छिम्केश्वरी धार्मिक वन हस्तान्तरण

दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी मन्दिर आसपासको ७.२१ हेक्टर वन क्षेत्रलाई धार्मिक पर्यटन प्रवर्द्धन तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले छिम्केश्वरी धार्मिक वनका रूपमा हस्तान्तरण गरिएको छ ।
डिभिजन वन कार्यालय तनहुँले उक्त वन क्षेत्रलाई धार्मिक वनका रूपमा व्यवस्थापनको जिम्मेवारी हस्तान्तरण गर्नुका साथै करिब ३०० वटा सौन्दर्य प्रजातिका बिरुवा रोपिएको छ ।
डिभिजन वन कार्यालय तनहुँको प्रमुख मनोज रानाभाटले धार्मिक वन घोषणा भएसँगै छिम्केश्वरी क्षेत्रको प्राकृतिक सौन्दर्य संरक्षण, हरियाली प्रवर्द्धन, जैविक विविधताको संरक्षण तथा धार्मिक पर्यटनको विकासमा थप टेवा पुग्ने अपेक्षा गरे ।
उनका अनुसार छिम्केश्वरी धार्मिक वन जिल्लाको १२औं धार्मिक वन हो । धार्मिक आस्थासँगै वन संरक्षणलाई जोड्दै स्थानीय समुदायको सहभागितामा वन क्षेत्रको दिगो व्यवस्थापन र संरक्षणलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।










