घर आँगनमै स्वास्थ्य सेवा दिने व्यासको अभियान, ४० प्रतिशत महिलामा आङ खस्ने समस्या

सुनिता आचार्य (दमौली)

तनहुँको व्यास नगरपालिकाले नगरबासिलाई सहज रुपमा स्वास्थ्य उपचार सेवा प्रवाह गर्ने अभियान सञ्चालन गरेको छ । अभियान अन्तरगत नगरपालिकाले चार वटा वडामा सञ्चालित पाठेघर र पाठेघरको मुखको क्यान्सर सम्बन्धी शिविरबाट ४५७ महिला लाभान्वित भएका छन्। वडा नं. ८, ९, १० र ११ मा नगरपालिकाले सञ्चालन गरेको स्वास्थ्य शिविरमा महिलाहरुले उपचार सेवा लिएका हुन्।

आङ खस्ने समस्याका लागि ओमेन फर ओमेन नेदरल्याडको नेतृत्वमा, क्यान्सरसम्बन्धी परीक्षणका लागि नेपाल अष्ट्रिया क्यान्सर केयर फाउण्डेसनसँगको सहकार्य र सुनौलो नयाँ गोरेटो कृषि सहकारी संस्था र स्वदेशी नेपाल गोरखाको सहयोगमा नगरपालिकाले शिविर सञ्चालन गरेको हो ।

महिलामा हुने आङ खस्ने समस्याको पहिचान र निराकरणका साथै महिलाको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर भएका र हुने सम्भावित खतरामा रहेका महिलाको जाँच र उपचार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको ओमेन फर ओमेन नेदरल्याडका नेपाल प्रतिनिधि विश्वनाथ पौडेलले बताए ।

शिविरमा उपचार सेवा लिन आएका महिलाहरु । तस्विर : सुनिता/भञ्ज्याङ

पाठेघरको मुखको क्यान्सर हुने सम्भावना भएका महिलाले शिविरकै क्रममा उपचार पाएका छन। जसबाट उनीहरु भविष्यमा क्यान्सरको सिकार हुनपर्ने जोखिमबाट सुरक्षित भएको उनले बताए । परीक्षणका क्रममा शल्यक्रिया गर्नुपर्ने पहिचान भएकाहरुलाई काठमाडौँमा निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिने पौडेलले बताएका छन् ।

शिविरको पहिलो दिन वडा नं. ९ का १७२ जना महिलाले सेवा लिएका थिए । सो ठाउँमा परीक्षण गरिएकामध्ये ३१ प्रतिशत महिलामा आङ खस्ने समस्या देखिएको थियो । त्यस्तै वडा नं. ८ का ११५ जना महिलामा गरिएको परीक्षणमा ३२ प्रतिशत महिलामा समस्या देखिएको छ । वडा नं. १० का ८१ महिलामा गरिएको परीक्षणमा २५ प्रतिशत महिलामा आङ खस्ने समस्या पाइएको छ भने वडा नं. ११ मा ८९ जनामा गरिएको परीक्षणमा ४० प्रतिशतमा आङ खस्ने समस्या पाइएको आयोजकले जनाएको छ ।

शिविरमा भिआइए विधिबाट पाठेघरको मुखको क्यान्सरसम्बन्धी सम्भावनाको जाँच गर्दा भविष्यमा ८ देखि १० प्रतिशत महिलामा पछि गएर क्यान्सर हुनसक्ने सम्भावना देखिएकाले शिविरकै क्रममा उपचार गरिएको क्यान्सर रोग विशेषज्ञ आरती शाहले बताइन् ।

त्यस्तै ५० प्रतिशतभन्दा बढी महिलामा पानी बग्ने समस्या र करीब ३५ देखि ४० प्रतिशतमा आङ खस्ने समस्या देखिएको उनले बताइन् । आङ खस्ने समस्याको पहिलो चरणका महिलालाई औषधि आवश्यक नपर्ने भएकाले उनीहरुलाई व्यायाम गर्न सुझाव दिइएको स्टाफ नर्स सुमित्रा आचार्यले बताइन् ।

यस्तै दोस्रो चरणमा पुगेका महिलालाई पाठेघरको मुखमा रिङ राखेर उपचार गरिएको तथा तेस्रो र चौथो चरणमा पुगेका महिलालाई तत्कालका लागि औषधि र अन्य उपचार गरिएको छ । आङ खस्ने समस्याको तेस्रो र चौथो चरणमा रहेका महिलालाई एक महिनापछि काठमाडौको मनमोहन मेमोरियल अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने बताइएको छ ।

विगत १५ वर्षदेखि पाठेघरको समस्याबाट पीडित व्यास नगरपालिका-११ निवासी ८४ वर्षीया विष्णुमाया भुजेलले यतिका वर्षपछि उपचार पाउँदा खुशी लागेको बताएकी छन् । पाठेघरको समस्याको उपचारबारे थाहा नपाएर यतिका वर्ष पीडा सहेर बस्न बाध्य भएको बताउँदै उनले घरदैलोमै स्वास्थ्य सेवा पाउँदा खुशी लागेको बताइन् । स्वास्थ्य शिविरमा २ जना विशेषज्ञ डाक्टर सहित १६ जनाले सेवाप्रदान गरेको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker