तनहुँका ग्रामीण क्षेत्रमा कोदो रोपाइ शुरु
भञ्ज्याङ समाचारदाता/तनहुँ
तनहुँका ग्रामीण क्षेत्रका कृषकहरुलाई कोदोको विऊ रोप्न चटारो शुरु भएको छ । खेतमा धान रोपाई सकिए लगत्तै कृषकहरु कोदो खेती तर्फ लाग्ने गर्दछन् । तनहुँका १० वटै पालिकाका गाउँबस्तिमा कोदो खेती गर्ने गरिन्छ । केही वर्ष अगाडिसम्म कोदोलाई मुख्य बालिका रुपमा लिइदै आएपनि अहिले कोदोको खेती लोप हुँदै गएको छ । कोदोको महत्वका बारेमा थाहा नहुँदा यसको खेतीप्रति कृषकको आकर्षण घट्दै जाँदा लोपको संघारमा पुगेको छ । प्रशस्त मात्रामा कोदो फल्ने जमिनमा अहिले अन्य खाद्यान्न बालीले ढाकिएका छन् भने कतिपय जमिन बाँझिएका पनि छन् ।
कोदोलाई औषधिका रूपमा समेत प्रयोग गरिनुका साथै पोषिलो तत्वका रूपमा पनि लिइन्छ । केही वर्ष अघिसम्म तनहुँका ग्रामीण क्षेत्रका अधिकांश कृषकहरुले कोदो खेती गर्दथे । तर अहिले यसको खेती पूरै विस्थापित हुने अवस्थामा पुगेको कृषकहरू बताउँछन् । कोदोको उत्पादन राम्रो भएपनि कृषकले हिजोआज खेती गर्न छाडेपछि विस्तारै गाउँघरमा कोदो खेती कम हुँदै गएको भानु नगरपालिका-१३ का हरि थापा बताउँछन् ।
‘कृषकले कोदो खेती गर्न छाडेपछि अहिले केही स्थानमा बीउसम्म पाउन मुस्किल हुन थालेको छ’, उनले भने, ‘गाउँमा कोहीकोहीले फाट्टाफुट्टा कोदो खेती गरेपनि घरायसी प्रायोजनका लागि मात्र गरेको पाइन्छ । तर, पनि पछिल्लो समय कोदोको माग भने बढ्दै गएको छ । खेती नै गर्न छाडिएपछि पाउनै मुस्किल भएको छ ।’
पहिले जस्तो बिक्रीका लागि भनेर कोदो खेती गर्न कृषकले छाडेका छन् । गाउँलेको मुख्य खाद्यन्न तथा पशुचौपायका लागि पनि अति आवश्यक पर्ने कोदो प्राथमिकतामा पर्न छाडेको छ । अन्य बाली भन्दा स्वास्थ्यका लागि लाभदायक भए पनि अहिले तनहुँका केही गाउँमा मात्र यसको खेती गरिन्छ । रोटी र ढिँडोका लागि मात्र उत्तम ठानिने भए पनि अहिले स्वस्थ रहनका लागि भन्दै शहरी क्षेत्रका मानिसले यसका परिकार खाने गर्दछन् । तर कोदो खेती गर्ने किसानको संख्या दिनहुँ घट्दै गएको घिरिङ गाउँपालिकाका सुमन कुमार श्रेष्ठ बताउँछन् ।
‘पहिले मुख्य खाना नै कोदाको रोटी, ढिँडो हुन्थ्यो तर अहिले मुख्य खाना भातरोटी भएकाले कोदो खेती विस्थापित भएको छ’, उनले भने, ‘अहिले कोदोको रोटी, ढिँडोभन्दा भात तथा अन्य खानाका परिकार नै खाने चलन बढ्दै जाँदा यसको खेती विस्थापित हुन पुगेको छ ।’
गाउँघरमा हेपिदै गएको खाद्यान्न अहिले शहरबजारतिर खोजीखोजी खान थालिएको छ । पहिला पहिला गाउँका बारी तथा टारीटुकुरामा लटरम्म फल्ने कोदो अहिले औषधिका लागि समेत भेट्टाउन मुस्किल हुँदै गएको भानु-१२ का गणेश अधिकारी बताउँछन् । उनले भने, ‘अहिले शहरी क्षेत्रमा यसको अत्याधिक माग भएपनि उत्पादन घट्दै गएको छ । ग्रामीण क्षेत्रमा सञ्चालित घरबास -होमस्टे)मा आउने पाहुनाले पनि कोदोका परिकार खोजी हुन थालेको छ तर, अहिले खेती नै हुनछाड्यो ।’
धान, गहुँ र मकैजस्तै कोदोलाई कृषकले महत्व नदिएका कारण लोप हुँदै गएको कृषि ज्ञान केन्द्र तनहुँका वरिष्ठ कृषि विकास अधिकृत कुल प्रसाद तिवारी बताउँछन । कोदो हाम्रो परम्परागत रैथाने बाली भएपनि यसको खेतीमा कृषकले रुचि देखाउन छाडेका छन् । कोदोको माग धेरै भएपनि खेती गर्ने कृषक नभएपछि माग अनुसार पाउन सकिएको छैन । मुख्य त कृषि पेशा अंगाल्ने युवा जनशक्ति अभावका कारण पनि कोदो खेती लोप हुन थालेको तिवारी बताउँछन् ।
औषधिका रूपमा समेत प्रयोग हुने कोदोलाई पोषिलो अन्न मानिन्छ । पहिला वर्षे खेतीका रूपमा लगाइने कोदो अहिले देख्नै मुस्किल पर्न थालेको छ । कृषकले विस्तारै कोदो खेती गर्न छाड्दै गएपछि जिल्लामा कोदो अभाव हुँदै गएको छ । कम मेहनतमा उत्पादन बढी हुने र पोषणयुक्त खाद्यान्न बाली भित्र पर्ने भए पनि पछिल्लो समयमा खाद्यान्नमा भन्दा अन्यत्र प्रयोग बढी हुन लागेकाले पनि कोदो खेती लोप हुने अवस्थामा पुगे बताइन्छ ।
स्वास्थ्यका लागि लाभदायक अन्न फलाउन छाडेर बजारमा पाइने प्याकेटका तयारी खाना खान थालेपछि एकातिर स्थानीय अन्न लोप हुँदै छन् भने अर्कोतिर मानिसमा अनेक किसिमका रोगको संक्रमण बढ्न थालेको छ । उच्च पहाडी क्षेत्रमा मुड्के र डल्ले, मध्य पहाडमा डल्ले र झाँप्रे तथा तर्राईमा झाँप्रे जातको कोदो उत्पादन हुने गर्दछ । मुड्के जातको कोदो स्वादका हिसाबले अत्यन्त उत्तम मानिन्छ ।
खाद्यान्नको रूपमा प्रयोग गरिने कोदो आजभोलि मदिरा बनाउन प्रयोग गरेका कारण बीउ नै हराउने अवस्थामा पुगेको छ । कोदो खेतीभन्दा पनि कृषकले हिजोआज बाख्रापालन, तरकारी लगायत नगदेबाली, फलफूल खेतीतर्फ आकर्षित हुन थालेका छन् । गाउँमा धेरै कृषकले खेतमा कोदो लगाएर राम्रै कमाइ गर्थे तर अहिले भने धेरैले कोदो लगाउन छाडिसकेका छन् । परम्परागत रूपमा गरिँदै आएको कोदो खेती अहिले संकटमा परेको छ ।
‘धेरै दुःख गर्न नपर्ने कोदो पाकेपछि घरमै खरिद गर्न व्यापारी आउँथे, दुइ चार पैसा पनि हुन्थ्यो’, व्यास नगरपालिका-२ क्यामिनका विजय गुरुङ भन्छन्, ‘अहिले त कोदो लगाउने जमिन बाँझिन थालेको छ । कोदोको मूल्य अति न्यून हुने र यो अन्नलाई पहिलेदेखि गरिब खानाको रूपमा लिइने हुँदा यसलाई कुअन्न भन्ने चलन थियो ।’
‘बजारमा पनि यसको मूल्य अन्य अन्नको तुलनामा न्यून छ । त्यसैले आजभोलि यो बाली लगाउने किसानको संख्या न्यून हुँदै गएको छ’, गुरुङले भने, ‘कोदोमा अन्य धेरै विषेशता होलान् तर मानिसहरू यो खाना दुःखी र गरिबले खाने भन्ने भनाइ छ । त्यसैले यसलाई उपभोग गर्नेलाई अपमानित गरिन्छ । उच्च खानदानीमा पाहुनालाई कोदोको परिकार दिइँदैन्थ्यो र अझै पनि दिइँदैन ।’

परम्परागत रुपमै कोदोको ढिँडो, रोटी, पुवा र खोले बनाएर खाने चलन छ । शहरबजारमा कोदोको सुप बनाएर खाने गरिन्छ । कोदोबाट बिस्कुट, पाउरोटी जस्ता बेकरी सिन बनाइन्छ । जाडोयाममा मरमसला वा मासु मिसाएर खोले खाने चलन छ । कोदो बालबालिकाका लागि सबैभन्दा उत्तम मानिन्छ । कोदो पौस्टिक आहारको रूपमा सबैभन्दा राम्रो बालीका रुपमा लिइन्छ । कोदोको महत्वका बारेमा थाहा नहुँदा कोदो खेती गर्ने चलन हराएको देखिन्छ । उच्च रक्तचाप र मधुमेहका बिरामीका लागि कोदो उत्तम मानिन्छ ।
कोदोमा टि्रस्टोफेन नामक एमिनो एसिडले गर्दा यसको पाचनप्रणाली ढिलो हुनेहुँदा कोदोको परिकार खाएपछि लामो समयसम्म भोक नलाग्ने हुन्छ । यसबाट हाम्रो शरीरको तौल यथावत राख्न मद्दत गर्छ । कोदो खानाले यसमा भएको क्याल्सियमका कारण वृद्ध र बालकलाई चाहिने प्रकृतिक क्याल्सियमले गर्दा हाड मजबूत बन्न मद्दत पुग्छ । कोदोलाई क्याल्सियम, फलाम, प्रोटिन रेशाको धनीको रूपमा लिइन्छ । यसले बोसोको मात्रा कम गराउँछ । मुटु, कलेजो र उच्च रक्तचाप भएका मानिसको लागि पनि राम्रो मानिन्छ ।
कम सिँचाइ, मल, मेहनतको प्रयोगले उत्पादन बढी लिन सकिने भए पनि कोदो खेतीको संरक्षण र जगेर्ना गर्नेतर्फ अब सम्बन्धित निकायले पहल गर्नुपर्ने देखिन्छ । विशेष गरी घरबास कार्यक्रम सञ्चालन भएका ग्रामीण बस्तिमा कोदोको खपत राम्रो हुने हुँदा सम्बन्धित पालिका तथा कृषकहरुले कोदोको खेतीलाई प्राथमिकतामा राख्न ध्यान पुर्याउनु पर्छ ।










