भानु नगरपालिका : साहित्यिक पर्यटनको प्रवर्द्धन, कृषि उत्पादनसंगै शिक्षा, स्वास्थ्य, पूर्वाधारमा जोड

नारायण खड्का/तनहुँ

आदिकवि भानुभक्त आचार्यको जन्मभूमी चुँदीरम्घा । भाषीक एकीकरण गरी नेपालीहरुलाई एउटा भाषाको मालामा उन्न सफल भानुभक्त आचार्यको जन्मथलो साहित्यिक तिर्थस्थलका रुपमा पनि परिचित छ। यही विशेषताका कारण यस नगरपालिकाको नाम पनि भानु नामाकरण गरिएको छ ।

त्यस्तै, नेपालको राजनीतिक इतिहासका दोस्रो प्रधानमन्त्री रंगनाथ पौडेलको जन्मथलो मैवलकोट क्षेत्रलाई पूर्व र पश्चिम पारेर बगेको चुँदी खोलाले भाग लगाएको साविक भानु र वरभञ्ज्याङ गाउँ विकास समितिलाई नेपाल सरकारको मिति २०७२ असोज १ गतेको निर्णय अनुसार आदिकवि भानुभक्त आचार्यको नामबाट नगरपालिकाको नामाकरण गरिएको थियो । नेपाल सरकारको निर्णय अनुसार स्थानीय तहको रुपमा पुनःसंरचित यस भानु नगरपालिकामा साविकका भानु नगरपालिका, वसन्तपुर गाविस, मिर्लुङ गाविस, रिस्ती गाविस (वडा नं. ६), सतिस्वाँरा गाविस (वडा नं.१ देखि ५), तनहुँसुर गाविस (वडा नं. १ देखि ३), चोकचिसापानी गाविस, रुपाकोट गाविस र पुर्कोट गाविस समावेश गरी १३ वटा वडा कायम गरिएको छ ।

यस नगरपालिकाको पूर्वमा गोरखा र लमजुङ जिल्ला, पश्चिममा व्यास नगरपालिका, उत्तरमा लमजुङ तथा दक्षिणमा बन्दिपुर गाउँपालीका र गोरखा जिल्ला रहेका छन् । धार्मिक, साँस्कृतिक, ऐतिहासिक, प्राकृतिक, साहित्यिक क्षेत्रले भरिपूर्ण यस नगरपालिका ग्रामीण पर्यटनको प्रचुर सम्भावना बोकेको छ । भानु जन्मस्थल चुँदी रम्घा, वसन्तपुरको थानीमाई देवीको मन्दिर, चन्द्रावतीको महादेव मन्दिर, कवाजितको ऐतिहासिक महत्वको महालक्ष्मी मन्दिर, मिर्लुङ्गकोट दरबार, ठूलोढूङ्गा, दरगा जामे मस्जिद, चुँदीको उर्वर भूमि, उच्च पहाडि भू-धरातलका हरिया वनजंगल, विभिन्न समुदायको बसोवास, भाषा, संस्कृति यस नगरपालिकाको पहिचान हुन् । मिर्लुङकोट, कोटगाँउ क्षेत्र, मैवलकोट, भानु जन्मस्थल चुँदीरम्घा ऐतिहासिक स्थल हुन्।

आनन्दराज त्रिपाठी : प्रमुख

भानु नगरपालिकाले विकास र समृद्धिको लक्ष्य प्राप्तिका लागि मुख्यत साहित्यिक पर्यटन प्रवर्द्धनसंगै कृषि उत्पादनलाई जोड दिएको छ । ‘साहित्य, पर्यटन र कृषि क्षेत्र हाम्रो, पारौ समृद्ध र समुन्नत भानु राम्रो’ भन्ने नाराका साथ अगाडि बढेको नगरपालिकाले मुख्य त आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घालाई साहित्यिक पर्यटकीय हबका रुपमा विकास गरी आर्थिक उपार्जनको पाटोमा अगाडि बढ्ने योजना बनाएको नगरप्रमुख आनन्दराज त्रिपाठीले बताए ।

