भानु जन्मस्थलमा बालन नाच संरक्षणका लागि ‘भानु बालन तथा भजन समूह’

तनहुँ : ओझेलमा परेको भानु जन्मस्थलको प्रचारमा नयाँ आयाम थप्न यहाँका ब्राह्मण लोपोन्मुख बालन नाच संरक्षणमा जुटेका छन् । बालन नाचका माध्यमबाट यहाँका ब्राह्मणले रामायणको गाथा व्यक्त गर्दै भानुभक्तको योगदानका बारेमा समेत चर्चा गर्दै आएका छन् ।

रामायणलाई नेपालीमा उल्था गर्ने भानुभक्त आचार्यको प्रचारप्रसारमा टेवा पु¥याउन आफूहरुले बालन नाचलाई संरक्षण गर्ने अभियान थालेको भानु नगरपालिका–५ का बालन नाचका गुरु ७२ वर्षीय तारानाथ पोखरेलले बताउनुभयो । आफूहरु १२ जना सङ्गठित भई ‘भानु बालन तथा भजन समूह’ दर्ता गरी बालन नाच संरक्षणका लागि जुटेको बालन नाचका गुरु पोखरेलले बताउनुभयो ।

“भानु जन्मिएकै ठाउँमा बालन नाच नाच्दैनन् रे भन्दा कस्तो सन्देश जाला भन्ने कुराले हामीलाई मनैदेखि छोयो”, उहाँले भन्नुभयो, “बालन नाचबाट रामायणको गाथा र भानुभक्तका बारेमा समेत चर्चा गर्न आवश्यक ठानेर नाच्न सुरु ग¥यौँ ।”

आफूले युवा अवस्थामा नाचेको बालननाचलाई स्मरण गर्दै गाउँका ब्राम्हणलाई नाच्न सिकाएको पोखरेलको भनाइ छ । बालन नाच्दा रामायण, महाभारत, पुराण, रामचरित्र र कृष्ण चरित्रका बारेमा गीतबाट गाथा गाइने भए पनि भानुभक्त जन्मिएको गाउँका आफूहरुले रामचरित्र र रामायण गाथालाई उजागर गर्दै आएको पोखरेलले बताउनुभयो ।

धेरै वर्ष पहिले नाचेर छाडिएको बालननाचलाई आफूहरुले २०६८ सालदेखि पुनःनाच्न थालेको समूहका अध्यक्ष ७३ वर्षीय महाप्रसाद न्यौपानेले जानकारी दिनुभयो । बालन नाच्दा र गाउँदा आफूहरुले दौरा, सुरुवाल, इष्टकोट र भानुभक्तले लगाउने विर्के टोपी अनिवार्य लगाउने गरिएकाले नाचको थप शोभा बढेको अध्यक्ष न्यौपानेले बताउनुभयो ।

“बालन नाच्दा भानुभक्तको टोपी अनिवार्य लगाउने गरेका छौँ”, उहाँले भन्नुभयो, “यस्तो पोशाक लगाएर रामायणको गाथामा नाच्दा दर्शकलाई समेत रोचकता थप्ने रहेछ । अझै यो नाचलाई भानु जन्मस्थलकै गरिमाका रुपमा विकास गर्न हामी अग्रसर भइरहेका छौँ ।” बालन नाच संरक्षणमा भानु नगरपालिकाको कार्यालयलेसमेत चासो देखाएपछि आफूहरुलाई थप हौसला जागेको उहाँले बताउनुभयो ।

भानु–५ का वामदेव मिश्र, जयकाली ढकाल, ऋदय पौडेल, लक्ष्मीप्रसाद सापकोटा, गोविन्द अधिकारी, श्रीभद्र पौडेल, प्रेमहरि पौडेललगायत बालन संरक्षणमा जुट्दै आउनुभएको छ । युवापुस्तालाई नाच्न सिकाउने समूहको लक्ष्य भए पनि वैदेशिक रोजगारीका कारण युवाहरु विदेश गएकाले अधिकांशलाई सिकाउन नसकिएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

“हामीले बालन नाचलाई जीवन्त राख्नुपर्छ भनेर संरक्षणमा जुटेका छौँ”, समूहका सदस्य राजु पोखरेलले भन्नुभयो, “हामीले नाच्न जानिसकेका छौँ । तर गुरुले गाए झैँ गाउन भने केही समय लाग्ला । अब बालन नाचको नशा लागिसकेको छ । यो नाचलाई त्यसै मर्न दिने छैनौँ ।”

विदेशबाट गाउँ आउने युवालाई समेत आफूहरुले बालन नाच्न सिकाउने गरेको उहाँले बताउनुभयो । बालन नाच्नका लागि जिल्लाको विभिन्न स्थानमा यो समूह गइसकेको छ । बालन नाच्दा आफूहरुले दर्शकबाट उत्साह र हौसला पाउने गरेकाले पनि संरक्षण गर्नुपर्ने बोध भएको पोखरेलको भनाइ छ ।

बालन, पाउदुरे, सोरठी, चुड्का र घाँटु लगायतको लोपोन्मुख नाच संरक्षणका लागि नगरपालिकाको कार्यालयले सहयोग गर्दै आएको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताउनुभयो ।

“विभिन्न जातीय संस्कृतिलाई संरक्षण गर्ने दायित्व राज्यको हो”, उहाँले भन्नुभयो, “बालन नाचले भानुभक्त आचार्यको महिमालाई उजागर गरेको छ ।”

बालन नाच्ने समूहलाई ‘गर्रा’ भनिन्छ । गर्रा मध्येबाटै श्लोक भट्याउनेलाई ‘गुरु’ भनिन्छ । गुरुको नेतृत्वमा गर्राहरुले आफूलाई प्रस्तुत गर्नुपर्छ । गुरुले भनेका श्लोकलाई चार÷चार जनाको समूहमा विभाजन भई ब्राह्मणले पुनःश्लोक भट्याउँदै हात र खुट्टाको तालसमेत मिलाउँदै पालैपालो नाच्ने गर्छन् । बालन नाच्नेले आफूहरुलाई चरित्रअनुसारको अभिनयमा प्रस्तुत गर्ने गर्दा बालन नाच हेर्ने दर्शकलाई अनौठो र रोचक लाग्ने गर्दछ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker