नेपालमा किशोरीवस्थाको प्रजनन दर उच्च : १५ देखि १९ वर्षका १४ प्रतिशत किशोरी गर्भवती !

काठमाडौं। नेपालमा किशोरीवस्थाको प्रजनन दर उच्च रहेको पाइएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार १५ देखि १९ वर्ष उमेर समूहका १४ प्रतिशत किशोरीहरू गर्भवती हुने गरेका छन् ।

यो उमेर समूहका १० प्रतिशतले बच्चा जन्माउने गरेको र २ प्रतिशतको गर्भपतन हुने गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।

किशोरी गर्भवती हुने दर मुस्लिम समुदायमा धेरै छ । १५-१९ वर्ष उमेरका २२ प्रतिशत मुस्लिम समुदायका किशोरी र २१ प्रतिशत दलित समुदायका किशोरी गर्भवती हुने गरेका छन् । सबैभन्दा कम ब्राम्हण/क्षेत्री समुदायका ८ प्रतिशत किशोरी गर्भवती हुने गरेका छन् ।

कर्णाली प्रदेशमा सबैभन्दा धेरै २१ प्रतिशत र बागमती प्रदेशमा सबैभन्दा कम ८ प्रतिशत किशोरी गर्भवती हुने गरेको सर्वेक्षणले देखाएकाे छ ।

१५ -१९ वर्ष समूहका ३ प्रतिशतको विवाह १५ वर्षकै उमेरमा हुने गरेको छ भने १ प्रतिशत १५ वर्षकै उमेरमा गर्भवती हुने गरेका छन् ।

नेपाली महिलाहरूले बढ्दो संख्यामा मातृ स्वास्थ्य सेवा लिने गरेको सर्वेक्षणले देखाएको छ । हाल ९४ प्रतिशत गर्भवती महिलाले दक्ष स्वास्थ्यकर्मी (डाक्टर, नर्स वा अनमी) बाट गर्भवती सेवा (बच्चा जन्माउनुअघिका जाँच) लिने गरेका छन् ।

सन् १९९६ को नेपाल परिवार स्वास्थ्य सर्वेक्षण अनुसार २५ प्रतिशत महिलाले मात्र दक्ष स्वास्थ्यकर्मीबाट गर्भवती सेवा लिने गरेका थिए ।

यस्तै, नेपालमा ५७ प्रतिशत विवाहित महिलाले परिवार नियोजनको साधन वा विधि प्रयोग गर्ने गरेको सर्वेक्षणले देखाएको छ । जसमध्ये ४३ प्रतिशतले आधुनिक परिवार नियोजनको साधन र १५ प्रतिशतले परम्परागत विधिको प्रयोग गर्छन् । महिला बन्ध्याकरण, डिपो र इप्लान्ट जस्ता आधुनिक परिवार नियोजनका साधन वा विधि नेपालमा सबैभन्दा बढी प्रयोग गर्छन् ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणमा नेपालले कुल प्रजनन् दरलाई २.१ मा घटाउने दिगो विकास लक्ष्य २०३० लाई पूरा गरेको छ । विगत साढे दुई दशकमा नेपालमा प्रजनन दर आधाले घटेको छ । सन् १९९६ मा प्रति महिलाले ५ बच्चा जन्माउने गरेकोमा सन् २०२२ मा प्रति महिला २.१ बच्चा जन्माउँछन् ।

यस्तै, पाँच वर्ष मुनिको बाल मृत्युदर पनि घटेको छ । सन् १९९६ मा ५ वर्ष मुनिका प्रति हजारमा जीवित जन्ममा ११८ मृत्यु हुने गरेकोमा हाल प्रति हजार जीवितमा ३३ को मृत्यु हुने गर्छ । दीर्घकालीन कुपोषणको एउटा संकेत पुड्कोपन वा उमेर अनुसार उचाइ कम हुनु हो ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार सन् १९९६ मा ५७ प्रतिशत रहेकोमा पुड्कोपन घटेर सन् २०२२ मा २५ प्रतिशतमा झरेको अनुसार सन् १९९६ मा ५७ प्रतिशत रहेकोमा पुड्कोपन घटेर सन् २०२२ मा २५ प्रतिशतमा झरेको छ ।

स्वास्थ्यका धेरै क्षेत्रको प्रगति भएको देखाए तापनि केही चुनौती रहेको सर्वेक्षणले औंल्याएको छ । नेपालमा ६ महिनामा भन्दा कम उमेरका शिशुलाई पूर्ण स्तनपान संख्या घट्दै गएको छ । सन् १९९६ मा ७५ प्रतिशत भएकोमा सन् २०२२ मा ५६ प्रतिशतमा झरेको छ । साथै नवजात शिशु दर पछिल्लो दशकमा प्रति हजार जीवित जन्ममा २१ जनाको मृत्यु हुन्छ ।

यस्तै, नेपालमा नियमित खोप नपाउने बालबालिकाको संख्या पनि बढ्दै गएको सर्वेक्षणले देखाउँछ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार कुनै पनि खोप नलगाएका एक प्रतिशत भएकोमा सन् २०२२ मा ४ प्रतिशत पुगेको छ ।

नेपालमा १५ वर्ष वा सोभन्दा माथिमा १८ प्रतिशत महिला र २३ प्रतिशत पुरुषलाई उच्च रक्तचाप समस्या रहेको सर्वेक्षणले देखाएको छ।

यस्तै, प्रति एक लाख व्यक्तिहरूमध्ये १४ जनाको मृत्यु सडक दुर्घटनाका कारणले हुने गर्छ। जसमध्ये सबैभन्दा बढी मृत्यु वा घाइते भएका ६८ प्रतिशत सडक दुर्घटना मोटरसाइकलको कारणले हुने गर्छ।

यस्तै, नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले १५ देखि ४९ वर्षका २२ प्रतिशत महिला र ११ प्रतिशत पुरुषले चिन्ताका लक्षण अनुभव गर्ने गर्छन्।

उक्त सर्वेक्षण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको हो। सर्वेक्षण १३ हजार ७८६ घरधुरीमा गरिएको थियो। जसमध्ये छनोटमा परेका १४ हजार ८४५ महिला र ४ हजार ९१३ पुरुषलाई अन्तर्वार्तामा समावेश गराइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker