आँबुखैरेनीको नीति तथा कार्यक्रम : ‘सुखी र समृद्ध पालिका’ निर्माणको दीर्घकालीन रोडम्याप

पर्यटन, स्वास्थ्य, कृषिदेखि रोजगारीसम्म प्राथमिकता

आँबुखैरेनी : आर्थिक वर्ष २०८३/०८४ का लागि पर्यटन, कृषि, स्वास्थ्य, शिक्षा, रोजगारी र पूर्वाधार विकासलाई केन्द्रमा राख्दै २२ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । ‘पर्यटन, कृषि, उद्यम र पूर्वाधार : सुखी र समृद्ध आँबुखैरेनीको आधार’ भन्ने मूल नारालाई आत्मसात् गर्दै गाउँपालिकाले नागरिकको जीवनस्तर उकास्ने लक्ष्यसहित महत्वाकांक्षी योजना अघि सारेको हो ।

बुधबार आयोजित गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा आँबुखैरेनी अस्पतालको सेवा विस्तार, नयाँ आधारभूत स्वास्थ्य केन्द्र स्थापना, विपन्न नागरिकका लागि विशेषज्ञ उपचार निःशुल्क उपलब्ध गराउने व्यवस्था र सम्पूर्ण चेपाङ परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले व्यहोर्ने कार्यक्रम समावेश गरिएको छ । योग तथा ध्यानमार्फत शारीरिक र मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने अभियानलाई समेत प्राथमिकता दिइएको छ ।

शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने, स्मार्ट बोर्ड, विज्ञान तथा कम्प्युटर प्रयोगशाला विस्तार गर्ने, शिक्षक क्षमता विकास र छात्रवृत्ति कार्यक्रमलाई थप प्रभावकारी बनाउने योजना सार्वजनिक गरिएको छ । आँबुखैरेनी क्याम्पसमा उच्च तहको अध्ययन विस्तार तथा स्वास्थ्य विज्ञानसहितको बहुप्राविधिक शिक्षालय स्थापनाका लागि आवश्यक पहल गर्ने गरी नीति तथा कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी गराए ।

‘कृषि क्षेत्रलाई उत्पादनमुखी बनाउने उद्देश्यले वास्तविक किसानलाई उत्पादनको आधारमा अनुदान उपलब्ध गराइने नीति लिइएको छ’, अध्यक्ष चुमानले भने, ‘दूध, मास, फापरलगायत उत्पादनमा दिइँदै आएको प्रोत्साहनलाई निरन्तरता दिइने र हरेक वडामा खसीबोका संकलन केन्द्र स्थापना गरी मासु उत्पादनमा समेत अनुदान उपलब्ध गराउने योजना समेटिएको छ । कृषि तथा पशु बीमा कार्यक्रम पालिकाभर विस्तार गरी किसानको लगानी सुरक्षित गर्ने लक्ष्य राखिएको छ ।’

पर्यटन प्रवर्द्धनतर्फ छिम्केश्वरी, आँधीमूल, ऐना पहरा, अकला मन्दिर, चमेरो गुफा, अक्लाङ पार्कलगायत सम्भावित पर्यटकीय क्षेत्रको विकास र डिजिटल माध्यमबाट प्रचारप्रसार गरी यसमार्फत स्थानीय युवालाई स्वरोजगारसँग जोड्ने रणनीति अघि सारिएको अध्यक्ष चुमानले बताए ।

नीति तथा कार्यक्रममा सडक कालोपत्रे, ‘एक घर–एक धारा’ अभियान, सिँचाइ विस्तार, भूमि प्रशासन सेवा गाउँपालिकाबाटै सञ्चालन गर्ने तयारी, भूमिहीनलाई लालपुर्जा वितरण प्रक्रियामा तीव्रता, जेष्ठ नागरिकका लागि घरमै स्वास्थ्य परीक्षण, अपाङ्गता भएका व्यक्तिका लागि सीप विकास तथा उद्यम कार्यक्रम, सामाजिक विभेद र हिंसाविरुद्ध सचेतना अभियान, डिजिटल कर प्रणाली र फोहोरको वैज्ञानिक व्यवस्थापनजस्ता विषयलाई पनि समेटिएको छ ।

