आँवुखैरेनीमा नागरिक सहायता कक्ष सञ्चालन
भञ्ज्याङ समाचारदाता (आँवु)

तनहुँको आँवुखैरेनी गाउँपालिकाले नागरिक सहायता कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाले आफ्ना नागरिकलाई सहज रुपमा सेवा दिनको लागि नागरिक सहायता कक्ष सञ्चालन गरेको हो। गाउँपालिकाले केही दिन यता गाउँपालिका कार्यालय परिसरमा नै नागरिक सहायता कक्षको स्थापना गरी सञ्चालन गर्दै आएको छ ।
नागरिक सहायता कक्षमा गाउँपालिकाले छुट्टै कर्मचारीको व्यवस्था गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले बताए । अधिकृत पोखरेलका अनुसार सहायता कक्षबाट हाल सेवाग्राहीहरुको कागजपत्र मिलाईदिने, निवेदन लेखिदिने लगायत आवश्यक सेवा अनुसार परामर्शको काम समेत गरिने छ ।
यस्तै गाउँपालिकाले निःशुल्क फोटोकपी गरिदिने समेत व्यवस्था गर्ने भएको छ । अधिकृत पोखरेलले भने, ‘अब हामी छिट्टै नयाँ भवनबाट सेवा सुरु गर्ने तयारीमा छौं, त्यसपछि नागरिक सहायता कक्षबाट नागरिकलाई निःशुल्क रुपमा फोटोकपी गर्ने व्यवस्था समेत गर्नेछौं ।’










