धर्म र राजनीति छुट्टाछुट्टै विषय हुन्

सुरेशकुमार पाण्डे

कसैले कुनै विषयमा आस्था राख्नु अस्वाभाविक होइन । त्यो आस्था धर्मप्रतिको होस् वा राजनीतिक विचारप्रतिको । तर आफ्नो आस्था वा विचार अरूमाथि अनावश्यक रूपमा लाद्ने अधिकार कसैलाई हुँदैन । मानिसको विचार उसले व्यक्त नगरेसम्म उसको व्यक्तिगत विषय हो। तर विचार सार्वजनिक भएपछि त्यसले सामाजिक स्वरूप ग्रहण गर्छ र त्यसको मूल्याङ्कन पनि समाजले नै गर्छ । सही वा गलत, सकारात्मक वा नकारात्मक भन्ने निर्णय समय र समाजले गर्ने हो ।

धर्म कुन मान्ने, मान्ने कि नमान्ने भन्ने विषय मूलतः व्यक्तिको स्वतन्त्र निर्णय हो । धर्म भन्नासाथ पूजा–पाठलाई मात्र बुझ्नु पनि उचित हुँदैन । पूजा, मन्दिर निर्माण, लक्षबत्ती बाल्ने, विभिन्न धार्मिक अनुष्ठान गर्नेजस्ता अभ्यास विभिन्न समुदायले आफ्नो आस्था र संस्कारका रूपमा विकास गरेका हुन् । समयक्रममा यस्ता अभ्यास परम्पराका रूपमा स्थापित भए । समाज परिवर्तनसँगै तिनको समीक्षा र परिमार्जन पनि हुँदै आएको छ ।

आदिम सामुदायिक जीवनदेखि आधुनिक वैज्ञानिक युगसम्म आइपुग्दा मानव समाजले अनेकौँ अनुभव हासिल गरेको छ । केही परम्परा उपयोगी साबित भए, केही परिमार्जित भए र केही विस्थापित पनि भए । त्यसैले कुनै पनि परम्परा पुरानो हुँदैमा स्वतः सही हुन्छ भन्ने मान्यता राख्नु आवश्यक छैन । समय, ज्ञान, विज्ञान र मानवीय विवेकका आधारमा त्यसको समीक्षा हुनुपर्छ ।

संसारका मानिस एउटै मानव जातिका सदस्य हुन्। तर जात, भाषा, क्षेत्र, संस्कृति र धर्मका आधारमा उनीहरू विभिन्न समुदायमा विभाजित छन् । हिन्दू, मुस्लिम, इसाई, बौद्धलगायत जुनसुकै धर्ममा आस्था राखे पनि सबै धर्मका मूल शिक्षाले मानव कल्याण र नैतिकतालाई महत्व दिएका छन् । त्यसैले धर्मको सबैभन्दा व्यापक अर्थ मानव धर्म नै हो– मानिसको हित गर्नु, दुःखमा साथ दिनु, अन्याय नगर्नु र अरूको अस्तित्वको सम्मान गर्नु ।

धर्म र पापलाई पनि यही मानवीय दृष्टिकोणबाट हेर्न आवश्यक छ । सहयोगी भावना राख्ने, अरूको दुःख बुझ्ने र मानव हितमा काम गर्ने व्यक्ति धार्मिक आचरणमा रहेको मान्न सकिन्छ। तर अरूलाई लुट्ने, शोषण गर्ने, हिंसा गर्ने र अन्यायमा आधारित जीवन बिताउने व्यक्तिले बाहिरबाट जति धार्मिक कर्म गरे पनि त्यसले उसको आचरणलाई धर्मात्मा बनाउन सक्दैन ।

हाम्रो समाजमा भने धर्मको परिभाषा कतिपय अवस्थामा उल्टो ढङ्गले स्थापित भएको पाइन्छ । मन्दिर धाउने, तीर्थ जाने, दान गर्ने वा धार्मिक अनुष्ठानमा सहभागी हुने व्यक्तिलाई मात्र धार्मिक ठान्ने प्रवृत्ति छ । श्रम गरेर जीविका चलाउने, महँगा धार्मिक कर्म गर्न नसक्ने मानिसलाई त्यही आधारमा नास्तिक वा पापी ठान्नु कति न्यायोचित होला? मानिसले बनाएका मन्दिर, मूर्ति र धार्मिक ग्रन्थभन्दा ठूलो कुरा मानिसको आचरण र मानवतामाथिको व्यवहार हो ।

