भानुमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको अन्तरक्रिया
भञ्ज्याङ समाचारदाता/भानु

इन्सेक तनहुँको आयोजनामा बुधबार भानु नगरपालिकामा स्थानीय तहको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालबारेमा सरोकारवाला विच अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेलले संविधानले नै मौलिक हकको रुपमा समावेश गरेको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारलाई नीति तथा कार्यक्रममा प्राथमिकताका साथ राखेर कार्यान्वयन गर्नुपर्ने बताए । यी विषय मौलिक हक मात्र नभएर नागरिकका आधारभुत अधिकार पनि भएको हुँदा भानु नगरपालिकाले पनि यसलाई उच्च प्राथमिकतामा राख्ने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।
दुइ दिन अघि मात्र नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारी सम्हालेका पौडेलले हालसम्म शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयमा के कस्ता कामहरु भएको छ भन्ने बारेमा आफुले सम्बन्धित शाखा प्रमुखसँग बुझेर थप कार्यक्रमहरु सम्भव भए यसै आर्थिक वर्षा र नभए आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता जनाए । उनले विपन्न एकल महिला, अपाङ्गता भएका, अशक्त र असहायलाई स्वास्थ्य विमा निशुल्क गर्ने, प्राकृतिक प्रकोपको कारण क्षती भएकाहरुलाई राहत उपलब्ध गराउने, बैकल्पिक विधिको शिक्षणलाई प्राथमिकता दिने तथा स्वास्थ्य चौकीमा औषधीको पर्याप्तताको ग्यारेन्टीको विषयलाई तत्काल सम्बोधन गर्ने बताए ।
नगरपालिकाले कार्यान्वयन गरेको शिक्षा, स्वास्थ्य, खाद्य र आवाससँग सम्बन्धित कार्यक्रम तथा योजनाहरुको बारेमा कार्यपत्र प्रस्तुत गर्दै नगरपालिकाका बरिष्ठ अधिकृत शुनिल पाण्डेले मानवअधिकार समुहको पटक पटकको ध्यानाकर्षण पछि आफुले शिक्षा, स्वास्थ्य, खाद्य र आवासमा उल्लेख्य कार्यक्रमहरु समावेश गरेको बताए ।
जेष्ठ नागरिकलाई घरै दैलोमै स्वास्थ्य सेवा उपलब्धता, प्राकृतिक प्रकोप पीडितलाई राहत, बहुक्षेत्रीय पोषण कार्यक्रम सन्चालन, स्वास्थ्य र सरसफाईलाई उच्च प्राथमिकता, आधारभुत खानेपानीको उपलब्धता, व्यक्तिगत तथा सामुहिक सरसफाईको विशेष नीति, नमुना बाख्रा पालन, भैसी पालन तथा सिताके च्याउ खेतीलाई जोड, बिउ बिजन तथा अनुदान वितरण प्रक्रियालाई आधुनीकिरण तथा उत्पादनलाई निर्वाहमुखी भन्दा बजारमुखी बनाउने नीतिहरु सन्चालन गरिएको बताए । पाण्डेले खरको छानो मुक्त नगरपालिका घोषणाको तयारीमा रहेको जानकारी दिए ।
मानवअधिकार समुहका संयोजक कृष्णराज धमनीयाको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर कार्यपालिकाका सदस्य देवबहादुर भुजेल, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेल, नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख ऐर्श्वर्यचन्द्र भट्टराइ, पुर्वाधार शाखाका शंकर रानाभाट, मानवअधिकार समुहकी सदस्य विष्णुकुमारी श्रेष्ठ, चिनीमाया प्रधान, रामबहादुर ढकाल लगायतले आ-आफ्नो विचार व्यक्त गरेका थिए । कार्यक्रममा इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराइले शिक्षा, स्वास्थ्य, खाद्य र आवाससँग सम्बन्धित कार्यक्रम र विषय बस्तुहरुको बारेमा सहजिकरण गरेका थिए ।










