ढोरबाराही सामुदायिक वनको भवन उद्घाटन
भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ८ र ९ मा फैलिएको ढोरबाराही सामुदायिक वनको २६औँ आमभेला तथा नवनिर्मित भवनको उद्घाटन गरिएको छ । वनको भेला, गोष्ठी तथा तालिमहरु हुँदा प्रयोग गर्ने गरी निर्माण गरिएको भवनमा १५ लाख खर्च भएको बताइएको छ ।
वनले आफ्नो कोषमा भएको रकमले भवन निर्माण गरेको हो । बाराही टोलमा निर्मित भवनको उद्घाटन गर्दै शुक्लागण्डकी नगरपालिकाकी उपप्रमुख सविता रसाइलीले जिवित बस्तुका लागि वनजंगल निकै महत्वपुर्ण भएकाले संरक्षणमा ध्यान दिनुपर्ने बताइन् । उनले जन्मेदेखि मृत्यु पर्यन्त संधैभरि वनजंगल र बोटविरुवाको भरमा बाच्नुपर्ने भएकाले वनजंगलको महत्व बुझदै यसबाट फाइदा लिएर आर्थिक उपार्जनमा लगाउनु पर्नेमा जोड दिइन् ।
वन उपभोक्ता समितिका अध्यक्ष हुमबहादुर बाँनियाको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष लोकनारायण श्रेष्ठ, सवडिभिजन वन कार्यालन बेलचौतराका प्रतिनिधि ओमप्रकाश पौडेल, बाराही प्राथमिक विद्यालयका अध्यक्ष केशवराज गौतम, कटुसे पाखा सामुदायिक वनका अध्यक्ष नारायणप्रसाद भट्टराइ, समितिका सचिव लक्ष्मी श्रेष्ठ र सदस्य लालबहादुर पराजुली लगायतले बोलेका थिए ।
कार्यक्रमा संस्थालाई वैधानिक रुपमा दर्ता गरी यहाँसम्म ल्याउन योगदान गरेको भन्दै संस्थापक अध्यक्ष अध्यक्ष इन्द्रबहादुर केसीलाई सम्मान गरिएको थियो । समितिले कोषमा जम्मा भएको रकममध्येबाट ७ घर विपन्न परिवारको आर्थिक अवस्था सुधारका लागि निर्व्याजी ३५ हजार रुपैयाँ बाख्रापालनका लागि लगानी गरेको समितिले जनाएको छ ।