त्यसैले धर्मलाई राजनीतिसँग जोडेर हेर्नु अर्को गम्भीर विषय हो । कुनै देशमा विभिन्न जाति, भाषा र धर्मका मानिस बस्छन् भने राज्य सबैको साझा संस्था हुनुपर्छ। नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देशमा राज्यले सबै नागरिकलाई समान व्यवहार गर्नुपर्छ । धर्मनिरपेक्षताको मूल भावना पनि यही समानता र धार्मिक स्वतन्त्रतासँग जोडिएको छ ।

छिमेकी भारतको अनुभवले पनि धर्म र राजनीतिको मिश्रण कति जटिल हुन सक्छ भन्ने देखाउँछ। धर्मलाई राजनीतिक लाभका लागि प्रयोग गर्दा समाजमा विभाजनको खतरा बढ्छ । कुनै राजनीतिक दलले धार्मिक भावनालाई आ,्निो सत्ता र चुनावी रणनीतिको साधन बनाउनु र राज्य सञ्चालनलाई त्यसैअनुसार निर्देशित गर्नु अन्ततः सामाजिक सद्भावका लागि चुनौती बन्न सक्छ ।

धर्म आफ्नो ठाउँमा हुनुपर्छ, राजनीति आफ्नो ठाउँमा । कसैले धर्मलाई राजनीतिभित्र घुसाएर सत्ता प्राप्तिको साधन बनाउन खोज्यो भने त्यसले दीर्घकालमा सामाजिक द्वन्द्व निम्त्याउन सक्छ । धर्मका नाममा हुने संघर्षले कुनै एउटा समुदायलाई मात्र क्षति पु¥याउँदैन, त्यसले सिङ्गो राष्ट्रको सामाजिक संरचना र राष्ट्रिय एकतालाई कमजोर बनाउँछ । इतिहासमा धर्मका नाममा भएका हिंसात्मक द्वन्द्वले पुस्तौँसम्म समाजलाई विभाजित गरेको उदाहरण प्रशस्तै छन् ।

राजनीति र धर्म दुवै समाजका महत्वपूर्ण पक्ष हुन्, तर तिनको उद्देश्य र कार्यक्षेत्र फरक छ । धर्म व्यक्तिको आस्था, नैतिकता र आत्मिक शान्तिसँग जोडिएको विषय हो भने राजनीति राज्यको नीति, कानुन, शासन प्रणाली र सार्वजनिक स्रोतको व्यवस्थापनसँग सम्बन्धित हुन्छ। त्यसैले राजनीतिमा धर्म होइन, धर्मको नाममा राजनीति गर्ने प्रवृत्तिभन्दा राजनीतिको धर्म– नैतिकता, कर्तव्य र जनउत्तरदायित्व– स्थापित हुनुपर्छ ।

मानव जाति पृथ्वीका असंख्य जीव प्रजातिमध्ये सबैभन्दा चेतनशील प्राणी मानिन्छ । तर यही चेतनशील मानिसले धर्मकै नाममा हिंसा, विभेद र हत्या गरेको इतिहास पनि छ । धार्मिक आस्थाको नाममा पशुपक्षीको बलि दिने प्रचलनदेखि मानिस–मानिसबीच जात, धर्म र सम्प्रदायका आधारमा हुने विभेदसम्म हेर्दा मानव विवेकमाथि प्रश्न उठ्छ। कुनै गलत परम्परा लामो समयदेखि चल्दै आएको छ भन्दैमा त्यसलाई धर्मको नाम दिन सकिँदैन ।

कुसंस्कार र कुरीतिलाई सुधार्नुको सट्टा त्यसैमा राजनीति गर्नु झन् खतरनाक प्रवृत्ति हो । आज कसैले जातका नाममा, कसैले क्षेत्रका नाममा र कसैले धर्मका नाममा राजनीति गरिरहेको देखिन्छ। राजनीतिले समाजलाई विभाजित गर्ने होइन, जोड्ने काम गर्नुपर्छ । राष्ट्रियता, जनताको अधिकार, आर्थिक विकास, सामाजिक न्याय र नागरिक स्वतन्त्रता राजनीतिको केन्द्रमा हुनुपर्छ । दुर्भाग्यवश, हाम्रो राजनीतिमा विपक्षीलाई राजनीतिक प्रतिस्पर्धीका रूपमा सम्मान गर्ने संस्कार कमजोर हुँदै गएको छ । असहमत विचारलाई तर्कले सामना गर्नुपर्ने ठाउँमा दमन, आरोप र शत्रुताको भाषा प्रयोग हुने गरेको छ । विगतका ठूला राजनीतिक दलमा देखिएको यस्तो प्रवृत्ति नयाँ राजनीतिक शक्तिमा पनि दोहोरिनु चिन्ताको विषय हो ।

जनताको प्रतिनिधिमूलक संस्था संसद् देशको नीति, कानुन र विकासका प्राथमिकता तय गर्ने सर्वोच्च राजनीतिक मञ्च हो । तर संसद्को गरिमा र जनविश्वास कमजोर हुने गरी गतिविधि हुन थाले भने लोकतान्त्रिक प्रणालीप्रतिकै भरोसा घट्छ । संसद् व्यक्तिगत स्वार्थ, दलगत भागबन्डा वा सीमित समूहको हित साध्ने थलो बन्नु हुँदैन। त्यहाँ देशको रक्षा, विकास, जनअधिकार र समृद्धिका विषयमा गम्भीर बहस हुनुपर्छ ।

राजनीति पेशा बन्न थालेपछि त्यसको चरित्र पनि बदलिन सक्छ । जनसेवाका लागि प्रवेश गरेको राजनीति व्यक्तिगत लाभ, शक्ति सञ्चय र भ्रष्टाचार लुकाउने माध्यम बन्यो भने त्यसले लोकतन्त्रलाई नै कमजोर बनाउँछ। राजनीतिक पद जनताको विश्वास हो, निजी सम्पत्ति होइन । आजको विज्ञान र प्रविधिको युगमा पनि धर्मका नाममा राजनीति गरेर समाजलाई विभाजित गर्ने प्रयास हुनु विडम्बना हो। राजनीतिक नेतृत्वले भावनालाई भड्काउने होइन, नागरिक चेतना बढाउने काम गर्नुपर्छ। देशको अवस्था, विश्व परिवेश र बदलिँदो अर्थतन्त्रलाई बुझेर राष्ट्रिय हितमा आधारित नीति निर्माण गर्नुपर्छ ।

लामो समय निरंकुशताको जाँतोमा पिसिएका नेपाली जनताले लोकतन्त्र, स्वतन्त्रता, सुशासन र समृद्धिको अपेक्षा गरेका छन् । उनीहरूलाई जात, धर्म वा क्षेत्रका नाममा पुनः विभाजित गर्नु लोकतन्त्रको उद्देश्य होइन । कुनै पनि राजनीतिक व्यक्ति वा दलले आफ्नो स्वार्थभन्दा माथि उठेर सिङ्गो देश र गणतन्त्रको रक्षा गर्न सक्नुपर्छ ।

अन्ततः धर्म व्यक्तिको आस्था हो भने राजनीति सार्वजनिक जिम्मेवारी । आस्था स्वतन्त्र हुनुपर्छ, तर राज्य सबैको साझा हुनुपर्छ । राजनीतिले धर्मको सहारा लिएर सत्ता खोज्ने होइन, नैतिकता र कर्तव्यलाई आफ्नो धर्म बनाउनुपर्छ । धर्मका नाममा हुने कुसंस्कार सुधार्नु र राजनीतिलाई जनसेवाको माध्यम बनाउनु नै आजको आवश्यकता हो। मानवता, विवेक, समानता र राष्ट्रिय हितभन्दा माथि कुनै धर्म वा राजनीतिक स्वार्थ हुन सक्दैन ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker