सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

नारायण न्यौपाने/रासस

काठमाडौँ : बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र संस्कृतिबाट अनुशासित, कर्मठ र देशभक्त युवा जनशक्ति उत्पादनमा सेनाको व्यवस्थापनामा भइरहेको राष्ट्रिय सेवा दल (एनसिसी)बाट दिइने तालिम बढाउन र विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

देश निर्माणमा जुट्नुपर्ने होनहार युवाशक्ति आन्दोलन र सङ्घर्षका नाममा राष्ट्रका महत्त्वपूर्ण सम्पदा र धरोहर तोडफोड र जलाउने कार्य समेतमा अग्रसर भएपछि उनीहरूमा मुलुकप्रतिको कर्तव्य र राष्ट्रप्रेमको भावना जागृत तुल्याउन एनसिसी प्रशिक्षण जरुरी देखिएको हो ।

राष्ट्रिय सेवा दलका महानिर्देशक यामप्रसाद ढकाल नवयुवापुस्तालाई अनुशासित, बफादार र नेतृत्व लिन सक्ने देशभक्त र राष्ट्रप्रति समर्पित दक्ष जनशक्ति तयार गर्न सेवा दल अहोरात्र लागि परेको बताउनुहुन्छ ।

देश निर्माणका संवाहक युवापुस्तालाई मुलुकप्रति उत्तरदायी बनाउँदै अनुशासित र जिम्मेवार तुल्याउन प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाले भने ६ दशकदेखि बेग्लै संरचना खडा गरी ‘राष्ट्रिय सेवा दल’ मार्फत युवालाई तालिम प्रदान गर्दै आएको छ ।

राष्ट्रनिर्माण र विकासमा अनुशासित जनशक्ति उत्पादनका लागि नेपाल सरकारले विसं २०२२ मा राष्ट्रिय सेवा दल स्थापना गरी युवा विद्यार्थीलाई तालिम प्रदान गर्दै आएको छ । सेवा दलको आदर्श वाक्य ‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने छ ।

सुरुका वर्षमा काठमाडौँलाई आधार मानेर वार्षिक रूपमा ५०० जनालाई प्रदान गर्न थालिएको तालिम देशभर विस्तारसँगै सहभागीको सङ्ख्या बढाएर प्रतिवर्ष सात हजार ७१० जना पुर्‍याइएको छ ।

नेपालभरबाट माग भइआएका विद्यालयमा सेवा दलले तालिम प्रदान गर्दै आएको छ । महानिर्देशक ढकालका अनुसार प्रत्येक वर्ष यस तालिमको माग बढ्दो छ । एक हजारभन्दा बढी स्कुलले तालिम माग गरे पनि सेवा दलले २५७ वटा विद्यालयमा मात्र पुर्‍याउन सकेको छ । अनुशासित र तालिम प्राप्त जनशक्ति उत्पादन गर्न सरकारले यस तालिमलाई थप प्राथमिकताको सूचीमा राखेर सङ्ख्या बढाउन अपरिहार्य रहेको छ । सेवा दलले तालिमका लागि हरेक वर्ष भरसक फरक विद्यालयको छनोट गर्दै आएको छ ।

छनोटमा परेका प्रत्येक विद्यालयमा पुगेर सेवा दलले १५ जना छात्र र १५ छात्रालाई तालिम प्रदान गर्दै आएको छ । त्यस्तो तालिम देखेर मात्रै पनि सम्पूर्ण विद्यार्थीको मानसिकता परिवर्तन भएको सेवा दलको भनाइ छ ।

छिमेकी मुलुक भूटानले पनि नेपालकै जस्तो सेवा दलको तालिम दिएर स्काउट, स्वयम्सेवक दस्ता र जगेडा बलजस्ता जनशक्ति उत्पादन गरेको र अनुशासित जनशक्ति नभई राष्ट्र अघि बढ्न सक्दैन ।

