युवाहरु फूल खेतीमा आकर्षित : बारीमा सयपत्री ढकमक्क

राजकुमार आले/दुलेगौंडा

तनहुँको भिमाद नगरपालिका-८, धारापानीको थुम्को एक दशकदेखि बाँझो थियो । मकै, कोदो र भटमास फल्ने बारीमा पाती र बुट्यान पलाएर डम्मै झाडी भएको थियो । त्यहि झाडीलाई फाँडपुड गरेर अहिले धारापानीका गोविन्द अधिकारीले सयपत्री फूल फुलाएका छन् । यतिबेला थुम्कोमा सयपत्री फूल ढकमक्क फुलेको छ । फूलबारी हेर्न जाने, फोटो खिच्ने र टिकटक बनाउनेहरुको भिड नै लाग्ने गरेको छ । गत बर्षदेखि फूलखेती शुरु गरेका अधिकारीले यसपाली करिब ५ रोपनी जमिनमा फूल खेती गरेका छन् ।

उनले घरमाथिको थुम्का, घर मुन्तिरको बारी र बेँशी फाँटमा फूल लगाएका छन् । अहिले सबै ठाउँमा फूल फुलेका छन् । अधिकारी बारीको फूल र ग्राहकको तारन्तारको फोनबाट उत्साहित छन्। उनले प्रतिगोटा थुङ्गा दुइ रुपैयाँमा बिक्री गर्ने गरेको बताए । आफुले माग धान्न नै नसकेको अधिकारीको भनाई छ । उनले भने, ‘फूल फुल्न थालेदेखि दैनिक १५/२० जना व्यापारीहरुको फोन आउँछ, माग अनुसार मैले ५० प्रतिशत पनि फूल उत्पादन गरेको छैन उनले भने अत्याधिक माग भएकाले चितवनबाट माग गरेर सप्लाई गर्ने योजना बनाएको छु ।’

दुइबर्ष अघि पोखरामा रहेकी दिदीले तिहारमा अधिकारी दाजुभाईका लागि सयपत्रीका माला लिएर आइन् । टीका माला लगाई सकेपछि फूलकोबारेमा पारिवारिक कुराकानी भयो । दिदीले प्रति माला दुइ सय रुपैयाँको दरले खरिद गरेर ल्याएको जानकारी गराएपछि त्यतिबेलै अधिकारीलाई फूलखेती गरेर राम्रै आम्दानी गर्न सकिन्छ होला भन्ने लाग्यो । त्यहि मालाको फूललाई बिउको रुपमा राखी पोहोर घरमुनीको बाँझो बारीमा फूल लगाए । लगानी नै नगरी उनले मालाको फूलबाट ७० हजार कमाए । यसपाली चितवनबाट १० हजार रुपैयाँ लगानी गरी मेरिगोल्ड जातको सयपत्री फूलको विरुवा मगाएर रोपेको कृषक अधिकारी बताउँछन् । थोरै लगानी र मेहनतबाट राम्रो आम्दानी गर्न सकिने भएकाले पनि फूल खेतीलाई निरन्तरता दिएको उनले सुनाए ।

उनले भने, ‘बुबा बित्नु भएपछि वि.सं २०६५ सालदेखि यहाँ आम्दानी शुन्य नै थियो । बुबाले गर्दा यो गह्रामा एक मुरी कोदो आउँथ्यो । हिसाबकिताब गर्दा गर्दा कोदोबाट २ हजार जति आउँथ्यो भने फूलबाट ७० हजार कमाइ भयो । फूल खेती गर्न सजिलो पनि छ, लगानी पनि धेरै गर्न पर्दैन । उनका अनुसार सबै खर्च जोडेर हालसम्म ४२ हजार खर्च भएको छ । यस फूलबाट करिब २ लाख कमाउने लक्ष्य छ ।’

यसअघि गोविन्द बैदेशिक रोजगारको शिलशिलामा एक पटक साउदी समेत पुगेका थिए । उनले भने, ‘त्यहाँ सन्तुष्टि नमिलेपछि नेपाल आएर साउदीमा आफुले कमाएको केही कमाई र घर परिवारको सहयोगमा पृथ्वीराजमार्गमा बस समेत हाले । त्यसमा पनि सोचे जस्तो नभएपछि गाउँ फर्किएर फेन्सी खोले । तरकारी खेती गरे । तर, कतै पनि सोचे जस्तो नभएपछि मालाको फूलबाट फूलखेती शुरु गरे अहिले पुर्ण सन्तुष्ट छु । गाउँमा उदाहरणीय बनेको छु । फूलबाटै धारापानीलाई चिनाएको छु, विभिन्न सञ्चार माध्यममा धारापानी देखिएको छ, बजेको र लेखिएको छ । अर्को कुरा आम्दानी पनि राम्रो भएको छ । उनले हाल किराना पसल पनि सञ्चालन गरेको बताए ।


त्यस्तै शुक्लागण्डकी नगरपालिका-१२, सुन्दरेमा तीन युवा मिलेर सामुहिक रुपमा फूल खेती गरेका छन् । स्थानीय युवाहरु मदन पौडेल, सचिन भण्डारी र मानव कल्याण पराजुलीले करिब ८ रोपनीमा फूल खेती गरेका हुन् । उनीहरुले तीन बर्षदेखि मखमली र सयपत्री फूलको खेती गर्दै आएका छन् । तीन महिनाको छोटो अवधिमा राम्रो आम्दानी गर्न सकिने भएकाले फूलखेतीतर्फ आकर्षित भएको युवा कृषक मदन पौडेलले बताए । आफुहरुले मात्र नभएर ठाउँ ठाउँका युवाहरुले पनि फूलखेती गरेको बताउदै उनले फूलमा आत्मनिर्भर बनाउन लाग्नु निकै राम्रो उपलब्धी भएको उनको भनाई छ । ‘अहिले हामी फूल टिप्न र माला उन्न निकै व्यस्त छौँ’, उनले भने ‘यसपटक फूलबाट करिब ३ लाख आम्दानी गर्ने लक्ष्य छ ।’

त्यस्तै, पत्रकार अशोक विश्वकर्माले पनि घरछेउको बारीमा फूलखेती गरेका छन् । रेडियो नेपालको तनहुँ संवाददाता र स्थानीय संचार माध्यममा आवद्ध विश्वकर्माले करिब एक रोपनी जग्गामा फूल खेती गरेका हुन् । पत्रकारीताको दौरानमा ठाउँ-ठाउँमा पुगेर कृषकहरुको फूलखेतीबारे रिपोटिङ गर्दा थोरै लगानी, छोटो समय र कम मेहनतमा राम्रो आम्दानी हुन्छ भनेर कृषकको अनुभव लेखेको र एक पटक गरेर हेरौ न त भनेर परीक्षणका लागि आफुले पत्रकारीतासंगै फूलखेती शुरु गरेको विश्वकर्माले बताए । उनले पहिलो अनुभव नै उत्साहजन रहेको बताउँदै फूलको माग निकै राम्रो भएको जानकारी दिए । ‘फूल निकै राम्रो भएको छ, फूल हेर्न १५ जना बढि व्यापारीहरु पुग्नु भयो, सबैले फूल माग गर्नुभएको छ उनले भने अहिलेसम्म नौ हजार जत्ति लगानी भएको छ, अरु सबै हाम्रो मेहनत मात्र हो, बजार भाउ बुझ्दा र माग हेर्दा यो फूलबाट डेढदेखि दुइ लाखसम्म आम्दानी हुन्छ होला ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker