भानुका १० जना उत्कृष्ट कृषक सम्मानित
डिपि अधिकारी/भानु

तनहुँको भानु नगरपालिकाले उत्कृष्ट पशुपालक कृषकलाई सम्मान गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कृषक सम्मान कार्यक्रम अन्तर्गत व्यवसायिक रुपमा पशुपालन क गरिरहेका कृषकलाई हौसला प्रदान गर्न सम्मान गरिएको हो ।
पशुपालन तथा पशु उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने उद्देश्य सहित नगरपालिका भित्र रहेका कृषकहरुलाई गाईभैसी पालन, बाख्रापालन, माछा पालन, बंगुर पालन र कुखुरापालन गरी पाँच वटा बिधामा सर्वोत्कृष्ट र उत्कृष्ट गरी १० जना कृषकलाई सम्मानित गरेको छ ।
उत्कृष्ट ५ जना कृषकलाई जनही ३ हजार रुपैयाँ र सर्वोत्कृष्ट कृषकलाई जनही ५ हजार रूपैयाँ नगद सहित सम्मान पत्र प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले बताए ।
‘किसानलाई हौसला दिन तथा व्यवसायिक रुपमा पशुपालन गरिरहेका ती किसानबाट अरुले पनि व्यवसायिक बन्न सिकुन भन्ने उद्देश्यले नगरपालिकाले कृषक सम्मान कार्यक्रम सञ्चालन गर्दै आएको छ’, उनले भने, ‘कार्यालयबाट अनुदान तथा प्राविधिक सहयोग गरिएका किसानमध्येबाट फिल्डमा पटक पटक गएर गरिएको अनुगमनका आधारमा उत्कृष्ट कृषकहरु छनौट गरिएको हो ।’
यो कार्यक्रमले युवालाई पशुपालन क्षेत्रमा हौसला प्रदान गरी आगामी दिनमा पनि निरन्तर सहयोग गर्दै अधि बढ्न बजेटको समेत व्यवस्था गरिएको आर्थिक विकास समिति संयोजक अर्जुन बहादुर बोहोराले बताए ।
कृषकहरुलाई कृषि तथा पशुपालन क्षेत्रमा आकषिर्त गरी पशुजन्य उत्पादनमा आत्मनिर्भर गराउने गरी नगरपालिकाले आगामी दिनमा कृषिमा युबा लक्षित कार्यक्रम निर्माण गर्ने र यो सम्मान कार्यक्रमले कृषकहरुलाई थप हौसाल मिल्ने नगर प्रमुख आनन्दराज त्रिपाठीले विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रमबाट गाई भैसी पालन बिधा तर्फ सर्वोत्कृष्ट भएका कुशल चन्द्र अधिकारी र उत्कृष्ट सरस्वती घिमिरे, बाख्रापालन बिधा तर्फ सर्वोत्कृष्ट मान बहादुर भण्डारी र उत्कृष्ट बिन्दु अधिकारी, माछा पालन बिधा तर्फसर्वोत्कृष्ट लक्ष्मी श्री राजभण्डारी श्रेष्ठ र उत्कृष्ट सोम प्रसाद खनाल, कुखुरापालन बिधा तर्फ सर्वोत्कृष्ट नारायण देवी खड्का भण्डारी र उत्कृष्ट धर्मराज अधिकारी रहेका छन् ।