नेपाली भाषाको एकीकरण तथा नेपाली साहित्यिक नक्षेत्रका रुपमा रहेका भानुको जन्मस्थल चुँदी रम्घा साहित्यिक पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्य हो । यो क्षेत्रलाई साहित्यिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजनाका साथ अगाडि बढेको उनले बताए । ‘नगरपालिकाले विशेषता कृषि क्षेत्रको विकाससंगै उत्पादनलाई जोड दिएको छ’, उनले भने, ‘शिक्षा, स्वास्थ्य, खानेपानी, सडक जनताका आधारभूत आवश्यकता भएकाले सहज रुपमा उपलब्ध गराउने र बाँझिदै गएका उर्वर भूमिलाई पुनः खेती गर्ने वातावरण सृजना गरी उत्पादन वृद्धि गर्ने तर्फहाम्रो ध्यान केन्द्रित छ ।’

आदिकवि भानुकै नामबाट पालिकाको नामाकरण भएको हुँदा भानु जन्मस्थलाई साहित्यक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न भानुको ठूलो शालिक सहितको पूर्वाधार तयार गर्ने, मिर्लुङकोट, थानीथान लगायतका प्राकृतिक, धार्मिक, साँस्कृतिक क्षेत्रको विकास र प्रवर्द्धन गरी समृद्धि हाँसिल गर्ने लक्ष्यका साथ अगाडि बढेको नगरप्रमुख त्रिपाठी बताउँछन् ।

भानु जन्मस्थल क्षेत्रमा आवश्यक पूर्वाधारहरु तयार गर्न सके आन्तरिक तथा वाह्य साहित्यिक पर्यटकको आगमन हुनेछ । यस्तै धार्मिक पर्यटकीय क्षेत्र बसन्तपुर थानिमाई मन्दिरमा वर्षोनी हजारौ धार्मिक पर्यटकको आगमन हुन्छ। यहाँ पर्ुवधार विकास, सहज सडकको पहुँच, खानेपानीको व्यवस्थापनमा नगरपालिका लागिपरेको छ । ग्रामीण पर्यटनको आकर्षक गन्तव्य वडा नं. १३ स्थित मिर्लुङकोट क्षेत्र हो । तनहुँको दोश्रो अग्लो पाहाड जहाँबाट पुर्वदेखि पञ्चिमसम्मका हिमालहरु देख्न सकिन्छ । मिर्लुङकोट क्षेत्रमा लालिगराँस पनि पाइने हुँदा पर्यटकको रोजाइमा पर्ने गरेको छ। यी क्षेत्रलाई प्राकृतिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना रहेको उनले बताए ।

गण्डकी प्रदेशकै नमुना टुटेपानी सामुदायिक होमस्टे तथा अन्य गाउँहरुमा पनि ग्रामीण पर्यटन प्रवर्द्धनका लागि होमस्टे सञ्चालन गर्नुका साथै ती होमस्टेमा स्थानीयस्तरमै उत्पादित उपज खपत गराउने गरी उत्पादनमा जोड दिएको नगरप्रमुख त्रिपाठीले बताए । यस्तै, भानु नगरपालिका विभिन्न समुदायको कला संस्कृतिले पनि भरिपूर्ण छ । स्थानीय कला संस्कृतिको संरक्षण, रैथाने बालीको संरक्षण, धार्मिक क्षेत्रको पर््रवर्द्धनका लागि स्थानीय पाठ्यक्रम तयार गरी सबै विद्यालयमा पठनपाठनको व्यवस्था समेत मिलाइएको उनले बताए ।

जेसिआई भानु बन्दिपुरले भानु-२ फुस्रेटार स्थित सहिद स्मृति पार्कमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा सहभागि भई विरुवा रोप्दै भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी । तस्विर : भञ्ज्याङ

