सांसद श्रेष्ठको कोसेली : जिल्लाका तीन अस्पताललाई अक्सिजन सिलिन्डर, अक्सिजनको अभाव हुन नदिने प्रतिवद्धता
भञ्ज्याङ न्यूज्

महामारिकै रुपमा संक्रमण फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस रोकथाम, न्यूनिकरण तथा संक्रमितको सहज उपचार व्यवस्थापनमा अहिले सबै क्षेत्र दिनरात लागि परेका छन् ।
तनहुँ निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसान पनि यतिबेला जिल्लाका अस्पताललाई अक्सिजन तथा स्वास्थ्य सामाग्रिको सहज व्यवस्थापनमा हातेमालो गर्ने अभियानमा लागिपरेका छन् ।
सांसद श्रेष्ठले विहीबार जिल्लाका तीन अस्पताललाई अक्सिजन सिलिन्डर र स्वास्थ्य सुरक्षाका सामाग्रि हस्तान्तरण गरेका छन् । भानुस्थित पुरनडिही, बन्दीपुरस्थित बन्दीपुर र व्यास नगरपालिका स्थित दमौली अस्पताललाई पाँच/पाँच अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेका छन् । दमौली अस्पतालमा आयोजित एक कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले प्राप्त अक्सिजनले संक्रमितको उपचारका लागि सहयोग पुग्ने बताउँदै धन्यवाद व्यक्त गरे।

यस्तै, भानुको पुरनडिही अस्पतालका डा. सुरज श्रेष्ठ, भानु नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डे, बन्दीपुर अस्पतालमा अध्यक्ष पूर्णसिं थापा, उपाध्यक्ष करुणा गुरुङ, डा. मनिष श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
उक्त अवसरमा सांसद श्रेष्ठले आफु कोभिड-१९ पोजेटिभ हुँदा स्वास्थ्यमा देखिएका समस्या र उपचारमा अपनाइएको विधिका विषयमा अनुभव सुनाउदै संक्रमितहरुले उच्च मनोबलका साथै खानपिन, सरसफाई तथा स्वास्थ्य सुरक्षा सामाग्रिको प्रयोगमा ध्यान दिनुपर्ने सुझाए ।
जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ५ वटा भेन्टिलेटर सहित १० वेड आइसियुको पूर्वाधार निर्माणका लागि ६ करोड रुपैयाँ, अक्सिजन प्लान्ट निर्माणका लागि ३ कोरोड रुपैयाँ बजेट अर्थ मन्त्रालयबाट बिनियोजन भएको सांसद श्रेष्ठले जानकारी गराए ।

उनले दमौली अस्पतालका लागि ३० लाख, बन्दिपुर अस्पतालका लागि ३० लाख रुपैयाँ बजेट बिनियोजन भएको जानकारी गराउँदै सांसद श्रेष्ठले आगामि दिनहरुमा कुनै पनि कोभिड-१९ संक्रमित विमारीहरु अक्सिजन ग्यासको अभावमा ज्यान गुमाउन नपरोस भनि त्यस्को व्यवस्थापनमा आफु लागि पर्ने प्रतिवद्धता जनाए ।










