तनहुँको म्याग्दे गाउँपालिकालाई पूर्ण बालश्रममुक्त घोषणा
भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिकालाई पूर्ण बालश्रममुक्त गाउँपालिका घोषणा गरिएको छ । एकीकृत हरित विकास नेपालको सहकार्यमा गाउँपालिकालाई बालश्रममुक्त गाउँपालिका घोषणा गरिएको हो ।
बालश्रममुक्त घोषणाका लागि सात सूचक पूरा भएपछि मंगलबार गाउँपालिकालाई बालश्रममुक्त घोषणा गरिएको एकीकृत हरित विकास नेपालका कार्यक्रम अधिकृत सुदीप सेढाइले बताए । पालिकाभरीका पाँच हजार ३२९ घरधुरीमा संस्थाले बालश्रममुक्त घोषणाका लागि अनुगमन गरेको थियो ।
नेपाल सरकारको बालश्रम निवारण सम्बन्धी राष्ट्रिय गुरुयोजना (२०७५-२०८५) अनुसार वि.सं. २०७९ सम्ममा निकृष्ट तथा शोषणयुक्त बालश्रम तथा वि.सं. २०८२ सम्म सबै प्रकारका बालश्रमको अन्त्य गर्ने अभियान चलाइएको छ ।
म्याग्दे गाउँपालिकाले बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ अनुसार कुनैपनि प्रकारको बालश्रम प्रयोग नगर्ने, बालश्रम प्रयोग भएका उत्पादन, वस्तु र सेवा उपभोग नगर्ने, नगराउने र कतै बालश्रमजन्य गतिविधि गराएको देखेमा तत्काल बालश्रमिकको उद्धार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
गाउँपालिकालाई बालश्रममुक्त घोषणा गर्दै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बालश्रम ठूलो चुनौतिका रुपमा रहेको बताए । बालश्रम न्यूनीकरणका लागि व्यावहारिक कार्यान्वयन नहुँदा अझै पनि देशमा अनाथ, असहाय, गरिबीले पिल्सिएका बालबालिका बालश्रममा लाग्न बाध्य भएको उनको भनाई थियो ।
गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले अनाथ, असहाय र गरिबीको रेखामा रहेका बालबालिकाको अभिभावकत्वक प्रदान गर्नु सबैको जिम्मेवारी भएको बताए । प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले सबैको साथ र सहयोगले पालिकालाई बालश्रममुक्त घोषणा गर्न सकिएको बताए ।










