व्यासमा करिब ५८% योजना सम्झौता, सरसफाई केन्द्र व्यवस्थापनका लागि जग्गा खरिद गर्न कानुनी प्रक्रिया अघि बढाइने
भञ्ज्याङन्यूज

तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षा ५८ दशमलव ७२ प्रतिशत योजना सम्झौता गरी काम अगाडि बढाएको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको कार्यपालिका बैठकमा चालु आर्थिक वर्षका लागि वडाहरुबाट निर्धारण गरिएका ६३० वटा, नगर स्तरीय ४१ वटा गरी ६७१ वटा योजनामा २०९ वटा कार्य सम्पन्न, ३९४ सम्झौता भएका र ६७ वटा योजनाहरु सम्झौता हुन बाँकी रहेको योजनाहरुको प्रगति विवरण जानकारी गराइएको थियो।
नगरपालिकाको आन्तरिक आय ५० प्रतिशत, संघीय सरकारबाट प्राप्त ५२ प्रतिशत, प्रदेश सरकारबाट ५० प्रतिशत प्राप्त भई जम्मा ७२ करोड ५० लाख २२ हजार २४१ रुपैयाँ प्राप्त भएको र सो आयवाट हालसम्म चालु खर्च ४५ करोड २२ लाख ८० हजार २९ रुपैयाँ रहेको र पूँजीगत खर्च तर्फ ११ करोड ९९ लाख २ हजार ३२४ रुपैयाँ भएको बैठकमा जानकारी गराइएको थियो ।
वडा नं. ९ को वडा कार्यालय भवन निर्माणका लागि वहुवर्षे योजना अन्तर्गत टेण्डर प्रक्रियामा अगाडि बढाउने निर्णय गरेको बैठकमा वडा नं. १ र २ जोड्ने करङकाठ बसपार्कको ठेक्का ज्वालामुखी निर्माण सेवा निलकण्ठ र धादिङलाई परेको जानकारी गराइएको थियो ।
यस्तै, शहिद दिवस २०८० माघ १६ मा भएको अल्ट्रा म्याराथनको पुरस्कार समेत व्यवस्थापन खर्च ११ लाख ५२ हजार ७२ रुपैयाँ भएको प्रवक्ता जीवन गुरुङले जानकारी गराएका छन् ।
यस्तै, नगरपालिका भित्रका भूमिहिन दलित, भूमिहिन सुकुमबासी, अव्यवस्थित बसोवासीहरुको जग्गा नापी गर्ने कार्य वडा नं. १२, १३, १४ को विवरण बैठकमा जानकारी गराइएको थियो भने वडा नं. ११ को नापी प्रक्रियालाई छिटो छरितो अघि बढाउन सहजिकरण एवं समन्वय गर्न सम्बन्धित वडा समिति र भूमि इकाईलाई निर्देशन दिने बैठकले निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी गराए ।
आधारभूत तह (कक्षा ५ र ८) को परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८० पारित गरिएको छ । कार्यपालिका बैठकले नगरपालिकाको सरसफाई केन्द्र व्यवस्थापन तथा स्थायी समाधानका लागि जग्गा खरिद प्रक्रिया अघि बढाउन गठित समितिको राय अनुसार वडा नं. १३ को जग्गा खरिद गर्न कानुनी प्रक्रिया अघि बढाउने, फोहोलाई सानो साइजमा राख्ने कम्प्रेशन मेशिन खरिद गर्ने र सरसफाईका ५ वटा गाडीहरुमा जिपिएस जडान गर्ने प्रक्रिया अघि बढाउन सहमति प्रदान गरिएको छ ।