मुख्य त नगरपालिकाले कृषिलाई नै बढि जोड् दिएको छ। नगर क्षेत्रका उर्वर भूमिमा विषादी रहित हिसावले रैथाने बालि उत्पादन गर्नुपर्छ भन्ने मान्यता नगरपालिको रहेको छ । यहाँ उच्च पहाडी क्षेत्र, फाँट र टारहरु पनि भएकाले कृषिक्षेत्रलाई व्यवसायिक बनाउँदै उत्पादनसंग जोडिदै उत्पादित उपजलाई बजारीकरण गर्ने तर्फपनि नगरपालिकाले योजना बनाएको नगरप्रमुख त्रिपाठीले बताए । उनले भने, ‘कुनैदिन संकटको समय आउला भनि जैविक हिसावले हाम्रा रैथाने बालीको संरक्षणका लागि चन्द्रवतिमा बालि संरक्षण र पुरकोटमा रैजाने बालिको विउघर बनाइएको छ ।’

नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन क्षेत्रका पूर्वधार निर्माणमा पनि प्राथमिकता दिइएको छ । आन्तरिक आम्दानीको क्षेत्र राम्रो नभएकाले जनताका आवश्यकता पुरा गर्न पनि संघ र प्रदेश सरकारले उपलब्ध गराउने बजेटमै निर्भर हुनुपर्ने अवस्था छ। नगरपालिकाले ठूला विकासे योजनाहरु सञ्चालन गर्न नसक्ने अवस्थामा रहेको नगरप्रमुख त्रिपाठी बताउँछन् । उनले भने, ‘नगर क्षेत्रको विकासका लागि गरिने विशेषखालका योजनाहरुमा पिपिए मोडलबाट अगाडि बढ्ने योजना बनाएका छौं ।’

उमा गोतामे : उपप्रमुख

भानु नगरपालिका विशेषता कृषि उत्पादनलाई जोड दिंदै शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढेको उपप्रमुख उमा गोतामेले बताइन् । अघिल्लो कार्यकालका जनप्रतिनिधिले सञ्चालन गरेका विकासका अधुरा योजनाहरुलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको उपप्रमुख उनले बताइन्।

‘शिक्षाबाट बञ्चित रहेका गरिब र असाय बालबालिकालाई विद्यालयमा पुर्‍याउने गरी नगरपालिकाले नीति बनाएको छ’, उनले भनिन्, ‘नगरपालिकाले शिक्षा, स्वास्थ्य क्षेत्रलाई सहज बनाई सबैको पहुँचमा पुर्‍याउने र आदिकवि भानुभक्त आचार्य जन्मस्थल चुँदीरम्घालाई साहित्यिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न योजना बनाएकोछ ।’

यस्तै, नगरपालिकाको न्यायीक समितिमा सधियार, घर झगडाका मुद्दाहरु आउने गरेका छन् । मुद्दाका प्रकृति अनुसार दुबै पक्षबीच छलफल र समझदारी गरी जितजितको वातावरण बनाई न्याया निरुपण गर्दै आएको उपप्रमुख गोतामेले बताइन । उनले भनिन्, ‘महिला सशक्तिकरण, आर्थिक पहुँच अभिवृद्धि गर्दै नेतृत्व तहमा पुर्‍याउनका लागि विभिन्न क्षमता विकास कार्यक्रम, नेतृत्व विकास तालिमहरु वडावडा तहमा नै उपलब्ध गराउँदै आइएका छौ ।’

तनहुँको भानु नगरपालिका-१२ रयालेमा चण्डिपूर्णिामा दिन सति घाँटु नचाईदै ।

दिवाकर पौडेल : प्रमुख प्रशासकीय अधिकृत

नगरपालिकाको स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकतामा राखेको छ । नगरबासीको आर्थिक पाटोलाई बलियो बनाउन आयआर्जनमुलक कार्यक्रमहरु सञ्चालनमा पनि विशेष ध्यान दिएको प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले बताए । यस्तै, शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि बालविकासका शिक्षक शिक्षिकाहरुले यसअघि ८ हजार पाएकोमा नेपाल सरकारले ७ हजार रुपैयाँ थप गरी १५ हजार रुपैयाँ उपलब्ध गराउने भनिएपनि रकम नआउँदा नगरपालिकाको आन्तरिक श्रोतबाट ७ हजार थप गरी भुक्तानी दिएको बताए ।

