भुजेल भाषा–संस्कृति जोगाउने अभियानमा चलचित्र

तनहुँ : हराउँदै गएको मातृभाषा, मौलिक संस्कार र पुस्तौँदेखि चलिआएको जीवनपद्धतिको संरक्षण गर्ने उद्देश्यले तनहुँमा भुजेल भाषामा आधारित चलचित्र निर्माण गरिएको छ ।

भुजेल समाज सेवा समिति तनहुँको पहलमा निर्माण गरिएको “ब्राओ आपुक रा (ठुल्दाइको नाङ्लो)” चलचित्रले भुजेल समुदायको सामाजिक जीवनसँगै पछिल्लो समय देखिएका आर्थिक तथा सामाजिक चुनौतीलाई पर्दामा उतारेको छ ।

समुदायका अध्यक्ष पृथ्वी भुजेलको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा भुजेल समुदायको परम्परागत पेसा, सीप र जीवनशैली परिवर्तनसँगै त्यसले निम्त्याएको असरलाई कथाको मुख्य विषय बनाइएको छ । विशेषगरी बाँसबाट सोलि, डालो, नाङ्लो लगायत सामग्री बनाउने परम्परागत सीप भए पनि उत्पादित सामग्रीले बजार नपाउँदा पेसाप्रति आकर्षण घट्दै गएको अवस्थालाई चलचित्रमा देखाइएको छ ।

परम्परागत सीपको निरन्तरतासँगै रोजगारीको अभाव र युवा पुस्ताको विदेश पलायनलाई पनि चलचित्रले समेटेको छ । शिक्षित युवाले स्वदेशमै अवसर नपाउँदा वैदेशिक रोजगारी रोज्नुपर्ने बाध्यता तथा त्यसले परिवार र समुदायको सामाजिक संरचनामा पारिरहेको प्रभावलाई कथामार्फत प्रस्तुत गरिएको निर्देशक भुजेलले बताए ।

उनका अनुसार चलचित्र मनोरञ्जनका लागि मात्र नभई भुजेल समुदायको मौलिक भाषा, कला, संस्कार, संस्कृति र सामाजिक परिवेशको अभिलेखका रूपमा पनि निर्माण गरिएको हो । नयाँ पुस्तामा आफ्नै भाषा र संस्कृतिप्रतिको जानकारी तथा अपनत्व कमजोर हुँदै गएको अवस्थामा दृश्य माध्यमबाट त्यसलाई सुरक्षित गर्ने प्रयास गरिएको उनले बताए ।

उनले भने, ‘भाषा र संस्कृति समुदायको पहिचान र अस्तित्वसँग जोडिएको हुन्छ । नयाँ पुस्ताले आफ्नै भाषा, संस्कार र परम्परालाई बुझ्न सकोस् भन्ने उद्देश्यले चलचित्र निर्माण गरेका हौँ ।’

चलचित्रको छायाङ्कन तनहुँका भुजेल समुदायको सांस्कृतिक तथा सामाजिक उपस्थिति रहेका बन्दीपुर, आँबुखैरेनी र देवघाट क्षेत्रमा गरिएको छ। स्थानीय भूगोल र परिवेशलाई कथाको पृष्ठभूमि बनाउँदै परम्परागत जीवनशैली, सामाजिक सम्बन्ध तथा समुदायले भोगिरहेका समस्यालाई दृश्यमा उतारिएको छ ।

चलचित्रमा दुईवटा गीत समावेश छन् । झ्याउरे र चुड्का शैलीका गीतमा पृथ्वी भुजेल र दीपिका बोयम्बु मगरको स्वर रहेको छ भने सङ्गीत पृथ्वी भुजेलले दिनुभएको छ। विपिनकुमार चौलागाईंले छायाङ्कन, प्रवेश पोखरेलले सम्पादन तथा डोलराज बारघरे मगरले ध्वनि सम्पादन गरेका छन् ।

चलचित्रमा पृथ्वी भुजेल, कान्छी भुजेल, जोन भुजेल, पिन्की भुजेल, रेशम भुजेल र जुना भुजेललगायत कलाकारको अभिनय रहेको छ ।

भुजेल समाज सेवा समिति तनहुँले चलचित्रलाई आगामी असोज ३० गते दमौलीमा प्रदर्शन गर्ने तयारी गरेको छ । चलचित्र प्रदर्शनमार्फत समुदायभित्र मात्र नभई अन्य समुदायलाई समेत भुजेल भाषा, संस्कृति, परम्परागत सीप र सामाजिक अवस्थाबारे जानकारी गराउने लक्ष्य समितिको छ ।

समितिका अनुसार चलचित्रले मौलिक पहिचान संरक्षणसँगै परम्परागत सीपको महत्व, त्यसको बजार सम्भावना र नयाँ पुस्तालाई आफ्नै संस्कृति तथा भाषासँग जोड्ने विषयमा समेत बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker