विभाजन होइन, बढार्नुपर्ने कसिंगार हावाले उडाएको हो : नेता गुरुङ
भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले एमाले विभाजित नभएको दोहोर्याएका छन् । नेता गुरुङले पार्टीबाट कुचोले बढार्नु पर्ने कसिंगार हावाले उडाएर लगेको टिप्पणी गरेका छन् । नेकपा एमाले शुक्लागण्डकी नगर कमिटीले शनिबार दुलेगौंडामा आयोजना गरेको नगरस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता गुरुङले पार्टी विभाजन भयो भनेर दुःख मान्नु पर्ने कुनै कारण नभएको बताए ।
‘पार्टी विभाजन भएकै होइन, जे हुन्छ ठिक हुन्छ, कुचोले बढार्नु पर्ने कसिंगार हावाले उडाएर लग्यो। अब शक्ति बटुलेर अगाडी बढ्नुपर्छ’, उनले भने, ‘एमाले खहरे खोला होइन, यो पार्टी सेतीनदी जस्तै हो, कहिल्यै सुक्दैन, अब त झन् एमाले शुद्ध र संग्लो भएको छ। एमालेका कार्यकर्ताहरु हाँसीहाँसी अगाडी बढ्ने दिन आएको छ ।’ पार्टीमा देखिएको पिलो निचोर्दा पिपसंगै केही रगत गएपनि त्यो रगत पुर्ति गर्ने भन्दै नेता गुरुङले इमान्दार नेता कार्यकर्ताहरु पुनः एमालेमा फिर्किएर आउने दाबी गरे । उनले माधव नेपाल गल्ति सच्याएर आए पार्टीमा स्वागत गर्न तयार रहेको समेत बताए ।
खचाखच भरिएको भेलालाई सम्बोधन गर्दै नेता गुरुङले कुनै व्यक्तिको कारण पार्टी नछोड्न कार्यकर्तालाई निर्देशन दिए । ‘यो पार्टीमा माधव, झलनाथ, केपी, बामदेव सबैको योगदान छ, तपाई हामी सबै मिलेर बनाएका हौँ’, उनले भने, ‘किरण गुरुङका कारण, मुक्ति तिम्सिना, केदार सिग्देल वा केपी ओलीका कारण पार्टी छोड्ने होइन, एमाले हामीले बनाएका हौँ । जसले विचारको नेतृत्व गर्छ ।’
भेलामा संविधान सभा सदस्य टुकराज सिग्देलले पदका लागि माधव नेपालले पार्टी विभाजन गरेको आरोप लगाए । राष्ट्र र जनताका लागि धोका हुने गरी गरेको पार्टी विभाजनले माधव नेपाललाई इतिहासले जवाफ दिने उनको भनाई थियो । उनले एमाले छाडेर माधव नेपालको एकिकृत समाजवादी पार्टीमा गएकोप्रति नेता कृष्णकुमार श्रेष्ठ किसानलाई प्रश्न गर्दै भने तपाई त्यता किन जानु भएको हो ? जनताका लागि कि नीजि स्वार्थका लागि ? पार्टी विभाजन भनिएपनि प्रदेश र स्थानीय तहको जनताको बीचमा एमाले नै एमाले भएको दाबी गर्दै उनले एमालेसंग प्रतिष्पर्धा गर्ने कुनै पार्टीसंग आँट नै नभएको र एमालेको नेतृत्वमा मात्रै समृद्धि सम्भव भएको दाबी गरे ।
नगरकमिटी अध्यक्ष मुक्ति तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य हसिना बेगम, जिल्ला सचिवालय सदस्य रामचन्द्र उपाध्याय, जिल्ला कमिटीका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका उपप्रमुख सविता रसाइली, प्रदेश कमिटी सदस्य दुर्गा पराजुली लगायत नेताहरुले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।










