एकै गाउँबाट रु. तीन करोडको सुन्तला बिक्री

  • रासस (दमौली)

तनहुँको देवघाट गाउँपालिका-३ ल्हुङ्ग्रीङ गाउँबाट रु तीन करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । उक्त गाउँबाट मात्रै यस वर्षको मौसममा रु तीन करोडभन्दा बढीको सुन्तला बिक्री भएको हो । सुन्तला बिक्री गरेर यहाँका एक कृषकले मात्रै रु २२ लाख आम्दानी गर्नुभएको छ । स्थानीय भीम रानाले यस वर्ष सुन्तला बिक्रीबाट उक्त आम्दानी भएको बताउनुभयो ।

‘सुन्तलाखेती नै यहाँका कृषकको मुख्य आम्दानीको स्रोत हो’, उहाँले भन्नुभयो, ‘सुन्तला बिक्री गरेर कृषकले मनग्य आम्दानी गरिरहेका छन् ।’ रानाले एउटा बगैँचाबाट रु १५ लाख र अर्को बगैँचाबाट रु सात लाख बराबरको सुन्तला बिक्री गर्नुभएको छ । ‘सुन्तला बिक्रीका लागि समस्या छैन’, उहाँले भन्नुभयो । स्थानीयवासी कर्णसिं गुरुङले रु १८ लाख, नवराज गुरुङले रु १५ लाख, रामबहादुर रानाले रु १२ लाख बराबरको सुन्तला बिक्री गर्नुभएको छ । ‘सुन्तला बिक्री गरेर आम्दानी नगर्ने कुनै घर छैनन्, विगतमा अन्य खेती गरेका पनि अहिले व्यावसायिकरुपमा सुन्तलाखेतीमा आबद्ध छन्’, उहाँले भन्नुभयो । उहाँका अनुसार यस ठाउँबाट मात्रै करीब रु तीन करोड बढीको सुन्तला उत्पादन भएको अनुमान छ ।

देवघाट गाउँपालिकाका कृषि तथा पशु शाखाका प्रमुख पूर्णचन्द्र अधिकारीले ल्हुङ्ग्रीङ गाउँ देवघाटकै सुन्तलाको पकेट क्षेत्र रहेको जानकारी दिनुभयो । उहाँले यहाँका कृषकले सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्दै आएको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘हरेक घरमा सुन्तला छ, कति बिक्री भयो भन्ने चाँही तथ्याङ्क आउन बाँकी छ ।’

कृषि ज्ञान केन्द्र तनहुँका अनुसार गत वर्षभन्दा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । गत वर्ष आठ हजार ५०० मेटि्रकटन सुन्तला उत्पादन भएकामा यस वर्ष आठ हजार मेटि्रकटन मात्रै सुन्तला उत्पादन भएको केन्द्र प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो ।

‘उपयुक्त मौसम नभएकाले यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ’, उहाँले भन्नुभयो, ‘१५ प्रतिशत कम उत्पादन भएको प्रारम्भिक तथ्याङ्क छ ।’ तिवारीका अनुसार यस वर्ष करीब रु २३ करोड बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लाको एक हजार ५०० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भइरहेको छ । जिल्लाको म्याग्दे गाउँपालिका-२ र ३ मा सबैभन्दा बढी सुन्तला उत्पादन हुने गरेको छ । व्यास नगरपालिका-११ तनहुँसुर, वडा नं १३ बेनीकोट, देवघाट गाउँपालिका-२, ३ र ४, आँबुखैरेनी गाउँपालिका-२ पतेनी, शुक्लागण्डकी नगरपालिका-११ राइपुर, भीमाद नगरपालिका-९ भानुमति लगायतका ठाउँमा व्यावसायिकरुपमा सुन्तला उत्पादन हुँदै आएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker