तनहुँ प्रहरीद्वारा ३८१ फरार प्रतिवादी पक्राउ
भञ्ज्याङ न्यूज

जिल्ला प्रहरी कार्यालय तनहुँले एक वर्षको अवधिमा ३८१ फरार प्रतिवादी पक्राउ गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा तनहुँ प्रहरीले विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका उनिहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भएर जानुअघि शनिबार पत्रकार सम्मेलन गरी आफ्नो एक वर्षे कार्यकालमा सम्पादन गरेको कार्यक्रम सार्वजनिक गर्दै उनले पक्राउ पर्ने मध्ये १०५ जना महिला र २७६ जना पुरुष रहेको बताए ।
उनका अनुसार पक्राउ परेकाहरुबाट १८७ वर्ष १ महिना २२ दिन कैद असुल भएको छ भने फरार प्रतिवादीबाट ६६ लाख ३८ हजार ५६१ रुपैयाँ जरीवाना असुल भएको छ । चालु आर्थिक वर्षमा ३६० मुद्दा दर्ता भएकामा जघन्य अपराधतर्फ कर्तव्य ज्यानमा ११, जबरजस्ती करणीमा १७, लागुऔषधमा ३४, सवारी ज्यानमा ३१, आत्महत्वा दुरुत्साहनमा ४ र हातहतियारमा २ मुद्दा दर्ता भएका छन् ।
यस्तै, लागुऔषधतर्फ ५९ जना पक्राउ परेका छन् भने ३१ किलो ८६५ ग्राम गाँजा, ६६० एम्पुल डाइजेपाम, ६५४ एम्पुल फेनरागन, ६५० एम्पुल नुफिन, १३५ नाइट्रोजन ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ । अबैध काठतर्फ १२ जना पक्राउ परेका छन् भने ५८१ क्यूफिट सालको काठ बरामद गरिएको छ । प्रहरीले सोही अवधिमा ३५ रोपनी क्षेत्रफलमा अवैध रुपमा उम्रिएका ६ हजार ५०० गाजाका बोट नष्ट गरेको जनाएको छ ।
नदीजन्य पदार्थ उत्खनन्तर्फ २६६ सवारी नियन्त्रण गर्दा २२ लाख १० हजार ५०० सय राजश्व संकलन भएको छ । जुवातासतर्फ ११ वटा मुद्दा दर्ता हुँदा १२० जना पक्राउ परेका छन भने उनिहरुबाट १४ लाख ३७ हजार २२५ रुपैयाँ रकम बरामद भएको छ ।
यस्तै, कोभिड महामारी नियन्त्रणका लागि सञ्चालित मास्क खै अभियान अन्तरगत १३ हजार ९३५ जनालाई मास्क वितरण गरिएको छ । अक्सिजन सिलिन्डर संकलन अभियान अन्तरगत १२६ थान सिलिन्डर संकलन भएकोमा ९३ थान अस्पतालमा वितरण गरिएको छ । कोभिड व्यवस्थापन अध्यादेश अनुसार कारवाही गर्दा ४ लाख ३६ हजार ६०० रुपैयाँ संकलन भएको बताइएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा प्रहरी उपरीक्षक पौडेलले आफ्नो कार्यकाल अवधिमा तनहुँमा राजनीतिक दबाब झेल्नुनपरेको बताएका छन् । तनहुँ राजनीतिक हिसाबले उच्च र महत्वपूर्ण जिल्ला भएकाले सबै राजनीतिक दलबाट आफूले सहयोग पाएको बताउँदै उनले सबैको सहयोग र साथले कार्यकाल सफल भएको बताए । अपराध न्यूनिकरण, शान्ति सुरक्षा कायम गर्न सबैको सहयोग अपरिहार्य हुन्छ उनले भने, कार्यकालमा सहयोग पुर्याउने स्थानीय तह, राजनीतिक दल, उद्योगी व्यवसायी लगायत सबैलाई आभार व्यक्त गरेका छन् ।










