याम्पाफाँटका १५ दुग्ध किसान पुरस्कृत, सहकारीको वार्षिक १७ करोडको कारोबार

डुम्रे : तनहुँको बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ जना दुग्ध उत्पादक किसान दूध बिक्रीका आधारमा पुरस्कृत भएका छन् । याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्थाले गत आर्थिक वर्षमा सहकारीमार्फत सबैभन्दा बढी दूध बिक्री गर्ने किसानलाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।

सहकारीका अध्यक्ष काशीनाथ भट्टराईका अनुसार सबैभन्दा बढी दूध बिक्री गर्ने नमुना गाई फार्मका सञ्चालक पुष्पराज पौडेल प्रथम भएका छन् । उनले गत आर्थिक वर्षमा सहकारीमार्फत ८९ हजार १२८ लिटर दूध बिक्री गरेका थिए ।

त्यस्तै, ५१ हजार ८१२ लिटर दूध बिक्री गर्ने व्यावसायिक किसान काशीनाथ भट्टराई दोस्रो र ४४ हजार ४४४ लिटर दूध बिक्री गर्ने सुरज घिमिरे तेस्रो भए । दूध बिक्रीका आधारमा छविलाल घिमिरे चौथो, कमला पन्थ पाँचौँ, हरिप्रसाद भट्टराई छैटौँ र ओमप्रसाद लामिछाने सातौँ भए । यसैगरी इन्दिरा भट्टराई आठौँ, ऋषिराम भट्टराई नवौँ र रामनाथ भट्टराई दसौँ स्थानमा रहे ।

पुरस्कृत हुने अन्य किसानमा मुना न्यौपाने एघारौँ, सानुमाया सुनार बाह्रौँ, टकराज लामिछाने तेह्रौँ, इन्दिरा घिमिरे चौधौँ र ओमप्रकाश गुरुङ पन्ध्रौँ स्थानमा रहनुभएको छ । पन्ध्रौँ स्थानमा रहेका गुरुङले १८ हजार १८४ लिटर दूध बिक्री गर्नुभएको सहकारीले जनाएको छ ।

पुरस्कृत किसानलाई तीन हजारदेखि ११ हजार रुपैयाँसम्म नगद पुरस्कार प्रदान गरिएको अध्यक्ष भट्टराईले जानकारी दिए । दूध बिक्रीको परिमाणका आधारमा किसानलाई सम्मान गर्दा व्यावसायिक पशुपालनप्रति थप प्रोत्साहन मिल्ने सहकारीको अपेक्षा छ ।

याम्पाफाँट दुग्ध उत्पादनको महत्त्वपूर्ण केन्द्रका रूपमा परिचित छ । यहाँका किसानले पशुपालनलाई आम्दानीको प्रमुख आधार बनाउँदै आएका छन् । सहकारीमार्फत दूध संकलन तथा बिक्री हुँदै आएकाले किसानलाई उत्पादित दूध बजारसम्म पुर्याउन सहज भएको छ ।

सहकारीले गत आर्थिक वर्षमा १४ लाख लिटरभन्दा बढी दूध बिक्री गरी १७ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको जनाएको छ । दुग्ध उत्पादन र बजारीकरणमा सहकारीको सक्रियताले स्थानीय किसानको आयआर्जनसँगै क्षेत्रीय अर्थतन्त्रमा समेत योगदान पुर्याएको छ ।

याम्पाफाँटका किसानले व्यावसायिक पशुपालनलाई निरन्तरता दिँदै उत्पादन बढाउन सके स्थानीयस्तरमै रोजगारी र आम्दानीका अवसर विस्तार हुन सक्छन् । यसका लागि दूधको नियमित बजारीकरणसँगै पशु स्वास्थ्य सेवा, उन्नत नश्ल, दाना व्यवस्थापन र उत्पादन लागत घटाउने उपायमा ध्यान दिन आवश्यक देखिन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker