बन्दीपुर अस्पतालमा हरेक दिन १३ घण्टा निःशुल्क ओ.पी.डी. सेवा सुरु

बन्दीपुर : तनहुँको बन्दीपुर अस्पतालले वर्षैभर दैनिक १३ घण्टा निःशुल्क ओ.पी.डी. सेवा दिने भएको छ । नयाँ वर्ष २०८२ को पहिलो दिनदेखि अस्पतालले एक ऐतिहासिक निर्णय लागू गर्दै हरेक दिन शनिबार तथा सार्वजनिक बिदाका दिनसमेत बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म निःशुल्क बहिरंग (ओ.पी.डी.) सेवा सञ्चालनमा ल्याएको हो ।
यो सेवा नेपाल सरकारको स्वास्थ्य सेवा पहुँच विस्तार गर्ने दीर्घकालीन नीति अनुरूप गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए ।
नेपाल सरकारको आ.ब. २०८०÷०८१ को वार्षिक नीति तथा कार्यक्रमको बुंदा नं. १३५ मा उल्लेख गरिएको “ओ.पी.डी. सेवा बिहान ८ बजे देखि बेलुकी ८ बजेसम्म अनिवार्य संचालन गरिने” भन्ने नीति र आ.ब. २०८१÷०८२ को बुंदा नं. १५६ मा रहेको “अस्पतालहरूमा दुई शिफ्टमा ओ.पी.डी. सेवा सञ्चालन गरिनेछ” भन्ने योजना अनुरूप यो सेवा विस्तार गरिएको उनले जानकारी गराए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्दै तथा स्थानीयवासी सेवाग्राहीहरूको मागलाई ध्यानमा राखी बन्दीपुर गाउँपालिका कार्यपालिकाको निर्णयद्वारा यो सेवा वैशाख १ गतेदेखि कार्यान्वयनमा आएको छ ।
यस्तै, बन्दीपुर अस्पताल कार्यसञ्चालन समितिको गते बुधबार गरेको निर्णय अनुसार यो सेवा विस्तारले जनतालाई अझै सुलभ, सहज र गुणस्तरीय सेवा दिन सक्षम हुने अस्पतालका प्रमुख डा. अनिल गिरीले बताए ।
उनका अनुसार अस्पतालले वर्षका सम्पूर्ण ३६५ दिन बिहान ७ देखि बेलुकी ८ बजेसम्म निरन्तर ओ.पी.डी. सेवा उपलब्ध गराउनेछ। यो विस्तारले विशेषगरी निम्न वर्गका सेवाग्राहीहरूलाई राहत पुग्ने उनले विश्वास व्यक्त गरेका छन्।
सेवा विस्तारसंगै कर्मचारी वर्गले कार्यालय समय अगाडि वा पछि सेवा लिन सक्ने, विद्यार्थी वर्गले कक्षा छोड्न नपर्ने, ज्याला मजदुर पेशा गर्नेले रोजगारी छोड्न नपर्ने, व्यापारी वर्गले व्यवसायमा असर नपरी स्वास्थ्य सेवा लिन सकिने, गृहिणी तथा सुत्केरी महिलाले बिहान वा बेलुकाको अनुकूल समयमा सेवा लिन सक्ने अस्पतालले जनाएको छ ।
यस्तै, यो नयाँ सेवा प्रणाली अन्तर्गत सेवाग्राहीहरूले खाली पेटमा गरिने रगत परीक्षण, थप चिकित्सक परामर्श र रिफरल सेवाको समेत सहज पहुँच पाउनेछन् । शनिबार र बिदाका दिनमा समेत सेवा खुला रहने भएकाले आकस्मिक अवस्थामा पनि सेवाग्राहीलाई विशेष सुविधा मिल्ने अपेक्षा गरिएको छ ।
स्वास्थ्य बिमा भएका नागरिकहरूले पनि यो विस्तारित समय अवधिमा पूर्ववत् स्वास्थ्य बिमाको लाभ लिन सक्ने र अस्पतालले कुनै पनि प्रकारको अतिरिक्त शुल्क नलिने स्पष्ट पारिएको छ ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष र अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरूले यो सेवा विस्तारलाई स्थानीय सरकारको जनउत्तरदायित्वप्रति गरिएको महत्वपूर्ण कदम भएको बताएका छन् । गाउँपालिका अध्यक्ष थापाले भने, ‘हामी नागरिकहरूको स्वास्थ्य सेवा सहज, सुलभ र सुलभ दरमा उपलब्ध गराउने हाम्रो प्रतिबद्धतामा दृढ छौ र सोही अनुसार कामगर्दै अगाडि बढेका छौ ।’