वन तथा वातावरण संरक्षण, विपद् व्यवस्थापन, आगलागी नियन्त्रणका पूर्वतयारी, सामुदायिक वनसँग सहकार्य र बहुसांस्कृतिक सम्पदाको संरक्षणलाई समेत प्राथमिकतामा राखिएको नीति तथा कार्यक्रमले स्थानीय स्रोत, सम्भावना र जनसहभागितामार्फत समृद्ध आँबुखैरेनी निर्माण गर्ने लक्ष्य अघि सारेको छ ।

गाउँसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा स्थानीय सरकारलाई नागरिकको सबैभन्दा नजिकको सेवा प्रदायक संस्थाका रूपमा स्थापित गर्दै गुणस्तरीय स्वास्थ्य सेवा, प्रविधिमैत्री शिक्षा, उत्पादनमुखी कृषि, रोजगारी सिर्जना, सामाजिक न्याय र दिगो पूर्वाधार विकासलाई विशेष जोड दिइएको छ ।

स्वास्थ्य सेवालाई थप सुदृढ बनाइने

पालिकाले आँबुखैरेनी अस्पतालको सेवा विस्तार गर्दै आवश्यक भौतिक पूर्वाधार, आधुनिक उपकरण र जनशक्तिको व्यवस्थापन गर्ने योजना अघि सारेको छ। वडा नम्बर ६ को पुर्लग क्षेत्रमा नयाँ आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिनेछ भने विद्यमान स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य केन्द्रहरूको सेवा थप व्यवस्थित बनाइने भएको छ ।

विपन्न नागरिकलाई विशेषज्ञसहितको उपचार निःशुल्क उपलब्ध गराउने व्यवस्था निरन्तर रहने, सम्पूर्ण चेपाङ परिवारको स्वास्थ्य बीमा गाउँपालिकाबाट गरिने तथा योग–ध्यान कार्यक्रममार्फत शारीरिक र मानसिक स्वास्थ्य प्रवद्र्धन गर्ने लक्ष्य पनि कार्यक्रममा समेटिएको छ ।

प्रविधिमैत्री विद्यालय र उच्च शिक्षामा जोड

सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानलाई निरन्तरता दिँदै कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, स्मार्ट बोर्ड र उच्च गतिको इन्टरनेट विस्तार गरिनेछ। शिक्षक क्षमता अभिवृद्धि, प्रोत्साहन कार्यक्रम तथा प्रधानाध्यापक प्रोत्साहनलाई पनि निरन्तरता दिइने उल्लेख छ ।

विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति कोष विस्तार गरिने, संस्थागत र सामुदायिक विद्यालयबीच सहकार्य बढाइने तथा गाउँपालिकाको एक मात्र उच्च शिक्षालय आँबुखैरेनी क्याम्पसलाई गुणस्तर अभिवृद्धि गर्दै स्नातकोत्तर तह सञ्चालनका लागि बजेट व्यवस्था गरिने योजना रहेको छ। साथै स्वास्थ्य विज्ञानसहितको बहुप्राविधिक शिक्षालय स्थापनाका लागि सम्बन्धित निकायसँग सहकार्य गरिनेछ ।

खेलकुद पूर्वाधार विस्तार

युवालाई खेलकुदतर्फ आकर्षित गर्न पालिकास्तरीय प्रतियोगिता सञ्चालन, मार्कीचोक रंगशालाको स्तरोन्नति, शहरी क्षेत्रमा खुला व्यायामशाला स्थापना तथा निर्माणाधीन कभर्ड हल चालु आर्थिक वर्षमै सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

