बीमाको औषधि खरीदमा समस्या
रासस (दमौली)
शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई बीमा वापतको एक करोड रुपैयाँ भुक्तानी नहुँदा औषधि खरिदमा समस्या भएको छ । बीमा गरेका र्सवसाधारणले उपचार केन्द्रबाट निःशुल्क औषधि पाए पनि उक्त बापतको रकम अस्पताललाई प्राप्त नहुँदा अस्पतालले औषधि खरिद गर्न नसकेको हो ।
अस्पतालको आम्दानीको स्रोत नभएको र बीमा वापतको औषधिको एक करोड रुपैयाँ विगत छ महिनादेखि प्राप्त हुन नसकेको उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले बताए । अस्पतालमा औषधि अभाव हुन नदिन छिट्टै रकम भुक्तानी गरिदिन उनले आग्रह गरे ।
उपचार केन्द्रले फार्मेसीलाई नै औषधिवापतको ८० लाख रुपैयाँ भन्दा बढी भुक्तानी दिन बाँकी छ । औषधि सप्लायर्सलाई औषधि पठाउन आग्रह गरे पनि पहिलेकै भुक्तानी बाँकी भएकाले सप्लायर्सले पनि औषधि पठाउन मानेको छैन ।
अस्पतालमा दैनिक दुइ सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये ९० प्रतिशत बीमा गरेका बिरामी आउँछन् । अस्पतालमा शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासीका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन् ।
पचास श्ययाको अस्पतालमा सवारी दुर्घटनाका घाइतेका अलावा झाडापखला, टाइफाइड, ज्वरो, ग्याष्ट्रिक, पेटसम्बन्धी र हाडजोर्नीका बिरामी नियमित आउने गरेका छन् । दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रुपमा स्थापना गर्न सरकारले केही वर्षअघि पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाका नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोही अनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा ७४० रोपनी जग्गा उपचार केन्द्रका नाममा प्रदान भइसकेको छ ।
अस्पतालमा तीन विशेषज्ञ र नौ मेडिकल अधिकृत कार्यरत छन् । अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गरिरहेको छ । त्यसबाहेक अस्पतालले केही दिन अगाडिबाट मात्र कल्चर सेवा पनि शुरु गरेको छ। अस्पतालले बिहान १०ः०० देखि ४:०० बजेसम्म ओपिडी सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा, ल्याव, भिडियो एक्सरे सेवा, माइनर अप्रेशनलगायतका सेवा दिइरहेको छ ।
मेजर अप्रेशन र पाँच श्ययाको सघन उपचार कक्ष सञ्चालनको तयारी गरिएको कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिनुभयो । अस्पतालको थप सुधार र विकासका लागि गुरुयोजना पनि बनाइएको छ। गुरुयोजना निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको अस्पताल सञ्चालक समितिका सदस्य राम भण्डारीले जानकारी दिनुभयो । ‘गुणस्तरीय सेवा प्रवाहका लागि उपचार केन्द्रलाई पूर्वाधार अभाव पनि छ, सेवा सुविधा विस्तारका लागि स्वास्थ्य मन्त्रालयसँग पनि समन्वय भइरहेको छ’, भण्डारीले भन्नुभयो ।










