मानुङकोटमा खानेपानी योजनालाई अगाडि बढाइने

दमौली : तनहुँको व्यास नगरपालिकाले मानुङकोट खानेपानी योजनालाई अगाडि बढाउने भएको छ । नगर कार्यापालिकाको सोमबार बसेको बैठकले वडा नं. ५ स्थित मानुडकोट खानेपानी योजना सम्बन्धमा उच्च अदालत पोखराको निर्देशन अनुसार, स्थानीय परम्परागत खानेपानीको निरन्तरताको सुनिश्चितता गर्दै योजनाको थप काम अघि बढाउने निर्णय गरेको हो ।
बैठकले उक्त खानेपानी योजना सम्बन्धित निर्माण व्यवसायीलाई योजनाको निर्माण कार्यलाई अगाडि बढाउन निर्देशन दिएको र यस कार्यको समन्वय गर्न योजना तथा शहरी पूर्वाधार शाखालाई पनि निर्देशित गरेको बताइएको छ ।
यस्तै, बैठकले आगामी माघ १६ गते शहिद दिवसको अवसरमा महिला हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिताको आयोजना गर्ने निर्णय गर्दै मुल समारोह समितिको गठन पनि गरेको छ ।
व्यास–३ स्थित व्यास गुफाबाट व्यास–११ को तनहुँसुर दरबारसम्म हुने प्रतियोगिता सञ्चालनका लागि उपप्रमुख इन्दीरा दरैको अध्यक्षतामा मुल समारारेह समिति गठन गर्ने निर्णय बैठकले गरेको छ ।
यस्तै, बैठकले आगामी पुस २६ गते हुने ४२औं नगर सभामा पेश गरिने आर्थिक विधेयक २०८१ र विनियोजन विधेयक २०८१ सम्बन्धी सुझावहरूको आधारमा संशोधन प्रस्ताव तयार गर्न राजस्व परामर्श समितिलाई निर्देशन दिएको छ । नगर सभामा अन्य विधेयकहरू समेत पेश गरिनेछन्, जसका लागि विधायन समितिलाई आवश्यक निर्देशन दिइएको छ ।
आ.व. २०८१/०८२ का लागि पारित बजेटमा प्राप्त सुझावहरू समावेश गरी संशोधित बजेट कार्यक्रम र आय व्यय प्रस्ताव तयार गर्न बजेट तर्जुमा समितिलाई बैठकले निर्देशन दिइएको छ । यस्तै, प्रत्येक वडाका लागि रु. १५ लाखका दरले अधिकतम् ३ वटा न्यूनतम् पाँच लाख रुपैयाँ विनियोजन गर्ने गरी कुल ३२ योजनाहरूको निर्णय गरिएको छ ।
बैठकको निर्णयानुसार शहरी वडाले २५ प्रतिशत, अर्ध शहरी वडाहरूले २० प्रतिशत र ग्रामीण वडाहरूले १५ प्रतिशत लागत सहभागीता नगदै योजनासम्म सम्झौता गर्न २०८१ माघ १० गतेसम्मको समय तोकिएको छ ।
उक्त बैठकमा नगरपालिकाले विभिन्न महत्वपूर्ण योजनाहरूको कार्यान्वयनका लागि आवश्यक निर्णयहरू लिएको छ। महिला हाफ म्याराथन प्रतियोगिता, आर्थिक विधेयकमा संशोधन, बजेट संशोधन र खानेपानी योजनाको प्रगति जस्ता विषयमा बैठकले महत्वपूर्ण निर्णयहरू गरेको छ ।
यसका साथै, नगरका विकास कार्यमा समृद्धि र प्रगति सुनिश्चित गर्न विभिन्न समितिहरूलाई निर्देशन दिइएको प्रवक्ता सुरेश थापाले जानकारी गराए ।