पर्यटनलाई रोजगारीसँग जोड्ने रणनीति

धार्मिक, प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमार्फत पर्यटन विस्तार गरी स्थानीय युवालाई रोजगारीसँग जोड्ने नीति अवलम्बन गरिएको छ । छिम्केश्वरी, आँधीमूल, ऐना पहरा, पर्यटकीय गाउँ, अकला मन्दिर लगायतका क्षेत्रको पूर्वाधार विकासलाई निरन्तरता दिइनेछ । चमेरो गुफा, अक्लाङ पार्क र ऐतिहासिक चौताराजस्ता सम्भावित पर्यटकीय गन्तव्यको विकास गरिने तथा डिजिटल प्लेटफर्ममार्फत पर्यटन प्रवर्द्धनमा स्थानीय युवालाई सहभागी गराई स्वरोजगारका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ ।

उत्पादनको आधारमा कृषि अनुदान

कृषि क्षेत्रमा ‘वास्तविक किसानले मात्रै अनुदान’ भन्ने अवधारणालाई कार्यान्वयन गर्ने नीति लिइएको छ । उत्पादनको आधारमा प्रोत्साहन उपलब्ध गराइने, दूधमा प्रतिलिटर अनुदान वृद्धि गरिने तथा मास, फापरजस्ता बालीमा प्रतिकिलो अनुदानलाई निरन्तरता दिइने भएको छ । हरेक वडामा खसीबोका संकलन केन्द्र स्थापना गरी मासु उत्पादनमा समेत प्रतिकिलो प्रोत्साहन उपलब्ध गराउने योजना रहेको छ । कृषि तथा पशु बीमा कार्यक्रमलाई पालिकाभर विस्तार गरी किसानको लगानी सुरक्षित गर्ने नीति पनि कार्यक्रममा समेटिएको छ ।

पशुपालन सुधारका नयाँ कार्यक्रम

पशुमा देखिने बाँझोपन समस्या समाधानका लागि विशेष शिविर सञ्चालन, पशु सेवा क्लिनिक स्थापना तथा निःशुल्क कृत्रिम गर्भाधान सेवा उपलब्ध गराउने योजना ल्याइएको छ । यसबाट पशुधनको उत्पादकत्व वृद्धि हुने अपेक्षा गरिएको छ ।

स्मार्ट र सुरक्षित बस्ती निर्माण

पृथ्वी राजमार्ग आसपासका बजार तथा बस्तीमा सडक बत्ती र सिसिटिभी जडानलाई प्राथमिकता दिइनेछ । स्थानीय टोल विकास संस्था, प्रहरी र सरोकारवालासँग सहकार्य गरी सुरक्षित र व्यवस्थित शहरी वातावरण निर्माण गर्ने लक्ष्य राखिएको छ ।

भूमि प्रशासन गाउँपालिकाबाटै

नागरिकलाई जग्गासम्बन्धी सेवा सहज बनाउन गाउँपालिकाबाटै भूमि प्रशासन सेवा सञ्चालन गर्ने तयारी गरिनेछ । आवश्यक जनशक्ति र पूर्वाधार व्यवस्थापन गरी संघीय सरकारसँग समन्वय गरेर सेवा विस्तार गर्ने नीति लिइएको छ । भूमिहीन सुकुम्बासी, दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या समाधानलाई पनि प्राथमिकता दिइएको छ । नापजाँच र प्रमाणिकरणका बाँकी प्रक्रिया पूरा गरी थप लाभग्राहीलाई लालपुर्जा वितरणका लागि सम्बन्धित निकायसँग समन्वय गरिनेछ ।

