बन्दिपुरले पदाधिकारीको सवारीलाई एम्बुलेन्स बनायो
भञ्ज्याङ समाचारदाता/बन्दिपुर

दोश्रो लहरको कोरोना भाइरस संक्रमण दर उच्च बन्दै गएपछि तनहुँको बन्दिपुर गाउँपालिकाले आवश्यक तयारीलाई तीब्र पारेको छ । आइसोलेशन, अक्सिजनका साथै विरामीलाई सहज रुपमा अस्पतालसम्म ल्याउन लानाका लागि एम्बुलेन्सको तयारीमा समेत गाउँपालिका जुटेको छ ।
गाउँपालिकामा प्रयाप्त एम्बुलेन्स नभएपछि अहिले पदाधिकारीले प्रयोग गर्दै आएको सवारी साधानलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने तयारी गाउँपालिकाले गरेको छ । कोरोना संक्रमितको स्वास्थ्यमा समस्या देखिएमा समयमै एम्बुलेन्स पाउन नसक्ने अवस्थालाई ख्याल गर्दै गाउँपालिकाले पदाधिकारी चढ्दै आएको सवारीलाई एम्बुलेन्स बनाएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताएका छन् ।
गाउँपालिकामा हाल एउटा मात्र एम्बुलेन्स रहेको र सर्वसाधारणको सहजताका लागि गाउँपालिकाको सवारीलाई एम्बुलेन्स बनाइएको अध्यक्ष थापाले बताए । ‘गाउँपालिकामा हाल एउटा मात्र एम्बुलेन्स रहेको र त्यो पनि पुरानो र जीर्ण अवस्था रहेको छ’, अध्यक्ष थापाले भने, ‘उक्त एम्बुलेन्स कुनै पनि बेला बिग्रन सक्ने अवस्था भएकाले पूर्व तयारी स्वरुप हामीहरुले नै चढ्दै आएको सवारी साधानलाई एम्बुलेन्स बनाउने निर्णय गरेका हौं ।’
गाउँपालिकाले एम्बुलेन्स खरिदका लागि दुइ पटक सूचना आव्हान गरेपनि त्यो अबधिमा गाउँपालिकाले एम्बुलेन्स खरिद गर्न नसकेको र एम्बुलेन्स खरिद प्रक्रियामा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले बताए । गाउँपालिकाले एम्बुलेन्स खदिरका लागि दुइ पटकसम्म सूचना निकालेपनि एम्बुलेन्स पाउन नसकेको बताइएको छ ।
यस्तै, कोरोना संक्रमितको उपचारका लागि गाउँपालिकाले बन्दिपुर अस्पतालमा १५ शैय्याको आइसोलेशन तयार गरेको छ । आइसोलेशनमा हाल १० थान अक्सिजन सिलिन्डर मौज्दात छ भने प्रहरीले डुम्रेबाट संकलन गरेको १० थान सिलिन्डर पनि गाउँपालिकालाई उपलब्ध गराइएको छ । कोरोना भाइरस संक्रमण दर उच्च बन्दै गएकाले सम्पूर्ण नागरिकलाई स्वास्थ्य सुरक्षामा सचेत बन्न गाउँपालिकाले अनुरोध गरेको छ ।










