तमु संस्कार तथा संस्कृति संरक्षण विषयक गोष्ठी

तनहुँ : आदिकवि भानुभक्त क्याम्पस दमौलीमा “तमु भाषा, साहित्य, कला एवं संस्कृति वर्ष–२०२६” अन्तर्गत “तमु संस्कार तथा संस्कृति संरक्षण” विषयक गोष्ठी आयोजन गरिएको छ ।

गोष्ठीको पहिलो सत्रमा मानवशास्त्री डा. पोलबहादुर गुरुङले तमु (गुरुङ) समुदायका संस्कार, तिनको ऐतिहासिक पृष्ठभूमि, वर्तमान अवस्था तथा संरक्षणका उपायहरूबारे विस्तृत कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले तमु संस्कारको महत्व, सामाजिक मूल्य तथा यसको संरक्षणमा समुदायको भूमिकाबारे प्रकाश पार्दै संस्कारहरूको पुस्तान्तरणलाई समयको आवश्यकता भएको बताउनुभयो।

दोस्रो सत्रमा “तमु संस्कार” विषयमा केन्द्रित प्यानल छलफल सम्पन्न भएको थियो। उक्त छलफलमा गल गुरुङले मोडरेटरको भूमिका निर्वाह गर्नुभएको थियो भने खेगी प्रताप टु क्ल्हेप्री, तमु प्ये ल्हु संघका केन्द्रीय उपमहासचिव अर्जुन प्ल्हे गुरुङ तथा तमु ह्युल छोँज धी गुरुङ राष्ट्रिय परिषद्अन्तर्गत तमुस्यो ह्युलका केन्द्रीय सल्लाहकार गंगादेवी गुरुङ प्यानलिस्टका रूपमा सहभागी हुनुभएको थियो।

छलफलका क्रममा तमु समुदायका परम्परागत संस्कार, तिनको संरक्षण, पुस्तान्तरणका चुनौती तथा आधुनिक परिवेशमा संस्कृतिको निरन्तरताबारे महत्वपूर्ण विचार, अनुभव र सुझावहरू प्रस्तुत गरिएका थिए। सहभागीहरूले मौलिक संस्कार तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि समुदाय, शैक्षिक संस्था र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

गोष्ठीले तमु समुदायको मौलिक संस्कार तथा संस्कृतिको संरक्षण, प्रवर्द्धन र भावी पुस्तामा हस्तान्तरणका विषयमा सार्थक बहस सिर्जना गरेको सहभागीहरूले बताएका छन्। कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजीवी, समाजसेवी, संस्कृतिकर्मी, विद्यार्थी तथा तमु समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

गोष्ठीको औपचारिक सत्रको सभापतित्व ठाकुर दरैज्यूले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा तमु ह्युल छोँज धी गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय अध्यक्ष धनमान गुरुङ उपस्थित रहनुभएको थियो।

यस महत्वपूर्ण कार्यक्रमको सफल आयोजना तथा व्यवस्थापनमा विशेष भूमिका निर्वाह गर्नुहुने क्याम्पस प्रमुख महाप्रसाद हड्खले तथा हरिसिंह गुरुङप्रति आयोजक र सहभागीहरूले धन्यवाद व्यक्त गरेका छन्। कार्यक्रमले तमु समुदायको भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker