वाम एकैठाम केका लागि ?
सुरेशकुमार पाण्डे

संसदमा प्रतिपक्ष कमजोर भयो भने राष्ट्रियता र गणतन्त्रको सवालमा वामपन्थी एकताको महत्व अझ बढ्छ । वामपन्थीहरू विभिन्न विचारधाराका हुन सक्छन्, तर उनीहरूको एकता सरकारले अघि सारेका राष्ट्रघाती वा आत्मघाती विचारका विरुद्ध केन्द्रित हुनुपर्छ ।
अहिलेको अवस्था त्यस्तै देखिन्छ। देशभित्र विदेशी दबाब बढ्दो छ र नयाँ सरकारले विदेशीका कतिपय गलत मुद्दाहरूमा समेत सम्झौता गर्ने सम्भावना देखिएको छ। यस्तो अवस्थामा वामपन्थी एकताको ठूलो महत्व रहन्छ। राष्ट्रिय हितविपरीत हुने गतिविधिलाई रोक्न र सरकारलाई खबरदारी गर्न वाम एकता आवश्यक देखिन्छ।
तर हाम्रो देशमा वामपन्थी आन्दोलन प्रायः सरकार ढाल्न, सत्तामा पुग्न वा आफ्ना भ्रष्ट नेताहरूलाई जोगाउनका लागि प्रयोग भएको इतिहास छ। विगतका आन्दोलनहरूले पनि यही प्रवृत्ति देखाएका छन्। कसैले कम्युनिस्ट आन्दोलनसँग जोडेर त कसैले सत्ता प्राप्तिको हतियारका रूपमा वाम आन्दोलनको प्रयोग गर्दै आएका छन्।
सरकारमा हुँदा दम्भ देखाउनेहरू सत्ता बाहिरिएपछि …एकताÚ को वकालत गर्ने व्यवहार नयाँ होइन। चुनाव हार्दा देश खतरामा परेको देख्ने र सत्तामा हुँदा विदेशी प्रभावलाई सहज बनाउनेहरू अहिले एकताको पक्षधर देखिनु विडम्बनापूर्ण छ।
नेपालको राजनीति यस्तै विरोधाभासले भरिएको छ। जब आफ्नै अस्तित्व संकटमा पर्छ, तब एकताको नारा उठाइन्छ। तर देश र जनताको लागि राजनीति गर्ने संस्कार अझै विकास हुन सकेको छैन।
साँचो अर्थमा जनतामुखी राजनीति गर्नेहरू सधैं जनताको बीचमा रहन्छन्, उनीहरूको दुःख–सुखमा सहभागी हुन्छन् र जटिल राजनीतिक विषयलाई सरल रूपमा बुझाउँछन्। वामपन्थी शक्ति भनेको के हो, यसको प्रयोग कसरी गर्ने, यसको आवश्यकता किन छ भन्नेबारे जनतालाई बुझाउनु आवश्यक छ। तर चुनाव हार्नेबित्तिकै …एकता गरौंÚ भन्ने नाराले जनतामा सकारात्मक सन्देश जाँदैन। बरु भ्रष्टाचारमा मुछिएका नेताहरूको सहकार्यका रूपमा बुझिने खतरा हुन्छ।
वामपन्थी राजनीतिको मूल लक्ष्य वर्तमान समाजलाई रूपान्तरण गरी आर्थिक तथा सामाजिक समानता स्थापित गर्नु हो। यसले यथास्थितिमा सन्तुष्ट नभई परिवर्तन चाहन्छ। यस विचारधाराले समाजका पछाडि परेका, कमजोर वा वञ्चित वर्गप्रति सहानुभूति व्यक्त गर्छ।
‘बायाँ’ र ‘दायाँ’ राजनीति भन्ने शब्दावलीको प्रयोग फ्रान्सेली क्रान्तिको समयमा सुरु भएको हो। त्यतिबेला गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा उभिनेहरू संसदमा बायाँतर्फ बस्ने गर्थे। आधुनिक सन्दर्भमा समाजवाद र साम्यवादसँग सम्बन्धित विचारलाई बायाँ राजनीतिमा राखिन्छ, तर अहिलेको सन्दर्भ फरक छ। सबै वामपन्थी कम्युनिस्ट हुँदैनन्, तर कम्युनिस्टहरू भने वामपन्थी नै हुन्छन्।
