जेन–जीले भन्यो : ‘आन्दोलनमा घुसपैठ भयो’, संसद् भवनभित्रै प्रवेशको प्रयास कुन समूहले गर्‍यो ?

काठमाडौँ : ‘जेन–जी मुभमेन्ट’ ले शान्तिपूर्ण आन्दोलनमा राजनीतिक स्वार्थ बोकेका व्यक्तिहरू घुसपैठ भएको दाबी गरेको छ । जेन–जी अभियन्ता आजका लागि सडकबाट फर्किसक्दा पनि बानेश्वरको सडकमा भने हिंसा जारी देखिन्छ ।

शान्तिपूर्ण आवाजलाई तोडफोड र संसद् भवनतर्फ जबर्जस्ती प्रवेशको प्रयासले आन्दोलन प्रभावित बनाएको विज्ञप्तिमार्फत ‘जेन–जी मुभमेन्ट’ ले भनेको छ । ‘संसद् भवन हाम्रो शत्रु होइन, संसद् हाम्रो सम्पत्ति हो, जनताको पसिना र करले बनेको संस्था हो,’ जेन–जीको विज्ञप्तिमा भनिएको छ ।

‘जेन–जी मुभमेन्ट’ ले संसद् भवन घेर्ने वा त्यसमाथि आक्रमण गर्ने कुनै योजना नरहेको तथा आन्दोलन शान्तिपूर्ण गर्ने तयारी रहेको भनिरहँदा आखिर कसले मचायो त हिंसा ? संसद् भवनभित्रै प्रवेशको प्रयास कुन समूहले गर्‍यो ?

जेन–जीको मुभमेन्टलाई माइतीघरदेखि बानेश्वरसम्मको क्षेत्रमा प्रदर्शनको स्थान प्रशासनले तोकेको थियो । जेन जीहरू बिहान १० बाट माइतीघरमा जम्मा भएर बानेश्वरतिर लागेका थिए । बानेश्वरमा निषेधित क्षेत्रभित्र प्रवेश गर्ने तथा आन्दोलनका लागि पूर्व निर्धारित गरिएको भन्दा फरक तीनकुने क्षेत्रबाट प्रदर्शनकारीहरू संसद् भवनतर्फ प्रवेश गरेका थिए । तर यी दुई समूहलाई रणनीतिक रूपमा व्यवस्थापन गर्न गृह प्रशासन पूर्णतः असफल भएको थियो ।

जेन जी आन्दोलनले आफूलाई कुनै पनि राजनीतिक दलबाट अलग्गै रहन दिन आह्वान गरिरहँदा पनि दुर्गा प्रसाईंदेखि रास्वपासम्मले जस लिन होडबाजी गरेका थिए । प्रसाईंले आन्दोलनमा आउन खोजेपछि जेन जी अभियन्ताले उनकै घरमा गएर सम्झाउनु परेको थियो ।

त्यस्तै सहकारी ठगीमा सर्वोच्च अदालतसमेतको आदेशमा जेलमा रहेका रवि लामिछानेले पनि जेलबाटै सार्वजनिक पत्र लेखेर जस लिन खोजेका थिए । रास्वपाकै नेता गणेश कार्कीदेखि रास्वापा केही सासंदको निजी सचिवालयमा आबद्ध व्यक्ति पनि जेन जीको प्रर्दशनमा देखिएका थिए । त्यस्तै संसद् भवनको पर्खालमाथि चढ्ने युवा माओवादीका वाईसीएल नेता भएको पनि खुलासा भएको छ ।

भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा बिहान शान्तिपूर्ण ढंगले अझ प्रहरीलाई फूल दिएर सुरु भएको आन्दोलन घुसपैठले हिंसात्मक बन्न पुगेको हो । त्यही बहानामा सरकार असंवेदनशील भएर सरकारले अत्यधिक बल प्रयोग गर्दा दर्जन बढी युवाहरूको ज्यान गएको छ ।

आन्दोलनका आह्वानकर्ता तथा प्रत्यक्षदर्शीहरूले पनि बाहिरिया घुसपैठ भएको बताइरहेका छन् । आन्दोलनमा मृत्यु हुने र घाइतेहरुको संख्या थपिँदै गएको छ । प्रहरीको सेन्ट्री पोस्टदेखि यातायात विभाग अघि थोपारिएको खानेपानी पाइप मात्रै नभएर बानेश्वरको सशस्त्र प्रहरीको एम्बुलेन्समा समेत आगलागी गरिएको छ ।

द्वन्द्वात्मक मनसाय बोकेका मानिसहरूले आन्दोलनलाई अशान्ति र तोडफोडतर्फ तानेको जेन जीको दाबी छ । ‘अशान्ति र तोडफोडतर्फ तान्नेहरू राजनीतिक स्वार्थ बोकेर आएका परिचालित व्यक्तिहरू हुन् । उनीहरूले हाम्रो मर्म र आत्मालाई प्रतिनिधित्व गर्दैनन्,’ जेन जी आन्दोलनले विज्ञप्तिमार्फत भनेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker