निर्मल माविमा डेढ लाख बढीको अक्षयकोष स्थापना

तनहुँको व्यास-१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयमा डेढ लाख रुपैयाँ बढीको अक्षयकोष स्थापना गरिएको छ । व्यास नगरपालिका-१ निवासी टुक प्रसाद दाहाल र चूडामणि दाहालले आफ्नी आमा दमयन्ती दाहालको ४५औ पुण्यतिथिमा विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् ।
दाहाल दाजुभाईले स्व. मातापीताको स्मृतिमा १ लाख ५५ हजार ५५५ रुपैयाँको गरीब तथा जेहेन्दार छात्रवृत्ति अक्षयकोष स्थापना गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर दरै, प्रधानाध्यापक गणेशचन्द्र बस्नेतलाई उक्त रकमको चेक मंगलबार दाहाल दाजुभाईले हस्तान्तरण गरेका छन् ।
आफुहरु सोही विद्यालयमा पढेको र केही समय सोही विद्यालयमा पढाउने अवसर मिलेको छोरा चूडामणि दाहालले बताए । आमाको स्मृतिमाको अवसरमा केही दान गरौं भन्ने भावना अनुरुप दुबै दाजुभाईको सल्लाहले उक्त विद्यालयमा अक्षयकोष स्थापना गरिएको उनिहरुले बताए ।
उक्त विद्यालयमा अध्ययन गर्दा आर्थिक अवस्था नाजुक भएका कारण निकै दुःख कष्टका साथ शिक्षा हासिल गर्नुपरेको स्मरण गर्दै हामीले जस्तै दुःख पाएका गरीब तथा जेहेन्दार विद्यार्थीलाई शिक्षा हासिल गर्न केही राहत पुग्ने बिश्वास गरी अक्षयकोष स्थापना गरिएको उनिहरुले बताए ।
अक्षयकोषबाट आएको ब्याज रकमबाट वार्षिक रुपमा गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिने भएको छ । विद्यालयले एक किसिमको कार्यविधी बनाएर विद्यार्थीको मूल्याङकन गरी गरीब तथा जेहेन्दार बिद्यार्थी छात्रवृत्ति प्रदान गरिने प्रधानाध्यापक बस्नेतले बताए ।