अहिले संसदमा प्रतिपक्ष दुई तरिकाले कमजोर देखिन्छ– संख्यात्मक रूपमा पनि र नैतिक रूपमा पनि। कतिपय नेताहरू विगतमा सरकारमा रहँदा भ्रष्टाचारमा मुछिएका कारण संसदमा प्रभावकारी रूपमा बोल्न सकिरहेका छैनन्। यसले उनीहरूलाई बाहिरबाट दबाब सिर्जना गर्ने रणनीतितर्फ धकेलेको छ, जसको एउटा माध्यम वाम एकताको वकालत पनि हो।
अर्कोतर्फ, राजावादी शक्तिहरू पनि यही अवस्थाको फाइदा उठाउन खोजिरहेका छन्। उनीहरूको मुख्य एजेन्डा हिन्दु राज्य पुनःस्थापना र संघीयता खारेज गर्नु हो, जुन वर्तमान संविधानको मर्मसँग मेल खाँदैन।
अब के गर्ने त? राष्ट्रियता र संविधानको रक्षा गर्न वाम एकताको आवश्यकता देखिन्छ। किनकि धर्मनिरपेक्षता र गणतन्त्रमाथि क्रमशः चुनौतीहरू देखिँदै छन्। तर यति मात्र होइन, विगतमा भ्रष्टाचारमा संलग्न र अवसरवादी चरित्र देखाएका नेताहरूले फेरि एकताको नाममा आफ्नो स्वार्थ पूरा गर्न खोज्न सक्छन् भन्ने आशंका पनि उत्तिकै बलियो छ।
त्यसैले आँखा चिम्लेर एकता गर्ने अवस्था अब छैन। विगतका अनुभवले हामीलाई सचेत गराएको छ। अहिले दुई तिहाइको शक्तिशाली सरकार, कमजोर प्रतिपक्ष र बढ्दो केन्द्रीकृत प्रवृत्तिका बीच फासीवादी प्रवृत्तिको सम्भावना पनि औंल्याउन सकिन्छ। यस्तो अवस्थामा कार्यगत एकता अपरिहार्य हुन सक्छ, तर त्यसमा संलग्न शक्तिहरूको चरित्रबारे गम्भीर समीक्षा आवश्यक छ।
विगतमा चुनावी तालमेल र एकताहरू भए, तर पटक–पटक धोका पनि भयो। चुनाव हार्दा मात्र एकताको नारा ल्याउने प्रवृत्तिले विश्वास गुमाएको छ। २०४६ यताका राजनीतिक अभ्यासले छद्म राष्ट्रवाद र अवसरवादलाई प्रस्ट पारेको छ।
सत्तामा हुँदा एउटै काम ‘राष्ट्रहित’ हुने र विपक्षमा हुँदा त्यही काम …राष्ट्रघातीÚ देख्ने प्रवृत्तिले वाम आन्दोलनको विश्वसनीयता कमजोर बनाएको छ। यस्तो नेतृत्वको भरमा वाम आन्दोलन बलियो बन्न सक्दैन।
यसर्थ, यथार्थपरक विश्लेषण गर्दा विश्वसनीय वाम एकता कठिन देखिन्छ। तर वर्तमान परिस्थितिले राष्ट्रियता र संविधानको रक्षा गर्न केही हदसम्म सहकार्य गर्न बाध्य बनाएको छ।
अन्ततः, एकताभन्दा पनि महत्वपूर्ण विषय आत्ममन्थन हो। विगतका कमजोरीबाट सिकेर इमानदारीपूर्वक आत्मालोचना नगरी गरिएको एकता दीर्घकालीन रूपमा सफल हुन सक्दैन। त्यसैले आजको आवश्यकता केवल एकता होइन, सुधारिएको सोच र जिम्मेवार राजनीतिक संस्कार पनि हो।










