दमौली बजार क्षेत्रमा डेंगी संक्रमण बढ्यो, तनहुँका ३ हजार ३२ जनामा संक्रमण

तनहुँ : तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रमा पछिल्लो केही दिन यता डेंगी संक्रमितको संख्या बढ्दै गएको छ । गत वर्ष महामारिकै रुप लिइएर डेंगी संक्रमण फैलिएको थियो भने यस वर्ष पनि दैनिक संक्रमितको संख्या बढ्दै गएको छ।
गत असार पहिलो सातादेखि तनहुँमा डेंगी संक्रमित भेटिएका थिए । आँवुखैरेनी गाउँपालिकाको आँवुखैरेनी बजार क्षेत्रमा सबै भन्दा बढी १ हजार ४४४ जनामा संक्रमण देखिएको छ । पछिल्लो केही दिन यता आँवुखैरेनी बजार क्षेत्रमा संक्रमितको संख्या घट्दै गएपनि व्यास नगरपालिकाको दमौली बजार क्षेत्रमा भने संक्रमितको संख्या बढ्दै गएको छ ।
स्वास्थ्य कार्यालय तनहुँले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार व्यास नगरपालिकामा ९०६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । कार्यालयका अनुसार गत असार पहिलो साता यता तनहुँका ३ हजार ३२ जनामा डेंगी संक्रमण पुष्टि भएको छ भने डेंगी संक्रमणबाट व्यास नगरपालिकाका एक पुरुषको मृत्यु भएको छ ।
तनहुँका १० वटै पालिकामा डेंगी संक्रमण फैलिएको छ। स्वास्थ्य कार्यालय तनहुँका अनुसार शुक्लागण्डकी नगरपालिकामा ३९२, बन्दीपुर गाउँपालिकामा १३७, भानु नगरपालिकामा ३८, देवघाट गाउँपालिकामा ३७, भिमाद नगरपालिकामा २७, म्याग्दे गाउँपालिकामा ३०, ऋषिङ र घिरिङ गाउँपालिकामा ३÷३ र अन्य जिल्लाका १५ जनामा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी गराए ।
जिल्लास्थित सरकारी अस्पताल, पालिकाका अस्पताल र निजी क्लिनिकमा डेंगी संक्रमितहरु परीक्षण र उपचारका लागि सर्वसाधारण पुग्न थालेका छन् । डेंगी संक्रमितको संख्या बढ्दै जान थालेपछि आबुँखैरेनी अस्पतालले निशुल्क परीक्षण र उपचारको व्यवस्था गरेको छ भने अन्य पालिकाहरुले भने डेंगी संक्रमितको उपचार तथा परीक्षणको दायारालाई फराकिलो बनाएका छ्रनन् ।
डेंगी लामखुट्टेबाट सर्ने रोग हो । डेंगी एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुनेहुँदा तीव्र भाइरल संक्रमण भएको विज्ञले बताएका छन् । सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धि–विकास हुन्छ । डेंगी भाइरस फैलाउने लामखुट्टेका लागि भने १० देखि ४० डिग्रीसम्मको तापक्रम अनुकुल रहने चिकित्सक बताउँछन् ।
कीट विज्ञहरूका अनुसार एउटा लामखुट्टेको सरदर आयु ३० देखि ४० दिनसम्म हुने भएपनि लामखुट्टेले पारेका अण्डा उपयुक्त वातावरण पाउँदा वर्षौंसम्म रहिरहन्छन्। पछि त्यही लार्भा बन्छ। लार्भा सातदेखि १० दिनसम्ममा वयस्क हुन्छ । डेंगी सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । संक्रमित पोथी लामखुट्टेले न्यूनतम पाँच एमएलसम्म पानी जमेको र सफा पानीमा पनि फुल पार्न सक्छ ।
डेंगी मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । डेंगी लागेमा रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । फलस्वरूप बिरामी व्यक्ति सिकिस्त हुने गर्छन् । धेरैमा डेंगी कडा हुँदैन तर, कसैकसैमा भने डेंगी संक्रणले जटिल अवस्था आउन सक्ने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख अधिकारीले बताए ।
स्वास्थ्य कार्यालयका अनुसार निरन्तर वान्ता हुनु, पेट धेरै दुख्नु, रक्तश्राव हुनु, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुने, रगत जाँचमा प्लेटलेट्स संख्या तीव्र गतिमा घट्नुले डेंगुको जटिल अवस्थामा जान सक्ने संकेतको रूपमा लिने गरिन्छ । यस्तो अवस्थामा अनिवार्य चिकित्सकको निगरानीमा उपचार वा परामर्श लिन विज्ञले आग्रह गरेका छन् ।

घटेन गण्डकीमा डेङ्गी संक्रमण

यस्तै, गण्डकी प्रदेशमा हालसम्म एघार हजार ५९० जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार गत सेप्टेम्बर महिनामा मात्र छ हजार ४३४ जनामा डेङ्गीको संक्रमण देखिएको छ । गत जनवरीमा जम्मा ७० जनामा डेङ्गी संक्रमण पुष्टि भएकामा त्यसयताका नौ महिनामा संक्रमितको संख्या बढेर साढे एघार हजारभन्दा माथि पुगेको हो ।
मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले गत जुलाईयता डेङ्गीको संक्रमण दर बढ्दै गएको बताए । जुलाईमा ७२८ र अगष्टमा चार हजार ८३ जनामा डेङ्गी देखिएको उनले जानकारी दिए । सबैभन्दा बढी कास्कीमा पाँच हजार ९२८ र सबैभन्दा कम मनाङमा जम्मा दुई जनामा उक्त रोगको संक्रमणको पुष्टि भएको हो ।
शिक्षा अधिकृत शर्माले दिएको जनाएअनुसार हालसम्म तनहुँमा ३ हजार ३२, पर्वतमा एक हजार ६३, गोरखामा ५९२, बागलुङमा ३९५, स्याङ्जामा ३९३, म्याग्दीमा १८९, नवलपुरमा १७४, लमजुङमा एक सय आठ र मुस्ताङमा आठ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ । डेङ्गीका कारण हालसम्म प्रदेशभित्र तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा कास्कीका चार महिला र एक पुरुष, तनहुँ र म्याग्दीका एक÷एक जना पुरुष छन्।
डेङ्गीबाट सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिका प्रभावित भएको छ । महानगरको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले महानगरमा हालसम्म पाँच हजार ८४८ जनामा संक्रमण पुष्टि भएको छ । असारदेखि कात्तिकसम्म डेङ्गी संक्रमणको बढी जोखिम हुने उनको भनाइ छ । यस रोगबाट बच्न लामखुट्टको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको रेग्मीले बताए ।
डेङ्गीको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुडा आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने जनाइएको छ । डेङ्गी ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने गर्छ ।
डेङ्गीको संक्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा गर्ने जनाइएको छ । यो रोगको खास उपचार नभएकाले लक्षण अनुसार औषधोपचार गर्ने गरिएको चिकित्सकले जनाएका छन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker