व्यास नगरपालिकाको स्वेच्छिक अवकास र शिक्षक नियुक्ति सम्बन्धी कार्यविधि पारित

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले दुइ वटा कार्यविधी र एउटा निर्देशिका पारित गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा विहीबार बसेको कार्यपालिका बैठकले प्राथामिक विद्यालयका शिक्षक दरबन्दी मिलान सम्बन्धी स्वेच्छिक अवकास प्रोत्साहन वितरण कार्यविधि २०७८, अनुदान कोटामा शिक्षक नियुक्ति सम्बन्धी कार्यविधि २०७८, स्थानीय कृषि वजार व्यवस्थापन निर्देशिका २०७८, पारित गरेको हो । बैठकले स्वेच्छिक अवकासका लागि २०७८ पौष मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेको छ । बैठकले नगरपालिका भित्रका विद्यालयहरुमा दरबन्दी कटौति गर्दै जाँदा विद्यालयमा कार्यरत शिक्षकहरुको दरबन्दी मिलान गर्नुपर्ने र विद्यार्थी कम भएका विद्यालय मर्ज गर्नुपर्ने भएकाले आवश्यक निर्णय लिनका लागि नगर प्रमुख, उपप्रमुख र नगर शिक्षा अधिकारीलाई अधिकार प्रत्यायोजन गरेको छ।

बालबिकासमा न्यूनतम ५ जना र अन्य तहगत आधारमा न्यूनतम १० जना भन्दा कम विद्यार्थी भएका विद्यालयहरुलाई बालबालिकाको शिक्षा आर्जन गर्ने प्रत्याभूती गरी विद्यालय मर्ज गर्ने निती नगरपालिकाले लिएको छ । यस्तै, नगरपालिका भित्रका विद्यालयमा वार्षिकोत्सव गर्ने नाउँमा धेरै दिन विद्यालयमा पठन पाठन अबरुद्ध हुने गरेकाले हरेक विद्यालयहरुले कोरोना महामारीको अवस्थालाई समेत मध्येनजर गरी तयारी एवं वाषिर्कोत्सवलाई तीन दिन र वाषिर्कोत्सव कार्यक्रम तीन घण्टा भित्र सामान्य तवरले सम्पन्न शिक्षा शाखा मार्फत विद्यालयहरुलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ ।

नगरपालिका भित्र बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्नका लागि आवश्यक कार्य अघि बढाउन नगर शिक्षा अधिकारी नगेन्द्र प्रसाद रेग्मीलाई जिम्मा दिइएको छ । कर्मचारीहरुको तलब र अन्य सुबिधा सफ्टवेयर मार्फत गर्न गराउन लेखा शाखालाई जिम्मा दिएको छ भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कात्तिक ३० मा जारी ‘करार सेवामा कार्यरत कर्मचारीहरुको कार्य सम्पादन स्तर मुल्याङकन् तथा नयाँ अबधिको लागि करार संझौता सम्बन्धी मापदण्ड, २०७८’ जारी गरिएको छ ।

नगरपालिकामा कार्यरत करार कर्मचारीहरुको मुल्याङ्कन गर्न पुनरावलोकनकर्तामा प्रमुख प्रशासकीय अधिकृत डिल्लिराम सिग्देल, समिति सदस्यमा बरिष्ठ इन्जिनियर राजु पौडेल, सुपरिवेक्षकमा बरिष्ठ अधिकृत रामचन्द्र हड्खलेलाई तोक्ने निर्णय बैठकले गरेको छ । साथै सम्बन्धित शाखाको प्रमुखलाई आमन्त्रीत सदस्यको रुपमा बैठकमा उपस्थित गराइने भएको छ ।

त्यस्तै, स्थानीय आर्थिक विकासका सम्भावनाहरुको अध्ययन प्रतिवेदन ३ महिना भित्र तयार गरी पेश गर्न कार्यालयलाई जिम्मा दिइएको छ । बैठकले विभिन्न वडाहरुबाट लागत सहभागिताका योजनाहरुको माग भईरहेकाले शहरी वडामा न्यूनतम ३० प्रतिशत र ग्रामीण वडाहरुमा न्यूनतम २० प्रतिशत लागत सहभागिता रहने गरी २० लाखका ५ र १० लाखका १० वटा योजनाहरु रहेको छन् । उक्त योजनाहरुको लागत स्टिमेट र सम्बन्धित वडाको सिफारिसका आधारमा पौष १० गते भित्र टोल विकास संस्था मार्फत प्रस्ताव माग गर्ने गरी पुर्वाधार विकास तथा योजना विकास शाखालाई जिम्मा दिने निर्णय गरिएको छ । बैठकले कार्यालयको काममा बाधा नपर्ने गरी जनप्रतिनिधि र कर्मचारी भ्रमण प्रस्तावलाई व्यवस्थापन गर्न नगर उपप्रमुख मीरा जोशीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।

माथिल्लो भतेरीमा तनहुँ महोत्सव सञ्चालनका लागि जग्गा उपलब्ध गराइने

तनहुँ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको आठौ तनहुँ महोत्सवको लागि नगरपालिका कार्यालयले जग्गा उपलव्ध गराउने भएको छ । बैठकले महोत्सवका लागि स्थान उपलब्ध गराउन संघले माग गरेको र व्यास-४ र १० को सिमानामा रहेको माथिल्लो भतेरीमा महोत्सव सञ्चालनका लागि जग्गा उपलब्ध गराउने निर्णय गरिएको छ । उक्त स्थानमा जग्गा व्यवस्थापन र यातायात मार्ग व्यवस्थापन गर्न नगरपालिकाले सहयोग गर्ने भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker