तनहुँका १ हजार ७६२ जनाले कोरोना विरुद्धको कोभिडशिल्ड खोप लगाए, छुटेकालाई शनिबार लगाइने
भञ्ज्याङ न्यूज
कोभिड-१९ विरुद्धको कोभिडशिल्ड खोप तनहुँका १ हजार ७६२ जनाले लगाएका छन् । खोप अभियान अन्तरगत शुक्रबारसम्म जिल्लाका विभिन्न स्थानीय तहका १ हजार १७ महिला र ४४५ जना पुरुषले कोभिड विरुद्धको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार माघ २४ गते शनिबारसम्म जिल्लाका १ हजार ६७९ स्वास्थ्यकर्मीलाई खोप लगाउने लक्ष्य लिएको भएपनि शुक्रबारसम्म १ हजार ७६२ जनालाई उक्त खोप लगाएर १०२% प्रगति हाँसिल गरेको स्वास्थ्य प्रमुख शंकरबाबु अधिकारीले जानकारी गराएका छन् ।

तनहुँको व्यास नगरपालिकाका ६२२, म्याग्दे गाउँपालिकाका ६०, ऋषिङ गाउँपालिकाका ६६, शुक्लागण्डकी नगरपालिकाका १८२, भिमाद नगरपालिकाका १२७, घिरिङ गाउँपालिकाका ५९, भानु नगरपालिकाका १३१, आँवुखैरेनी गाउँपालिकाका ५८, बन्दिपुर गाउँपालिकाका १२३ र देवघाट गाउँपालिकाका ३३४ जनालाई खोप लगाइएको छ ।
स्वास्थ्य प्रमुख अधिकारीका अनुसार सबै स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाइकर्मी, कारागारका कैदीबन्दी, सुरक्षार्की लगायतलाई यो खोप लगाइएको छ । प्रदेश सरकारले तनहुँलाई १८९ भायल खोप उपलब्ध गराएको थियो । पहिलो चरण अन्तरगत माघ २४ गते शनिबार छुटेकाहरुलाई मात्र खोप लगाइने कार्यालयले जनाएको छ ।










