घरेलु महासंघ तनहुँमा श्रेष्ठ र महिला उद्यमीमा गौली
घरेलु उत्पादनको बजारीकरणका लागि सरकारले वातावरण सिर्जना : मन्त्री गुरुङ
- भञ्ज्याङ समाचारदाता (दमौली)
नेपाल घरेलु तथा साना उद्योग महासंघ तनहुँ तथा महिला उद्यमी विकास समितिको २१औं साधारणसभा तथा अधिवेशन सम्पन्न गरेको छ । उक्त अधिवेशनबाट महासंघ तनहुँको अध्यक्षमा पुनः रत्नकुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । समितिको वरिष्ठ उपाध्यक्षमा बलराम घिमिरे, उपाध्यक्ष प्रकाशचन्द्र हड्खले, महासचिव कविराज श्रेष्ठ, कोषाध्यक्ष कृष्णमुरारी मिश्र सर्वसम्मत रुपमा चयन भएका छन् ।
महासंघ तनहुँको कार्य समिति सदस्यहरूमा सरस्वती श्रेष्ठ, सीता खनाल, निरू भुजेल, शान्ति कुँवर, सीता अधिकारी, हर्षमान श्रेष्ठ ‘साइराम’, धनमाया पौडेल, सरू कुमाल, धनमाया राना तथा विष्णुकुमार श्रेष्ठ चयन भएका छन् ।
यस्तै, महासंघ अन्तरगत महिला उद्यमी समितिको अध्यक्षमा कल्पना गौली, वरिष्ठ उपाध्यक्ष कृष्णकुमारी रानाभाट, उपाध्यक्ष सपना श्रेष्ठ, महासचिव सृजना कोइराला, कोषाध्यक्ष धनमाया पौडेल र्सवसम्मत चयन भएका छन् । समितिका सदस्यहरूमा जानकी थापा, कल्पना थापा, खिरमति मगर, तुलसी शाह, सर्मिला विक, बिमला श्रेष्ठ र भवि दुरा चयन भएका छन् ।
महासंघको केन्द्रीय प्रतिनिधिमा बमबहादुर थापा, राहिणीराज लौडारी, मछिन्द्रदेवी श्रेष्ठ र रामजी लौडारी तथा महिला उद्यमी समितितर्फबाट बसुन्धरा घर्ती, उमा श्रेष्ठ, अस्मिता खनाल र सरस्वती श्रेष्ठ केन्द्रीय प्रतिनिधि चयन भएका छन् ।
त्यस्तै, नेपाल घरेलु तथा साना उद्योग समहासंघ तनहुँ तथा महिला उद्यमी विकास समितिको २१औं साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले घरेलु उत्पादनको बजारीकरणका लागि सरकारले वातावरण सिर्जना गर्ने बताएका छन् । घरेलु उद्योगको प्रवर्द्धनका लागि आवश्यक नीति बनाउन सरकार प्रतिबद्ध रहेको बताउँदै उनले घरेलु उद्योगमा प्रयोग हुने परम्परागत सीपलाई निखार्दै लैजानुपर्नेमा जोड दिएका छन् ।
मुलुकको अर्थतन्त्र बलियो बनाउन व्यवसायीको योगदान अतुलनीय रहेको चर्चा गर्दै मन्त्री गुरुङले समाजवादी अर्थतन्त्र विकासका लागि सबैको योगदान हुनुपर्ने बताए । ‘घरेलु तथा साना उद्योगले समाजवादी अर्थतन्त्र विकासका लागि योगदान दिन सक्छ, त्यसका लागि दक्ष जनशक्ति उत्पादनका लागि पनि प्रदेश सरकारले कार्यक्रम बनाएको छ’, मन्त्री गुरुङले भने, ‘मागर वा दान दिएर मुलुक कहिल्यै पनि समृद्ध बन्न नसक्ने हुँदा सबै उद्यमी बन्नुपर्छ, व्यवसायी बन्नुपर्छ तबमात्र मुलुक समृद्ध बन्न सक्छ ।’
‘मगन्ते भएर मुलुक समृद्धि बनाउन सकिदैन’, मन्त्री गुरुङले भने, ‘व्यवसायीले कर छल्न हुँदैन, व्यवसायीले तिरेको करले नै देश बन्ने भएकाले नियमानुसार सरकारलाई कर तिरेमात्र मुलुक समृद्धि बन्छ ।’ त्यस्तै, उक्त कार्यक्रममा गण्डकी प्रदेशका सांसद रामबहादुर गुरुङ, नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष शोभा गुरुङ, उपाध्यक्ष श्रीबहादुर कंडेल लगायतका वक्ताहरुले उद्योग व्यवसाय देश विकासको मेरुदण्ड भएको बताउँदै राज्यले प्रदान गर्ने सेवा सुविधा लिनका लागि व्यवसायी नै सचेत हुनुपर्नेमा जोड दिएका थिए ।