सडक, खानेपानी र सिँचाइ विस्तार

मुख्य सडकको कालोपत्रे तथा ढलान, अधुरा सडक सम्पन्न गर्ने, ग्रामीण क्षेत्रमा ‘एक घर–एक धारा’ अभियानलाई निरन्तरता दिने तथा खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने नीति समावेश गरिएको छ । शहरी क्षेत्रमा खानेपानी उपभोक्ता समितिसँग सहकार्य गरी न्यूनतम खानेपानी महसुल निःशुल्क बनाउने लक्ष्य पनि अघि सारिएको छ ।

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई विशेष प्राथमिकता

बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारी पूरा गरिने, ज्येष्ठ नागरिकका लागि ‘घर आँगनमै डाक्टर’ कार्यक्रम सञ्चालन गरी नियमित स्वास्थ्य परीक्षण गरिने तथा अपाङ्गता भएका व्यक्तिका लागि सीप विकास र उद्यमशीलता कार्यक्रम सञ्चालन गरिने भएको छ।

सामाजिक विकृति नियन्त्रणमा जोड

जातीय विभेद, छुवाछुत, लैङ्गिक हिंसा, घरेलु हिंसा, बालविवाह, लागुऔषध दुव्र्यसन र साइबर अपराधविरुद्ध विद्यालय तथा समुदायस्तरमा सचेतनामूलक अभियान सञ्चालन गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

सीप विकास र स्वदेशमै उद्यम

गाउँपालिकाले छुट्टै सीप विकास शाखा स्थापना गरी आर्थिक वर्ष २०८३/८४ लाई ‘सीप विकास वर्ष’ का रूपमा मनाउने घोषणा गरेको छ। विदेशबाट सीप सिकेर फर्किएका वा स्वदेशमै रहेका युवालाई कानुनी तथा वित्तीय सहजीकरणमार्फत उद्यम स्थापना गर्न सहयोग गर्ने योजना पनि समेटिएको छ ।

डिजिटल कर प्रणाली र फोहोर व्यवस्थापन

राजस्व सुधार अभियान अन्तर्गत घरमै बसेर कर तिर्न सकिने डिजिटल प्रणाली विकास गरिनेछ । फोहोर व्यवस्थापनमा स्रोतमै वर्गीकरण गरी कुहिने फोहोरबाट कम्पोस्ट मल उत्पादन गर्ने र नकुहिने फोहोरको वैज्ञानिक व्यवस्थापन गरिने नीति लिइएको छ ।

वन, वातावरण र विपद् व्यवस्थापन

सामुदायिक वनसँग साझेदारी गरी वन संरक्षण, सीप विकास र गरिबी न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिनेछन् । विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आगलागी नियन्त्रणका पूर्वतयारी, फायर हाइड्रेन्ट तथा आवश्यक उपकरण व्यवस्थापनमा जोड दिइएको छ ।

सम्पदा र बहुसांस्कृतिक पहिचान संरक्षण

आदिवासी जनजाति, दलित, खस आर्य, मुस्लिम तथा क्रिश्चियन समुदायका सांस्कृतिक सम्पदा संरक्षणका कार्यक्रम सञ्चालन गरिनेछन् । परम्परागत बाजागाजा, भजन संस्कृतिको संरक्षण र आदिवासी बहुसांस्कृतिक संग्रहालय निर्माणलाई निरन्तरता दिइने नीति पनि समावेश छ ।

आँबुखैरेनी गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले आधारभूत सेवा प्रवाहलाई प्रभावकारी बनाउने, स्थानीय उत्पादन र पर्यटनमार्फत आर्थिक गतिविधि बढाउने तथा शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा नागरिकको पहुँच विस्तार गर्ने स्पष्ट रणनीति प्रस्तुत गरेको देखिन्छ । उत्पादनमुखी कृषि, सीप विकास, डिजिटल सेवा, सामाजिक समावेशिता र दिगो पूर्वाधार विकासलाई एकैसाथ अघि बढाउने प्रयासले आगामी वर्षमा स्थानीय शासन र विकासको नयाँ दिशा तय गर्ने अपेक्षा गरिएको छ ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker