तनहुँकी ५ वर्षीया बालिका सहित गण्डकीका १७ जनामा कोरोना संक्रमण पुष्टि

-
भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँकी ५ वर्षीया बालिका सहित गण्डकी प्रदेशका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षमा कास्कीका १०, गोखराका ५ र तनहुँका २ जना गरी १७ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय पोखराले शनिबार बिहान र्सार्वजनिक गरेको विवरणमा तनहुँको भिमाद नगरपालिका-२ की ५ वर्षीया बालिका र वडा नं. ६ का २७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार भिमाद-२ की ५ वर्षीया बालिका भारतबाट आएकी हुन् भने अर्का व्यक्ति कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।
यस्तै, गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिएसंगै संक्रमितको संख्या ४ हजार ३ जना पुगेको छ भने संक्रमितमध्ये प्रदेशमा हालसम्म २ हजार ८३१ जना निको भएका छन् । कोरोना संक्रमणका कारण ३३ जनाको मृत्यु भएको छ भने प्रदेशमा सक्रिय संक्रमितको संख्या १ हजार १३९ जना पुगेको निर्देशनालयले जनाएको छ ।










