गण्डकी प्रदेश सरकारले तनहुँको गणपतिमा प्रदेशस्तरीय क्रिकेट रंगशाला निर्माण गर्ने

गण्डकी प्रदेश सरकारले प्रदेशका दुइ जिल्लामा प्रादेशिक क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ । गण्डकी प्रदेश सरकारको मन्त्री परिषदको चैत ९ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले नवलपुरको कावासोती नगरपालिका वडा नं २ नवदुर्गा खेल मैदान र तनहुँ शुक्लागण्डकी वडा नं. ८ गाउँफर्कोदय माविको खेल मैदानलाई प्रदेशस्तरीय क्रिकेट खेल मैदान निर्माण गर्ने निर्णय गरेको प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिएका छन् ।
प्रादेशिकस्तरीय क्रिकेट रंगशाला र एक अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढाउन परिषदले जिल्लाका विभिन्न ६ स्थानका लागि प्रदेश सरकारलाई सिफारिश गरेको बताउँदै सदस्य सचिव शर्माले भने, ‘समिति नै गठन गरेर अध्ययन गरेका थियौं । सोही अध्ययनको आधारमा सरकारले दुइ स्थानमा प्रदेशस्तरीय रंगशाला निर्माण हुने गरी मन्त्रिपरिषदले निर्णय गरेको छ ।’
प्रादेशिकस्तरीय क्रिकेट रंगशाला निर्माणका लागि एक रंगशालाबाटको अर्को रंगशालाको दुरी कम्तीमा ४० किमि भित्र हुुनुपर्ने प्रावधान अनुसार नवलपुरको कावासोतीस्थित नवदुर्गा खेल मैदान नेपालकै गौरवको अन्तर्राष्ट्रिय गौतमवुद्ध क्रिकेट रंगशालाबाट ४० किमिभित्र पर्ने भएकोले पनि उक्त स्थानमा प्रादेशिक क्रिकेट रंगशाला उपयुक्त हुने गरी मन्त्री परिषदले निर्णय गरेको सदस्य सचिव शर्माले बताए । ‘गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि पनि नजिकमा पर्ने अर्को रंगशाला आवश्यक पर्छ । सबै कुराले कावासोती उपयुक्त पनि छ’, सदस्य सचिव शर्माले भने ।
त्यसै गरी शुक्लागण्डकीको गाउँफर्कोदय मावीको खेल मैदान समेत पोखरा क्रिकेट रंगशालाबाट ४० किमि भित्रै पर्ने भएकोले उक्त स्थान समेत क्रिकेट मैदान निर्माणका लागि मन्त्री परिषदले निर्णय गरेको सदस्य सचिब शर्माले जानकारी दिए। प्रदेश सरकारले क्रिकेट मैदान निर्माणका लागि यो वर्षको विनियोजित ४० लाख रुपैयाँ सोही मैदान निर्माण प्रक्रियाका लागि अघि बढाउने जनाएको छ ।
यसअघि शुक्लागण्डकी नगरपालिकाले पनि नगरस्तरीय रंगशालाको रुपमा विका गर्न रङ्गशालाको निर्माण घोषणा गर्दै रङ्गशालाको डिपिआर समेत तयार पारेको थियो । शुक्लागण्डकी नगरपालिकाले रङ्गशाला निर्माणलाई लक्षित गरेर बाटो सुधारका लागि भन्दै १५ लाख बजेट विनियोजन गरेको थियो। रङ्गशालाभित्र फुटबल मैदान, कभर्डहल, पार्किङ, चमेना गृह, टिकट काउण्टर, प्रशासनिक भवन लगायत निर्माण गरिने बताइएको थियो । साथै रङ्गशाला निर्माणका लागि करीब २० करोड बजेट आवश्यक पर्ने नगरपालिकाले अनुमान गरेको थियो।
‘यस् दुबै स्थान प्रादेशिक क्रिकेटका लागि उपयुक्त छन्,’ सदस्य सचिव शर्माले भने, ‘कावासोतीका लागि त्यहाँको नगरपालिकाले २ सय रोपनी जग्गाका लागि स्वीकृत दिएको छ भने शुक्लागण्डकीका लागि गाउँफर्कोदय माविको स्वामित्वमा रहेको करिव १७३ रोपनी जग्गाको समेत स्वीकृति प्राप्त भएको छ ।’
परिषदले कार्यकारी सदस्य ऋषीराम गौतमको संयोजकत्वमा परिषदका कार्यकारी सदस्य तारामायाँ थापा मगर, सदस्यहरु केशव पाठक र विष्णुमाया गुरुङ, कार्यालय प्रमुख तोपलाल भुसाल र लेखा प्रमुख निलकण्ठ ढकालसहितको क्रिकेट रंगशाला सम्भव्यता अध्ययन टोली गठन गरेको थियो ।
टोलीले जिल्लाका विभिन्न स्थलको अध्ययन अवलोकनसँगै स्थानीय सरोकारवालाहरु संग समेत छलफल गरी पोखरा महानगरपालिका वडा नं १४ भेडीर्फममा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला र अन्य पाँच स्थानमा प्रादेशिक क्रिकेट रंगशाला निर्माणका लागि सिफारिस गरेको थियो ।










