गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिने
भञ्ज्याङ समाचारदाता/दमौली

गण्डकी प्रदेश सरकारले गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्ने भएको छ । असोज २४ गते पोखरामा हुने विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा साक्षर प्रदेश घोषणा गरिने भएको हो । यसका लागि प्रदेशका मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्रीलाई भेटेर निमन्त्रणा पत्र हस्तान्तरण गर्नुका साथै अर्थमन्त्री जनार्दन शर्मालाई पनि कार्यक्रमका लागि निमन्त्रणा गरेका छन् । भदौ ३० मा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सबै जिल्ला साक्षर घोषणा भइसकेकोले साक्षर गण्डकी अवधारणापत्र स्वीकृत गरी साक्षर प्रदेश घोषणा गर्ने निर्णय गरेको थियो । लक्षित समूहका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भए घोषणा गर्न मिल्ने व्यवस्था छ । अघिल्लो नीति तथा कार्यक्रममा दुइ वर्षभित्र घोषणा गर्ने बताइएको थियो ।
तथ्याङ्कअनुसार नवलपुरमा सबैभन्दा बढी ९८ प्रतिशत नागरिक साक्षर छन् । सबैभन्दा कम लमजुङमा ९५.५ प्रतिशतमात्रै नागरिक साक्षर भएको तथ्याङ्क छ । मुस्ताङ ९६.३५, स्याङ्जा ९६.१६, कास्की ९६, तनहुँ ९६.४, बागलुङ ९६.५७, मनाङ ९६.९, गोरखा ९७.२, म्याग्दी ९६.२७ र पर्वत ९६.९३ प्रतिशत नागरिक साक्षर भइसकेका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले जनाएको छ । जिल्लागत रूपमा सबै जिल्ला साक्षर घोषणा भइसकेका छन् । मुस्ताङ सबैभन्दा पहिलो साक्षर जिल्ला घोषणा भएको हो । २०७१ असार ३१ मा मुस्ताङ घोषणा भएको हो भने सबैभन्दा अन्तिममा पर्वत २०७४ माघ १८ मा घोषणा भएको थियो ।










