आँबुखैरेनीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

तनहुँको आँबुखैरेनी गाउँपालिका–३ खत्रीटोलमा शुक्रबार राति मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
राति करिब ११:४५ बजे ग.२६ प.२२११ नम्बरको मोटरसाइकल खत्रीटोलबाट पृथ्वीराजमार्गतर्फ जाँदै गर्दा अनियन्त्रित भई घरको भित्तामा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देही बुटवल खैरहनी घर भई हाल आँबुखैरेनी गाउँपालिका–२ बसपार्क बस्ने २८ वर्षीय विजय तामाङको उपचारका क्रममा मृत्यु भएको हो।
मोटरसाइकल पछाडि सवार गोरखा शहीदलखन गाउँपालिका–९ घर भई हाल आँबुखैरेनी गाउँपालिका–३ बस्ने २२ वर्षीय बिप्लव गुरुङ गम्भीर घाइते भएका छन्। उनको बायाँ आँखामाथि चोट लाग्नुका साथै शरीरमा भित्री चोटहरू रहेका कारण चितवन मेडिकल कलेज (CMC) रिफर गरिएको प्रहरीले जनाएको छ।