तालिमपूर्व कुलतमा लागेका युवा पनि एनसिसीको प्रशिक्षणपछि असल मार्गमा फर्किएका छन् । विद्यालयस्तरका विद्यार्थीलाई राष्ट्र र राष्ट्रियताको भावना जगाउने असरदार कार्यक्रमका रूपमा पछिल्लो समय सेवा दलको प्रशिक्षण विस्तार भएको छ । सरकारले यसलाई प्राथमिकतामा राखेर वार्षिक रूपमा सङ्ख्या बढाउन आवश्यक रहेको र सेवा दलले सो सङ्ख्या बढाएर वार्षिक रूपमा ११ हजार ५०० पु¥याउनपर्ने आवश्यकता औँल्याएको छ ।

भारतमा यस किसिमको तालिम वार्षिक रूपमा २० लाखलाई दिने गरिएको छ । त्यहाँ सरकारी विद्यालयमा अध्ययनरत पिछडिएको क्षेत्र, विपन्न वर्ग, सीमान्तकृत समुदायका छात्रछात्रालाई प्राथमिकता दिइएको छ ।

एनसिसीको विद्यालयमा हुने तालिममा खुराकका रूपमा उपयुक्त आहारको समेत व्यवस्था गरेको छ । ७९ दिनको संस्थागतपछि २१ दिने सामूहिक तालिम दिइन्छ । मोरङको याङसिला, महोत्तरीको बर्दिबास, नवलपरासीको हात्तीखोर र बाँकेको कोहलपुरमा रहेका शिविरमा २१ दिने सामूहिक तालिम प्रदान गरिन्छ ।

उक्त तालिममा सहभागी प्रतिविद्यार्थीका लागि यातायात, पोसाक, खानासमेत गरी रु ३५ हजार खर्च लाग्ने सङ्गठनले जनाएको छ ।

तालिमका क्रममा उनीहरूलाई अनुशासन, राष्ट्रियता, इतिहास, भूगोल, परम्परा, संस्कृति, सम्पदासम्बन्धी ज्ञान दिलाउनाका साथै नेतृत्व विकास र सैनिक कलामा प्रशिक्षित तुल्याइँदै आइएको छ ।

स्थापनादेखि हालसम्म ८८ हजारभन्दा बढी युवाले सेवा दलको तालिम प्राप्त गरिसकेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो ।

त्यस्ता तालिम प्राप्त जनशक्ति स्वतःस्फूर्त रूपमा निःशुल्क स्वास्थ्य शिविर, बाढी, पहिरो, डुबान र भूकम्पजस्ता प्राकृतिक प्रकोप र विपद्पछिको खोज, उद्धार र राहत कार्यमा स्वतः परिचालित हुँदै आएको पाइन्छ ।

देशका पूर्वप्रधानमन्त्रीदेखि उच्च ओहदाका सरकारी अधिकारी, सुरक्षा फौजका उच्चअधिकृत, राजदूत, डाक्टर र इन्जिनियरले समेत उक्त तालिम प्राप्त गर्नुभएको छ ।

तालिममा सहभागीमध्येबाट प्रतिनिधिमूलक रूपमा सार्क राष्ट्रमा युवा अनुभव आदान–प्रदान कार्यक्रममार्फत तत्तत् देशको भूगोल, विकास सम्भावना, कला, साहित्य, प्रकृति र संस्कृतिबारे जानकारी गराइँदै आएको छ ।

तालिम लिएका व्यक्ति सम्मिलित अल्मुनाईमा जिल्ला, प्रदेश र केन्द्रमा क्रमशः कमिटी, सल्लाहकार समिति र संरक्षक समिति छ । त्यस्तो जनशक्तिलाई सुरक्षा फौजमा भर्ना छनोटमा समेत प्राथमिकतामा राखिनुपर्ने आवाजसमेत उठेको छ ।

