक्ष खड्काको संयोजकत्वमा १३ सदसीय समिति गठन गरेको छ ।
समितिको उप-संयोजकमा तनहुँसुर देवस्थल सामुदायिक होमस्टेका अध्यक्ष पदम बहादुर थापा र तनहुँसुर सामुदायिक होमस्टेका अध्यक्ष के.वि. थापा, सचिव मदन आले र कोषाध्यक्ष पवित्रा थापालाई मनोनयन गरिएको छ । समितिको सदस्यहरुमा ज्ञानभक्त थापा, संजय श्रेष्ठ, दामोदर राना, भुपाल वि.क., राजु राना, वीरबहादुर राना, दुर्गा खड्गी र हरिमाया पौडेल चयन भएका छन्।
समग्र तनहुँसुर क्षेत्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं प्राकृतिक सम्पदाहरुको पहिचान, प्रचार प्रसार, संरक्षण तथा विकास गर्दै एक सुन्दर, शान्त, सुरक्षित वातावरण मैत्री पर्यटकीय गन्तव्यको रुपमा तनहुँसुरलाई विकास गर्नु मेलाको लक्ष्य रहेको बताइएको छ।
तनहुँसुर क्षेत्रलाई धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं जैविक विविधतायुक्त पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीय समुदायलाई प्रोत्सहान गर्ने, तनहुँसुर दरबार परिसर अन्तर्गतका पुरातात्विक सम्पदाका साथै वातावरण संरक्षण एवं प्रवर्द्धनका लागि जनचेतना अभिवृद्धि गर्ने, हाल सञ्चालनमा रहेका र सञ्चालन उन्मुख होमस्टेहरुको प्रवर्द्धन गरी आन्तरिक एवं वाहृय पर्यटकको संख्यामा वृद्धि गर्दै स्थानीय समुदायको आर्थिक समृद्धिमा टेवा पर्याउनु मेलाको मुख्य उद्देश्य रहेको बताइएको छ ।
मेलाका अवसरमा धार्मिक एवं ऐतिहांसिक स्थलहरुको भ्रमण तथा दर्शन, विविध सांस्कृतिक कार्यक्रम सहित होमस्टेको अनुभव, तनहुँसुर इको ट्रेक, पुरातात्विक सम्पदा र वन तथा वातावरण सम्वन्धी प्रदर्शनी, पुरातात्विक सम्पदाको महत्व एवं वातावरण संरक्षण विषयक मा.वि. स्तरीय वक्तृत्व कला प्रतियोगिता, खाना महोत्सव, खुला फुटवल प्रतियोगिता लगायतका कार्यक्रम गरिने भएको छ ।
यस्तै, पर्यटन विकास तथा संस्कृति संरक्षण सम्वन्धी अन्तरक्रिया, स्थानीय विद्यालय, बाल क्लव तथा आमा समुहहरुको सांस्कृतिक कार्यक्रम, ताजा तरकारी तथा कृषिजन्य वस्तुको प्रदर्शनी तथा खरिद विक्री, स्थानीय जडीबुटी तथा कन्दमूलको प्रदर्शनी तथा खरिद विक्री, होमस्टे प्रवर्द्धनात्मक कार्यक्रमहरु, आदिवासी जनजातीय भेषभूषा, झाँकी तथा संस्कृति झल्कने विभिन्न कार्यक्रम, फोटोग्राफी एवं दृश्यावलोकन लगायतका आकर्षणहरु समेत रहेको आयोजकले जनाएको छ ।










