देवघाट पालिकावासीको मागअनुसारकै योजना प्राथमिकतामा : अध्यक्ष थापा

देवघाट : पालिकावासीको चाहना र आवश्यकताका आधारमा योजना छनोट गरी बजेट निर्माण गर्दै आएको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताएका छन् । नेपाल पत्रकार महासंघ तनहुँको आयोजना तथा देवघाट गाउँपालिकाको सहयोगमा आइतबार वडा नं. २ स्थित व्यागनमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै अध्यक्ष थापाले विनियोजित कार्यक्रमलाई प्रभावकारी र पारदर्शी रूपमा कार्यान्वयन गर्न सेवाग्राही र कर्मचारीबीचको समन्वय अपरिहार्य रहेको बताए ।
उनले पालिकावासीले आफूहरूलाई जनप्रतिनिधिको रूपमा जिम्मेवारी दिएको उल्लेख गर्दै जुनसुकै समयमा पनि जनताको सेवामा खटिनु आफ्नो कर्तव्य भएको धारणा व्यक्त गरे । “देवघाट गाउँपालिकालाई समृद्ध बनाउन सबै पालिकावासीको साथ र सहयोग अपरिहार्य छ”, अध्यक्ष थापाले भनु, “धार्मिक, पर्यटन र कृषि क्षेत्रमा देवघाटलाई नमुना बनाउन हामी निरन्तर लागिपरेका छौं ।”
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले कर्मचारीहरूलाई शासक नभई सेवकको भावनाले काम गर्न निर्देशन दिइएको जानकारी दिए। कृषि, पर्यटन, पूर्वाधार र शिक्षालगायत क्षेत्रमा विनियोजित बजेटको कार्यप्रगति सन्तोषजनक भए पनि आन्तरिक राजश्व न्यून संकलन हुँदा कार्यक्रम कार्यान्वयनमा केही प्रभाव परेको उनले बताए ।
सार्वजनिक सुनुवाइका क्रममा वडा नं. २ र ५ तथा समग्र गाउँपालिकाको सेवा प्रवाहबारे गरिएको सर्वेक्षणमा सहभागीमध्ये करिब ८२ प्रतिशत सेवाग्राही पूर्ण सन्तुष्ट देखिएका छन् भने बाँकी १८ प्रतिशतले सेवा प्रवाह ठिकै रहेको प्रतिक्रिया दिएका थिए । ६४ पुरुष र ३६ महिला गरी एक सय जनालाई समेटिएको उक्त सर्वेक्षण नेपाल पत्रकार महासंघ का अध्यक्ष डीपी अधिकारी र पत्रकार पूर्ण विकेले गरेका थिए ।
कार्यक्रममा सिम्लेक टोल विकास संस्थाका अध्यक्ष तिलबहादुर मगर, जुद्ध आधारभूत विद्यालयका प्रधानाध्यापक गमबहादुर थापा र सेवाग्राही पृथ्वीबहादुर थापा लगायतले प्रविधिमैत्री शिक्षा, प्रभावकारी पशुपालन प्रविधि लगायत विषयमा जिज्ञासा राखेका थिए ।
उक्त जिज्ञासामा शिक्षा अधिकृत होमनाथ लामिछाने तथा पशु तथा मत्स्य विकास शाखाका अधिकृत प्रदीप सापकोटाले आधुनिक प्रविधिसँगै सेवाप्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रम समन्वय शाखाका अधिकृत कृष्णराज पन्तले सहभागीका सुझाव र जिज्ञासाहरू टिपोट गरेका थिए ।
कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष पूर्णबहादुर कुँवरसहित विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, गाउँसभा सदस्य तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। करिब एक सय जनाको सहभागिता रहेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भूवनसिं गुरुङले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन महासंघका अध्यक्ष अधिकारीले गरेका थिए ।










