राष्ट्रिय बाल दिवसको अवसरमा शैक्षिक सामाग्रि वितरण
भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकाले ५८औं राष्ट्रिय बाल दिवसका अवसरमा बालबालिकालाई शैक्षिक सामाग्रि वितरण गरेको छ । नगरपालिकाले वडा नं. २ गोठेरी स्थित सुन्दर प्राथमिक विद्यालयका पचास जना बालबालिकालाई स्कुल ब्याग तथा स्टेशनरी सामग्री वितरण गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षको अध्यक्षतामा आयोजित कार्यक्रममा भानु नगरपालिकाका नगर उपप्रमुख उमा गोतामे, वडाध्यक्ष, नगर कार्यपालिका सदस्यहरू, नगर शिक्षा समितिका पदाधिकारीहरू, शिक्षकका पेशागत संगठनका अध्यक्षहरू, शिक्षकहरू लगायतले बालबालिकालाई शैक्षिक सामाग्रि हस्तान्तरण गर्दै शिक्षा सबैको पहुँचमा पुर्याउनुपर्ने धारणा व्यक्त गरेका थिए ।
यस्तै, कार्यक्रममा नगर शिक्षा अधिकारी उपसचिव ध्रुवराज पौडेलले बाल दिवसको नाराको सान्दर्भिकता, औचित्य तथा यसले दिन खोजेको सन्देशका विषयमा सहजिकरण गरेका थिए । उनले बालअधिकारका सम्बन्धमा नेपाल सरकारले गरेका कानूनी र संस्थागत प्रबन्धहरू, नीति योजना, कार्यक्रम र बजेटका विषयमा चर्चा गर्दै नगरपालिकाले बालबालिकाको विकासका लागि चालेका विभिन्न कदमहरूका विषयमा सहभागिहरुलाई जानकारी गराएका थिए ।
उक्त अवसरमा बालबालिकाले गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए । समारोहमा प्रत्येक बालबालिकालाई १ थान स्कुल व्याग, २ थान चारलाइन कपि, ३ थान दुइलाइन कपि, १ बट्टा ज्यामिति बक्स र एक प्याक पेन्सिल वितरण गरिएको थियो ।
यस्तै, व्यास नगरपालिका-३ देउरालीनगर स्थित श्री शिव पाञ्चायन माध्यमिक विध्यालयले पनि ५८औं वालदिवस विविध कार्यक्रम गरी मनाएको छ । विद्यालयले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरु बीच सामुहिक र एकलरुपमा गीत, नृत्य, वक्तृत्वकला र चित्रकला कार्यक्रम सञ्चालन गरेको थियो ।
विद्यालयका सहायक प्रधानाध्यापक हेमलाल घिमिरेको सभापतित्वमा आयोजित कार्यक्रममा व्यवस्थापन समिति अध्यक्ष विष्णुभक्त न्यौपानेले शुभकामना व्यक्त गर्दै विद्यार्थीहरुको रुची चाहना, भावना तथा मनोभावना बुझि प्रतिभा उजागर गर्न यस्ता दिवसहरुले ठूलो भूमिका खेल्ने बताएका थिए ।
त्यस्तै, व्यास नगरपानिकाद्वारा अयोजित वालमैत्री व्यास नगरपालिका विषयक निवन्ध प्रतियोगितामा सान्त्वना हुन सफल कक्षा ८ मा अध्ययनरत छात्र रविन थापालाई कार्यक्रमका अवसरमा अध्यक्ष न्यौपानेले प्रमाणपत्र प्रदान गर्दै शुभकामना व्यक्त गरेका थिए ।