राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि शुक्लागण्डकीले जित्यो

जिल्ला खेलकुद विकास समिति तनहुँले आयोजना गरेको १६औं जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गरेका व्यास र शुक्लागण्डकी नगरपालिकाका विद्यार्थी खेलाडीहरु ।
प्रतियोगितामा कूल १८ पदक जित्दै शुक्लागण्डकी नगरपालिकाले रनिङशिल्डको उपाधि जितेको छ । शुक्लागण्डकी नगरपालिकाले आठ स्वर्ण, छ रजत र चार कास्य पदक जितेको छ ।

त्यस्तै व्यास नगरपालिका २० पदक जित्दै द्वितीय भएको छ । व्यास नगरपालिकाले आठ स्वर्ण, पाँच रजत र सात कास्य पदक जितेको छ । बन्दीपुर गाउँपालिका तीन स्वर्ण, दुई रजत जित्दै तृतीय भएको छ ।
प्रथम हुने शुक्लागण्डकी नगरपालिकालाई रनिङशिल्ड, ट्रफी प्रदान गरिएको छ भने द्वितीय र तृतीय हुने क्रमशः व्यास र बन्दीपुरलाई ट्रफी प्रदान गरिएको छ । विजेतालाई व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डे लगायतले पुरस्कार वितरण गरेका थिए ।

शनिबारदेखि सुरु प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, कराँते लगायतका खेल सञ्चालन गरिएको थियो । तस्विर : भञ्ज्याङ