विक्रम संवत् २००८ मा राष्ट्रिय सेवा दलको तालिम लिनुभएका डा बद्रीराज पाण्डेका अनुसार त्यसबेला नेपाली कांग्रेससमेत सम्मिलित अन्तरिम सरकार थियो । उहाँहरू त्रिचन्द्र कलेजमा आइएस्सीमा पढ्नुहुन्थ्यो । “तालिममा छनोट भएपछि गोदावरीमा लगेर आर्मीद्वारा तालिम गराइयो । तोकिएको पोसाक उपलब्ध भयो, कवाज खेलाइयो, विपद्का समयमा अनुशासन र नैतिकताको कसीमा रही परिचालित हुन सिकाइयो,” उहाँले स्मरण गर्नुभयो ।

उहाँ भन्नुहुन्छ, “आपत्कालीन अवस्थामा राष्ट्र र समाजलाई सहयोग पुर्‍याउन प्रेरित गर्ने सेवा दलका तालिमलाई अझै विस्तार गर्दै लैजानुपर्छ । नव युवापुस्तालाई राष्ट्रप्रेम र नैतिकवान् बनाउन आवश्यक छ, ‘चेनअफ कमान्ड’ र अनुशासनबिना राज्य अघि बढ्न सक्दैन ।”

अझ जेनजी आन्दोलनका क्रममा सिंहदरबार, सर्वाेच्च अदालत र सङ्घीय संसद् सहितका महत्वपूर्ण भवन र सम्पदामा भएको तोडफोड र आगजनीका घटनाले युवापुस्तालाई अनुशासित र देशप्रति समर्पित भावना जगाउन तालिम प्रशिक्षण विस्तारको आवश्यकता औँल्याइएको छ ।

युवालाई गलत बाटो रोज्न नदिने, अनुशासित र राज्यप्रति उत्तरदायी बनाउने दायित्व राज्यको भएकाले राष्ट्रिय सेवा दलको अवधारणा अघि बढाएर सञ्चालनको जिम्मेवारी भने सेनालाई दिइएको इतिहास छ ।

सेवा दलले विद्यालय तथा उच्च विद्यालयमा अध्यनरत छात्रछात्रालाई शिक्षाका साथै सैनिक तालिमको माध्यमबाट अनुशासन, स्वास्थ्य समाजसेवा, उद्धार कार्य, सामूहिक जिम्मेवारी तथा राष्ट्रियताको भावनाको विकास र अन्तरराष्ट्रिय भाइचारा अभिवृद्धि गराउने उद्देश्यले काम गरिरहेको छ ।

सेवा दलले २५७ विद्यालयमध्ये ३६ विद्यालयमा सिनियर डिभिजन र बाँकी विद्यालयका छात्रछात्रालाई जुनियर डिभिजनमा विभाजन गरी मङ्सिरदेखि माघसम्म वार्षिक रूपमा तालिम प्रदान गर्दै आएको छ ।

यस वर्षको जुनियर डिभिजनको तालिमको समापन यही पुस २९ गते हुँदैछ । सिनियर डिभिजनको दीक्षान्त कबाज आगामी माघ २० का लागि निर्धारण गरिएको छ । तालिमबाट महिला सशक्तिकरणका क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुग्दै आएको छ ।

तालिम दीक्षान्त कार्यक्रममा प्रधानमन्त्री, रक्षामन्त्री र प्रधानसेनापति प्रमुख अतिथिका रूपमा उपस्थित भई सम्बोधन गर्ने परम्पराले विद्यार्थीलाई उत्प्रेरित गर्ने सङ्गठनको विश्वास छ ।

महानिर्देशक ढकालका अनुसार नेपाली युवामा एनसिसी तालिमले सकारात्मक प्रभाव पार्दै आएको छ । राज्यलाई सङ्कट परेका अवस्थामा सशक्त फौज निर्माणमा यो तालिम महत्वपूर्ण साबित हुनेछ । देशलाई आवश्यक सशक्त, जुझारु, अनुशासित एवम् देशभक्त युवा जनशक्ति यसैबाट उत्पादन हुन्छ । तालिमको प्रभावकारिता र उपयोगिता आगामी दिनमा थप बढाउन सकिनेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker