तनहुँका १० वटै पालिकामा एम्बुलेन्स तयारी अवस्थामा
रासस/तनहुँ

जिल्लाका दशवटै स्थानीय पालिकाले कोभिड-१९ को जोखिमलाई ध्यान दिँदै एम्बुलेन्स तयारी अवस्थामा राखेका छन् । कोरोनाको दोस्रो लहरको संक्रमण पुनः फैलिन थालेपछि उच्च र्सतर्कता अपनाउँदै यहाँका चार नगरपालिका र छ गाउँपालिकाले करोना नियन्त्रणमा उच्च प्राथमिता दिएका हुन् । हाल तनहुँ उद्योग वाणिज्य संघ, दमौली बजार इकाईले प्रदान गरेको एम्बुलेन्सबाट व्यास नगरपालिकाले सेवा प्रवाह गर्दै आएको छ ।
अधिकांश पालिकाकाले आफैले एम्बुलेन्स खरिद गरेका छन् भने कुनैले एम्बुलेन्स सञ्चालकसँग सम्झौता गरी तयारी अवस्थामा राखेका हुन्। व्यासले नयाँ एम्बुलेन्स खरीदका लागि अग्रीम रकम भुक्तानी गरेको चार महिना बित्न लाग्दा पनि एम्बुलेन्स ल्याउन सकेको छैन । खरीदको लागि गत माघ महिनामा रु. १० लाख पचास हजार बिनियोजन गरेको थियो ।
बतास कम्पनीसँग सम्झौता गरेर पैसा पठाएपनि कोभिडको समयमा सञ्चालनमा ल्याउन समस्या हुने देखिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । नगरपालिकाले एम्बुलेन्स पठाइदिनका चार/पाँच पटक दैनिक फोन सम्पर्क गरिरहेको र कम्पनीले पठाइदिन्छु भन्दै ढिलासुस्ती गरेको उहाँले बताउनुभयो ।
नयाँ एम्बुलेन्स आएपछि पुरानो एम्बुलेन्सलाई शव बहानको रुपमा प्रयोग गर्ने योजना रहेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । जिल्लाको आँबुखैरेनी गाउँपालिकाले कोभिड-१९ लाई मध्यनजर गर्दै दुइ एम्बुलेन्स तयारी अवस्थामा राखेको छ । एम्बुलेन्स संञ्चालकसंग सम्झौता गरी गाउँपालिकाले तयारी अवस्थामा राखेको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिनुभयो ।
त्यसैगरी शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिकाले एम्बुलेन्स खरिद गरेर संञ्चालनमा ल्याइसकेका छन् । बन्दिपुर गाउँपालिकासँग एउटा पुरानो एम्बुलेन्सबाट सेवा प्रवाह गर्दै आएपनि नयाँ एम्बुलेन्सको लागि प्रक्रिया अघि बढाइएको गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले बताउनुभयो । घिरिङ र ऋषिङ गाउँपालिकाको आफ्नै एम्बुलेन्स रहेको छैन् तर सोही पालिकामा नेपाल रेडक्रस सोसाइटीद्वारा संञ्चालित एम्बुलेन्सबाट सेवा प्रवाह गर्दै आएको जनाएका छन् ।
भीमाद नगरपालिकाले तीन एम्बुलेन्स तयारी अवस्थामा राखेको जनाएको छ । भीमाद बजार इकाई, भीमाद युवा क्लव र भिमाद नगरपालिका-१ मा गरी नगरपालिका क्षेत्रमा तीन एम्बुलेन्स रहेको नगरप्रमुख मेखबहादुर थापाले जानकारी दिनुभयो । प्राथामिक स्वास्थ्य उपचारलाई मध्यनजर गर्दै नगरपालिकाले खरीद गर्न लागेको दुइ एम्बुलेन्सको प्रक्रिया अन्तिम चरणमा पुगेकोले नगरपालिका क्षेत्रमा पाँच एम्बुलेन्स रहने उहाँले जानकारी दिनुभयो । यसैगरी भानु नगरपालिका र देवघाट गाउँपालिकाले पनि एम्बुलेन्स तयारी अवस्थामा राखेका छन् ।










