भानु नगरपालिका-११ मा पर्यटन पैदलमार्ग निर्माण शुरु

भानु नगरपालिका-११ मा पर्यटन पैदलमार्ग निर्माण शुरुआत भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा उक्त वडामा बाँर्सखर्क, काफलस्वाँरा, मिर्लुङकोट पर्यटन पैदल मार्ग निर्माण शुरु भएको हो । उक्त पैदलमार्गको गण्डकी प्रदेश सभासद रामबहादुर गुरुङले शिलान्यास गर्नुभएको छ ।
मिर्लुङकोट भ्रमणका लागि पर्यटकको सहजताका लागि पैदलमार्गले सहयोग पुग्ने उहाँले बताउनुभयो । “पैदलमार्गको निर्माणपश्चात् मिर्लुङकोट आउने पर्यटकलाई पैदल हिँड्न सहज हुन्छ”, उहाँले भन्नुभयो, “मिर्लुङकोटबाट माछापुच्छ्रे, अन्नपूर्ण हिमाल, कास्की, चितवन, गोरखा, लमजुङका रमणीय स्थानहरूको अवलोकन गर्न सकिने भएकाले यस ठाउँको प्रचारप्रसारमा जुट्नुपर्छ ।”
मिर्लुङकोट पर्यटन सूचना केन्द्रका अध्यक्ष शम्शेर लम्सालका अनुसार, पैदलमार्ग चार किलोमिटर लम्बाइ र दुइ मिटर चौडाइको बन्नेछ । पैदलमार्ग निर्माणका गर्न प्रदेश सरकारले रु १० लाख विनियोजन गरेको छ । मिर्लुङकोट समुन्द्री सतहदेखि एक हजार ६४५ मिटर उचाइमा अवस्थित छ ।










