माओवादी र एस कांग्रेसको दया र कृपाबाट बाच्ने पार्टी : उपाध्यक्ष ज्ञावली
मिसन ग्रासरुटले पार्टीलाई जनतासंग जोड्छ : सांसद भट्टराइ

भञ्ज्याङ सामाचारदाता/दमौली
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले माओवादी र नेकपा एस भनेको कांग्रेसको दया र कृपाबाट दुइचार सिट लिएर बाच्ने पार्टी भएको आरोप लगाएका छन् । तनहुँको भानु-१ भन्सारमा शनिबार आयोजित मिसन ग्रासरुट अभियानलाई सम्बोधन गर्दै उनले भने, ‘कांग्रेसले भोट नहालेको भए माओवादी दुइचार सिट र माधव नेपालको पार्टी शून्य हुने थियोे । कांग्रेसले माओवादी र माधव नेपाललाई प्रयोग गरेर नेपालमा कम्युनिस्ट पार्टी सिध्याउने योजनामा छ ।’
ज्ञवालीले अहिले सञ्चालन भइरहेको मिसन ग्रासरुट अभियानले एमालेको उपचार गर्ने बताए । ज्ञवालीले पार्टीमा रहेका रोग हटाउन मिसन ग्रासरुटले सहयोग पुग्ने बताए । ‘मिसन ग्रासरुट अभियानमा प्रत्येक टोलमा पुग्नुपर्छ, यो अभियानले एमालेको उपचार गर्छ, रोगहरु हटाउछ र पार्टी पहिलेको भन्दा स्वस्थ बन्छ’, ज्ञवालीले भने, ‘आफ्ना असन्तुष्टिलाई थाति राख्नुपर्छ । यो महाअभियान हो, सबै जना लाग्नुपर्छ ।’
तनहुँ-१ मा वैशाख १० गते हुने उपनिर्वाचनका सन्दर्भमा ज्ञवालीले उम्मेदवार हुन कार्यकर्ताले मन पराउने मान्छे हुनुपर्ने बताए । ‘जितेर मात्रै हुँदैन, टिक्ने पनि हुनुपर्यो, विगतमा धेरैले जितेर गएपनि टिक्न नसक्नेहरु पनि छन्’, ज्ञवालीले भने, ‘ंसधैंभरि पार्टीको पक्षमा लाग्न सक्ने उम्मेदवार चाहिन्छ । सबै पार्टी कमिटी एकताबद्ध भएर चुनावमा लाग्नुपर्छ ।’
ज्ञवालीले चुनाव एउटा लडाइ भएकाले त्यो लडाइ एमालेले जित्नुपर्ने जिकिर गरे । कम्युनिष्टहरु सिद्धान्त, देश र जनताप्रति समर्पित हुनुपर्ने ज्ञवालीको जोड थियो । सुखी नेपाली समृद्ध नेपाल एमालेको मुख्य ध्येय भएको चर्चा गर्दै ज्ञवालीले देश समृद्ध मात्र भएर नभई जनता सुखी पनि हुनुपर्ने बताए ।
नेपाल लडाएर लुटिखाने पुँजीवाद, दलाल तथा नोकरशाही र श्रमको आधारमा बाच्ने र गरिखाने वर्गको बीचमा छ । उनले भने, ‘नेकपा एमाले सबै जनतालाई समृद्ध बनाउन चाहन्छ । जबसम्म उत्पादन बढाउन सक्दैनौं तबसम्म आत्मनिर्भर बन्न सकिन्न ।’
एमाले सचिव पद्मा अर्यालले वैशाख १० को चुनावको परिणाम एमालेको पक्षमा ल्याउने गरी मिसन ग्रासरुट अभियान चलाउनुपर्ने बताइन् । एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले पार्टीपंक्ति एकताबद्ध भएमा गठबन्धनका उम्मेदवारलाई पराजित गर्न सकिने बताए ।

क्षेत्रीय संयोजक हरिराज कंडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा (एमाले) स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिटव्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य भगवती न्यौपाने, विद्या भट्टराइ, कृष्ण पौडेल लगायतले पार्टीलाई बलियो बनाएर लैजानुको विकल्प नभएको बताए ।
यस्तै, प्रतिनिधिसभा सदस्य एवं नेकपा (एमाले) केन्द्रीय सदस्य विद्या भट्टराइले मिसन ग्रासरुट अभियानले जनतासँग सम्बन्ध जोड्न सहयोग पुग्ने बताएकी छन् । नेकपा (एमाले) व्यास नगरपालिका-५ वडा कमिटीले शनिबार आयोजना गरेको कार्यक्रममा भट्टराइले मिसन ग्रासरुट अभियानले जनता र पार्टीसँगको सम्वन्धलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिन् ।
पार्टीमा तीन पुस्ते नेता कार्यकर्ता भएको हुँदा यसको उचित व्यवस्थापन गरेर पार्टी बलियो बनाउन सकिने उनको भनाई थियो । हिजो पार्टी भूमिगत हुँदादेखि विभिन्न राजनैतिक आन्दोलनमा त्याग तपस्या गरेको पुस्ताको विचार र भावनालाई सम्मान गर्दे आजको पुस्ता अगाडी बढ्नुपर्नेमा उनको जोड थियो ।
उनले भनिन्, ‘यो वैज्ञानिक युगमा प्रविधिको समुचित प्रयोग गर्दै पार्टीलाई आम जनतासँग जोड्नुपर्दछ । यो अभियान अब निरन्तर रहने हुँदा समाजमा हुने विकृति विसङ्गतिलाई चिर्दै पार्टी परिवर्तन तर्फ उन्मुख हुनुपर्छ ।’ पार्टी सदस्यता नविकरणदेखि टोल कमिटी गठन यो अभियानमा पर्ने हुँदा सम्पूर्ण पार्टी कार्यकर्तालाई योजनाबद्ध रुपमा लाग्न उनले आग्रह गरिन् ।










