तनहुँमा रेबिजविरुद्ध खोप अभियान

तनहुँमा रेबिजविरुद्ध खोप अभियान सञ्चालन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले रेबिजविरुद्ध खोप अभियान सञ्चालन गरेको हो ।
अभियानका क्रममा कार्यालयले तीन सय ९५ जनावरलाई रेबिज खोप लगाएको विज्ञ केन्द्रका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार कुकुर, बिरालो, बाँदरलाई खोप लगाइएको छ ।
अभियानका क्रममा व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिकामा सामुदायिक, घरपालुवा कुकुर, बिरालो र बाँदरलाई रेबिजविरुद्धको खोप लगाइएको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार व्यास नगरपालिकामा मात्रै एक सय ४८ कुकुर बिरालोलाई खोप लगाइएको छ । ८८ सामुदायिक, ५० घरपालुवा कुकुर, आठ बिरालो र दुई बाँदरलाई रेबिजविरुद्धको खोप लगाइएको छ ।
त्यस्तै शुक्लागण्डकीमा ७०, बन्दीपुरमा एक सय तीन, आँबुखैरेनीमा ६५ कुकुर बिरालोलाई खोप लगाइएको श्रेष्ठले बताउनुभयो ।
नेपालमा सन् २०३० सम्म रेबिज उन्मूलन गर्ने लक्ष्य लिइएको छ । नेपालमा ९९ प्रतिशत कुकुरको टोकाइबाट रेबिज हुने गरेको छ । बर्सेनि दुई सय जनाको रेबिज लागेर निधन हुने गरेको तथ्याङ्क छ । रासस










