व्यास नगरपालिकाद्वारा अनुदानमा कृषकलाई पावर टेलर वितरण
भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकाले कृषकहरुलाई पावर टेलर प्रदान गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा २० जना कृषकलाई करिब एक लाख मूल्यको मूल्यसम्मका ती पावर टेलर उपलब्ध गराएको हो ।
नगरपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी कृषकलाई पावर टेलर प्रदान गरेको हो । कृषकलाई पावर टेलर वितरण गर्दै नगर प्रमुख बैकुण्ठ न्यौपानेले नगरपालिकाले व्यवसायिक कृषिमा लाग्न चाहनेलाई सघाउन सहयोग गरेको बताए ।
यस्तै, कार्यक्रममा उपप्रमुख मीरा जोशीले कृषिमा लाग्न चाहनेका लागि नगरपालिकाले प्राथमिकता दिएको र प्रविधिको प्रयोग गरी व्यवसायिक कृषि पेशामा अंगाल्न आग्रह गरिन ।
नगरपालिकाको आर्थिक पूर्वाधार विकास शाखा प्रमुख राजेन्द्र कार्कीले नगरपालिकाले पावर टेलरका लागि नगरपालिकाले ५० लाख छुट्याएको र कुल ८० प्रतिशत अनुदानमा ४० लाखका दुइ ठूला ट्याक्टर पनि प्रदान गरिने बताए ।
वडामार्फ पनि यस्ता सहयोग वितरण भएको भन्दै उनले बाली विकासको पनि माग आएमा अनुदान उपलब्ध गराउन सकिने बताए । नगरपालिकाले झण्डै ३ करोड हाराहारीमा रकम कृषिमा विनियोजन गरेको बताइएको छ ।