शैक्षिक गुणस्तर वृद्धिका शैक्षिक क्षेत्रको विकासका लागि नगरपालिकाले विद्यालय कार्मचारी र कार्यालय सहयोगीलाई पनि न्युनतम तलब प्रदान गरिएको छ । प्राविधिक शिक्षालाई प्राथमिकता दिने उद्देश्यले नगरपालिकाले २६ जना विद्यार्थीलाई प्रति विद्यार्थी ५० हजार रुपैयाँका दरले बार्षिक रुपमा १३ लाख रुपैयाँ छात्रबृत्ति उपलब्ध गराएको छ । सबै विद्यालयहरुमा इन्टरनेट सेवा उपलब्ध गराउनुका साथै समयानुकूल शिक्षकहरुलाई तालिम समेत प्रदान गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।

‘नगरसभाबाट वार्षिक रुपमा पारित गरेका नीति, योजना र बजेटको परिधिभित्र रहेर नगरबासीहरुलाई सेवासुविधा प्रदान गर्न हामी प्रयात्नरत छौं । साथै संघीय र प्रदेश सरकारबाट पनि नीति निर्देशन हुने गर्दछ’, उनले भने, ‘हाम्रो साधनश्रोत र जनशक्तिले भ्याएसम्म नगरबासीको सेवालाई नै प्राथमिकतामा राखेर हामीले छिटो छरितो रुपमा सेवा प्रवाह गर्ने प्रयास गरिरहेका छौं र भोलिका दिनमा अझ हामी यसलाई परिमार्जन गर्दै परिवर्तन गरी लैजानेमा प्रयात्नरत छौं ।’

‘नगरपालिकाका १३ वटै वडा कार्यालयबाट नागरिकलाई सहज रुपमा सेवा प्रवाह हुँदै आएको छ । नागरिकको घरदैलोको सरकार भएकाले वडा सरकार त्यसपछि नगरपालिका हो र हाम्रा धेरैजसो सेवाहरु वडाबाटै सेवाग्राहीहरुले लिने गर्नुहुन्छ’, प्रमुख प्रशासकीय अधिकृत पौडेलले भने, ‘हामीले प्रवाह गरेको सेवालाई अनुगमन गर्दा नागरिकको असन्तुष्टि पाएका छैनौं । तर अपेक्षा अनुरुपको सेवा प्रवाह हुन नसकेका गुनासाहरु पनि पनि छन् । कतिपय कुराहरु हामीले चाहादाचाहादै पनि उहाँहरुले अपेक्षा गरेअनुसारको छिटोछरितो गर्न सकिएको छैन । नगरपालिकाको सबालमा केही वडाहरु भौगोलिक हिसावले पनि बिकटमा छन्, त्यो हिसावले पनि हामीले सोचेअनुसारको सेवा प्रवाह गर्न नसकिएको हो ।’

वडा कार्यालयमा सबै सेवा चुस्तदुरुस्त गराउन १३ वटै वडामा इन्टरनेट सेवा उपलब्ध गरिएको छ । नगरपालिकामा बुझाउनुपर्ने राजश्व र शुल्क नगरबासीले जहाँ बसेरपनि आ-आफ्नै मोबाइलबाट समेत बुझाउन मिल्ने बनाउन क्यूआरकोर्डको व्यवस्थापन गरिएको छ ।

नगरपालिकाको आन्तरिक श्रोतको अवस्था कम्जोर छ । ढुङ्गा, गिटी, वालुवाबाट आउने आम्दानी सामान्य छ । हाम्रो आन्तरिक श्रोत भनेको वडा कार्यालय र नगरपालिकाबाट सेवाग्राहीहरुलाई गरेको सेवाप्रवाहबाट प्राप्त हुने दस्तुर नै आम्दानीको स्रोत बनेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए । उनले भने, ‘नगरपालिकाभित्र व्यपार व्यवसाय, पसल, होटलहरु गर्नेलाई करको दायरामा ल्याउन सकिएको छैन । तीनलाई करको दायरामा ल्याउन सके नगरपालिकाको आन्तरिक आम्दानी केही बढ्न सक्छ । संघ र प्रदेश सरकारबाट प्राप्त बजेटबाट जनताको माग र आवश्यकतालाई सहज रुपमा पुरा गर्ने अवस्था छैन ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker