माहेन्द्री माविको ५०औं वार्षिकोत्सव : आवश्यकता अनुसार शिक्षा नीति परिमार्जन हुनुपर्छ – मन्त्री आले
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-९ गजौडेस्थित माहेन्द्री माध्यमिक विद्यालयले ५०औं वार्षिकोत्सव तथा स्वर्णमहोत्सव सम्पन्न गरेको छ । विद्यालयको वार्षिकोत्सव तथा स्वर्णमहोत्सवलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जितप्रकाश आलेले आवश्यकता अनुसार शिक्षा नीति परिमार्जन हुनुपर्ने बताएका छन् ।
‘समयसापेक्षरुपमा शिक्षा नीति परिवर्तन हुनुपर्छ’, मन्त्री आलेले भने, ‘पुरानै ढाँचामा चलेका सामुदायिक विद्यालयले विद्यार्थी आकर्षित गर्न सकेका छैनन् । आवश्यकता अनुसार शिक्षा नीति परिमार्जन हुनुपर्छ । देशभरका समुदायिक विद्यालयको अवस्था कमजोर बन्दै गइरहेकाले समयको माग अनुसार नै शैक्षिक तथा भौतिक पूर्वाधार बनाउनुपर्छ ।’
प्रदेश सरकारले स्रोत, साधनको अधिकतम परिचालन गरी जनताका आवश्यकता पूर्तिका लागि योजना ल्याएको बताउँदै मन्त्री आलेले भने, ‘विगतका बजेटमा भएका फजुल खर्च कटौती गरी अहिलेको बजेट प्रतिफल र उत्पादकत्व वृद्धि गराउने क्षेत्रमा बढी परिचालन गरेका छौँ । आगामी बजेटमा यसलाई अझै व्यवस्थित बनाउँदै लैजाने तयारी गरिरहेका छौँ । ‘योजना बैङ्क’ बनाएर संघ, प्रदेश र स्थानीय तहले सम्पन्न गर्ने योजना नदोहोरिने गरी काम अगाडि बढाउने छौं ।’
गण्डकी प्रदेशसभाका पूर्व सदस्य सरिता गुरुङले माहेन्द्रीमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न र सकारात्मक शैक्षिक वातावरण बनाउन सबैको भूमिका महत्त्वपूर्ण हुने बताइन् । संविधानसभा सदस्य रामचन्द्र पोख्रेलले माहेन्द्री यस क्षेत्रको अग्रणी शैक्षिक संस्था भएकाले यसको भौतिक संरचनासँगै शैक्षिक गुणस्तरका लागि सबैको एकता आवश्यक रहेको बताए ।
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले भौतिक सुधारमा उल्लेखनीय काम भएको बताए । अबका दिनमा शैक्षिक गुणस्तर हासिल गर्न सक्नु विद्यालयको प्रमुख चुनौतीका रुपमा देखिएको उनको भनाई थियो ।
‘स्वर्ण जयन्ती वर्षका रुपमा मनाउँदै एक वर्षसम्म विभिन्न कार्यक्रम आयोजना गरिने जनाइएको छ । आइतबार प्रारम्भ भएको स्वर्ण जयन्तीको कार्यक्रम विसं २०८१ पुस १ गते विशेष समारोहको आयोजना गरी सम्पन्न गरिने विद्यालयले जनाएको छ ।
स्वर्ण जयन्ती स्तम्भ शिलान्यास
कार्यक्रममा विद्यालयको स्वर्ण जयन्ती स्तम्भ शिलान्यास गरिएको छ । पूर्व विद्यार्थी समाजको सक्रियतामा निर्माण हुने उक्त स्तम्भको मन्त्री आलेले शिलान्यास गरेका छन् । विद्यालयमा विभिन्न समयमा अध्ययन गरेका विद्यार्थीहरुबाट आर्थिक सङ्कलन गरी स्वर्ण जयन्ती स्तम्भ निर्माण गर्न लागिएको पूर्व विद्यार्थी समाज माहेन्द्री माविका अध्यक्ष उद्धवराज कट्टेलले जानकारी दिए । उनका अनुसार समाजले विद्यालयको मूल प्रवेशद्वार निर्माणका लागि पनि सहयोग गर्नेछ ।
विद्यालयको प्रवेशद्वार साँघुरो र जीर्ण भएकाले यसको पुनःनिर्माणका लागि पूर्व विद्यार्थी समाजले सहयोग गर्ने कट्टेलले बताए । विद्यालयको इतिहास झल्किने गरी प्रकाशन गर्न लागिएको स्वर्ण महोत्सव स्मारिकाको सम्पूर्ण प्रकाशन खर्च पनि समाजले बेहार्ने उहाँले जानकारी दिए ।
प्रवेशद्वार निर्माण र स्मारिका प्रकाशनका लागि करिब रू १२ लाख लाग्ने अनुमान गरिएको अर्थ संकलन समितिका संयोजक भक्तबहादुर गोदारले जानकारी दिए । उनका अनुसार हालसम्म रू आठ लाख ८५ हजार सात सय ८५ संकलन भइसकेको छ ।
न्यौपाने परिवारद्वारा अक्षयकोष स्थापना
यस्तै, विद्यालय ५०औं वर्षमा प्रवेश गरेको अवसरमा आइतबार न्यौपाने परिवारले २ वटा अक्षयकोष स्थापना गरेका छन् । रुकमणि न्यौपानेको संरक्षकत्वमा १ लाख १ हजार १ सय रुपैयाँको युवराज रुकमणि न्यौपाने छात्रवृत्ति कोष स्थापना गरेका हुन् । राजेन्द्र न्यौपाने, महेन्द्र न्यौपाने र ज्ञानेन्द्र न्यौपानेले आफ्ना स्वर्गीय पीता युवराज न्यौपानेको स्मृतिमा सो अक्षयकोष स्थापना गरेका हुन् ।
त्यस्तै सोही परिवारबाट गंगा न्यौपाने छात्रवृत्ति कोष स्थापना गरिएको छ । राजेन्द्र न्यौपाने, शैलेन्द्र न्यौपाने र अटल न्यौपानेको संरक्षकत्वमा १ लाख १ हजार १ सय रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो ।
उनीहरुले अक्षयकोषको रकम बराबरको चेक सोही अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणदत्त पौडेललाई हस्तान्तरण गरेका थिए। विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार छात्राछात्रको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले आफु पढेकै विद्यालयमा अक्षयकोष स्थापना गरेको महेन्द्र न्यौपानेले बताए ।










