पत्रकार महासंघ गण्डकीको निर्णयप्रति प्रेस चौतारी तनहुँको आपत्ती
भञ्ज्याङ समाचारदाता/दमौली

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले सदस्यता शुद्धीकरणको नाममा गरिएको निर्णयप्रति प्रेस चौतारी नेपाल तनहुँ शाखाले गम्भिर आपत्ति प्रकट गरेको छ । सदस्यता शुद्धीकरणको नाम दिएर वहुमतको नाममा चौतारी निकट क्रियाशिल पत्रकारहरुलाई सदस्यता नविकरण नगरिएको भन्दै प्रेस चौतारी नेपाल तनहुँ शाखाले असहमती जनाएको हो ।
शाखा अध्यक्ष राजकुमार श्रेष्ठ (बीवी)ले बुधबार एक विज्ञप्ती जारी गर्दै पत्रकार महासंघ तनहुँको बैठकले निर्णय गरी पठाएको सदस्यहरुको नामावलीमा प्रदेश समितिले एकपक्षीय ढंगले निर्णय गरेको भन्दै आपत्ती जनाएका छन् । अध्यक्ष श्रेष्ठको नेतृत्वमा गएको प्रेस चौतारीको टोलीले गण्डकी प्रदेश समितिले गरेको निर्णय तत्काल सच्याउन माग गर्दै तनहुँ शाखाको कार्यकक्षमा तालाबन्दी गर्दै शाखाका अध्यक्ष उज्जल पौडेललाई प्रेस विज्ञप्ती बुझाएका छन् ।
चौतारीद्वारा जारी विज्ञप्तीमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आठौं बैठक तथा ‘राष्ट्रिय मिडिया सम्मेलन’ को म्यान्डेट अनुसार गठित सदस्यता शुद्धीकरण समितिले ‘सदस्यता शुद्धीकरण मापदण्ड-२०७९’ तयार पारी शाखा समितिमा पठाएको थियो । सोही मापदण्ड कार्यान्वयन गर्ने अभियान अन्तर्गत तनहुँ शाखाको २०८० असार १८ गते बसेको बैठकले तनहुँ शाखाका ११६ जना सदस्यहरु मध्येबाट मापदण्ड भित्र रहेका भन्दै ५१ जना सदस्यहरुको नाम कायम गरी प्रदेश समितिमा पठाइएको उल्लेख गरिएको छ ।
असार १८ गते तनहुँ शाखाले गरेको उक्त निर्णयका उपर पनि प्रेस चौतारीका साथीहरुले असन्तुष्टि व्यक्त गरी पत्रकारिता पेशामै क्रियाशिल नभएका सदस्यहरुको नाम हटाउन माग गर्दै महासंघ कार्याकक्षामा तालाबन्दि गरिएको थियो । उक्त ताला हालसम्म खोलिएको छैन । महासंघको कार्यकक्षामा तालाबन्दि रहिरहदा पनि तनहुँ शाखाको बैठकले गरेका निर्णय प्रदेश समितिलाई के-कसरी पठाइयो ? त्यसमा प्रेस चौतारीको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा जनाईएको छ ।
यस्तै, विज्ञप्तीमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले सदस्यता शुद्धिकरण अभियान अन्तर्गत साउन १० गते आफ्नो वेवसाइट मार्फत सार्वजनिक गरेको तनहुँ शाखाको सदस्यताका नामावली उपर प्रेस चौतारी तनहुँको गम्भिर ध्यानाकर्षण हुनुका साथै उक्त निर्णय प्रति हाम्रो असहमती रहेको उल्लेख गरिएको छ ।
‘विवादका बीच पनि जिल्लाबाट पठाइएको सदस्यहरुको नामावली उपर प्रदेश समितिले एकपक्षीय रुपमा, आस्थाका आधारमा प्रेस चौतारी निकट सदस्यहरुको नाम हटाइएको र अन्य संगठन निकटका सदस्यहरु जो पत्रकारिता पेशामै क्रियाशिल नभइ अन्य पेशा व्यवसाय गर्दै आएका छन् उनिहरुको नाम समावेश भएको हुँदा यो निर्णयप्रति प्रेस चौतारी तनहुँले घोर आपत्ती जनाउँदै उक्त निर्णय सच्याउन माग गर्दछ’, विज्ञप्तीमा भनिएको छ ।
यस्तै, प्रदेश समितिको उक्त निर्णयले प्रेस चौतारी निकट सदस्यहरुलाई महासंघको सदस्य विहिन बनाउने र पत्रकारिता पेशा नभइ गैरपत्रकारिता पेशामा आवद्ध भएकाको संस्था बनाउने खेल खेल्न लागिएको प्रष्ट हुन्छ । यो कार्य तत्काल रोक्न र प्रदेश समितिले सार्वजनिक गरेको नामावली सच्याउन माग गरिएको छ ।










