बालबालिकालाई मोर्डना खोपको दोस्रो मात्रा सुरु : खोप प्रयोजनार्थ मात्र विद्यालय खोल्न प्रशासनको निर्देशन
भञ्ज्याङ समाचारदाता/दमौली
तनहुँका १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोपको दोस्रो मात्रा दिन सुरु गरिएको छ । गत पुस ८ देखि १३ गतेसम्म मोर्डना खोपको पहिलो मात्रा दिइएका बालबालिकालाई सोमबारबाट दोस्रो मात्र दिन सुरु गरिएको हो ।
व्यास नगरपालिकाले सोमबारदेखि २० गतेसम्म विद्यालयमै खोप अभियान सञ्चालन गर्न लागेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए । उनले भने, ‘यसक्रममा हालसम्म एक पटक पनि खोप नलगाएका बालबालिकालाई पनि खोप लगाइने र नगरका १४ वटै वडामा रहेका विद्यालयमा खोप अभियान सञ्चालन गरिनेछ ।’
यस्तै, शुक्लागण्डकी नगरपालिकाले यही माघ १७ र १८ गते स्वास्थ्य संस्थामार्फत बालबालिकालाई खोप दिन लागेको छ । १२ वटै वडामा रहेका विद्यालय, स्वास्थ्यचौकी र आधारभूत स्वास्थ्य केन्द्रमार्फत बालबालिकालाई खोप लगाइने स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी गराए । जिल्लाका दशवटै स्थानीय तहका ३२ हजार ४३७ बालबालिकालाई मोर्डना खोपको पहिलो मात्रा लगाइएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
भानुका ३ हजार २२०, व्यासका ९ हजार ५०२ जना, म्याग्देका १ हजार ४७१, शुक्लागण्डकीका ५ हजार ७८८, भिमादका २ हजार ८७९, घिरिङका १ हजार ३१८, ऋषिङका २ हजार ८७, देवघाटका १ हजार ५४४, बन्दिपुरका २ हजार ५३ र आँबुखैरेनीका २ हजार ५७५ ले पहिलो मात्राको खोप लगाएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
माघ मसान्तसम्म विद्यालय बन्द गर्न आदेश
जिल्ला कोभिड व्यवस्थापन समिति तनहुँले माघ मसान्तसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । समितिले विद्यालयहरुलाई खोप प्रयोजनाका लागि मात्र माघ २० गतेसम्म विद्यालय खोल्न दिर्नेशन जारी गरेको छ । सरकारको निर्णय बमोजिम समितिले माघ १५ गतेसम्म बन्द रहेका शैक्षिक संस्थालाई मसान्तसम्म निरन्तरता दिने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालद्वारा सोमबार जारी आदेशमा अर्को सूचना नभएसम्मका लागि विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक गतिविधि मसान्तसम्म भौतिक उपस्थितिमा सञ्चालन नगर्न भनिएको छ । जारी आदेशमा शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाइ सञ्चालन गर्न भनिएको छ ।
यस्तै, विद्यालय, विश्वविद्यालय, कलेजका पूर्व निर्धारित परीक्षा, वैदेशिक रोजगारीका लागि सञ्चालन गरिने विदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना तथा सरकारको आदेश बमोजिम गर्न गर्न गराउन भनिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको माघ १० को सूचना बमोजिम १२ देखि १७ वर्ष उमेर समूहका सम्पूर्ण विद्यार्थीलाई अभियानको रुपमा खोप दिने प्रयोजनका लागि माघ २० गतेसम्म विद्यालय खोल्न आदेशमा उल्लेख छ ।
यसैगरी सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लव, हेल्थ क्लव, जिमखाना, स्वीमिङ पुल, फुटसल, पटके हाटबजार र मानिसहरु भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम माघ मसान्तसम्म नगर्न आदेश जारी गरिएको छ ।










